सूर्यविनायक ४ मा यातायातको सास्ती : सहमति धेरै, कार्यान्वयन थोरै

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ जेष्ठ २७, सोमबार


भक्तपुर । झण्डै २० बर्षपछि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले सपथ खाएको भोलिपल्ट २०७४ जेठ ११ गते सूर्यविनायक नगरपालिका वडा नम्बर ४ का निर्वाचित जनप्रतिनिधिहरुको उपस्थितिमा वडामा सार्वजनिक यातायात सुचारु गर्ने गरी ठिमी मिनिवस सेवा समितिसँग छलफल भएको थियो । उक्त छललफलमा वडा नम्बर ४ मा पर्ने ठिमी–तर्खगाल रुटमा नियमित रुपमा १५/१५ मिनेटमा सार्वजनिक यातायात सञ्चालन गर्ने सहमति भएको थियो । 

जनप्रतिनिधि र समितिबीच भएको औपचारिक सहमति केही समयका लागि कार्यान्वयन भएता पनि लगत्तै सहमति बमोजिम सार्वजनिक यातायात सुचारु हुन सकेन । उक्त रुटमा चल्ने सवारी साधन नियमित हुन नसक्नुमा उक्त रुटको सडकको स्तरोन्नति नभएको गुनासो समितिले गर्दै आएको छ भने सम्बन्धित वडाले कार्यालयका प्रतिनिधिहरुले भने सडकको स्तरोन्नति गर्दा पनि नियमित सवारी साधन सञ्चालन गर्न समितिले आनाकानी गरेको बताउँछन् । 

यस रुटमा सार्वजनिक यातायात नियमित नहुँदा स्थानीय यात्रुहरु सोझै मर्कामा परिरहेका छन् । खासगरी विद्यार्थी, कर्मचारी तथा व्यवसाय सञ्चालन गर्नेहरु यसको बढी मारमा परिरहेका छन् । स्थानीय राजकुमार न्यौपाने भन्छन्,‘समयमा नियमित सवारी साधन नचल्दा हाम्रा छोराछोरी राजधानीमा पढ्न पठाउन हामीलाई गाह्रो भयो । न त समयमा गाडी आउँछ । न त नियमित आउने टुङ्गो नै छ । काठमाण्डौबाट नजिक भएर के गर्नु, हामी त कर्णालीका दुर्गम गाउँका बासिन्दा जस्तो पो भयौं ।’

ठिमी–तर्खगाल रुट ५ किलोमिटर दूरीमा छ । औपचारिक रुपमा यो रुटमा सार्वजनिक यातायात चल्न थालेको २१ बर्ष भएको छ । तर अझैपनि व्यवस्थित रुपमा सार्वजनिक यातायात सञ्चालन हुन नसक्दा यहाँका बासिन्दा आफूलाई अभागी ठान्छन् । स्थानीय व्यवसायी भगवती खड्का भन्छिन्, ‘जसले चुनाव जितेपनि उस्तै त भयो नि, हामीलाई शहर जानलाई ३ घण्टा लाग्छ । त्यो पनि गाडी चढेर काठमाण्डौ जानु भनेको ठूलै कुरा जस्तो भएको छ । के गर्नु ? जुन जोगी आएपनि कानै चिरेको ।’ 

अहिले विहान र साँझ यो रुटमा यात्रा गर्नेहरुको भीड लाग्छ । जम्माजम्मी ७ वटा सवारी साधन सञ्चालन गरेको समितिले दाबी गरेको छ । त्यो पनि विहान र बेलुका यात्रुको चाप  हुने बेलामा बढी सक्रिय हुन्छन् भने दिनभरि बेपत्ता जस्तै हुन्छन् स्थानीय उपभोक्ता गुनासो गर्छन् । समितिका कोषाध्यक्ष तुलसीमान श्रेष्ठ भने यो कुरालाई स्वीकार्दैनन् । उनी भन्छन्,‘विहान देखि हरेक ३० मिनेटको अन्तरमा यहाँबाट गाडीको चलाएका छौं । कहिलेकाहिँ भने सडक मर्मत समयमा नहुँदा सवारी साधन नियमित हुन नसकेको भने पक्कै पनि हो ।’ 

पटक–पटक समिति र वडाबीच सवारी साधन नियमित गर्ने बिषयमा सहमति भएको छ तर, सडकको पूर्ण रुपमा मर्मत नहुँदा हामीलाई पनि सवारी साधन उक्त रुटमा चलाउन कठिन भएको छ श्रेष्ठले भने,‘यदि सबै सडक पूर्ण रुपमा राम्रो हुने हो भने हामी तर्खगालदेखि रत्नपार्कसम्म सोझै माइक्रोबस पनि नियमित रुपमा सञ्चालन गर्न सक्दछौ ।’

वडा नम्बर ४ मा निर्वाचित भएको भोलिपल्टै ठिमी तर्खगाल बस सेवालाई नियमित र सूचारु गर्ने भनेर निर्णय पनि भयो । सोही मुताविक समितिले पनि जेठ १५ गतेभित्र विहान १० बजेसम्म र दिउँसो ४ बजेपछि १५/१५ मिनेटमा र अरु समयमा ३० मिनेटमा बस सञ्चालन गर्ने समितिले निर्णय ग¥यो । । तर यो सहमति हप्तादिन नपुग्दै कार्यान्वयन भएन र नियमित बस चल्न सकेन । 

त्यसो त  निर्वाचित जनप्रतिनिधिहरुले आफूले पदबहाल गरेको १०० दिनमा असोज १ गतेदेखि फेरि माइक्रोबस सहित नियमित बस सञ्चालन हुने भनेर समितिसँग अर्काे सहमति गरे । जसलाई सामाजिक सञ्जालबाट पनि राम्रै प्रचार गरियो । स्थानीय बासिन्दामा अब त नियमित रुपमा बस सञ्चालन हुन्छ भन्नेमा केही आशा पलाएको थियो । तर केही समय नबित्दै फेरि उक्त सहमति पनि तोडियो । समितिले सडक मर्मत नहुँदा माइक्रोबस सञ्चालन गर्न नसक्ने जनाउँदै बस सञ्चालन गर्न छाड्यो । 

नयाँ निर्वाचित जनप्रतिनिधिहरुले वडामा सार्वजनिक यातायात सञ्चालन गर्नको निम्ति थिमी मिनिबस सेवा समितिसँग मात्र निर्भर रहेकोमा स्थानीय बासिन्दाले आलोचना गरिरहेका बेला यो क्षेत्रमा २०औं बर्षदेखिको यातायातमा देखिएको सिण्डिकेट तोड्ने भन्दै सूर्यविनायक नगरपालिका वडा नम्बर ३ बालकोट महेन्द्र शान्ति चोकदेखि वडा नम्बर ४ गाम्चाचोकसम्म वाग्मति यातायातको बस सञ्चालन गर्ने अर्काे सहमति गरियो । यसको अगुवाई प्रदेश सभा सदस्य शशिजंग थापा आफैले गरे । यसको पनि राम्रै प्रचार गरियो । 

उक्त यातायातको बस सेवा २०७५ बैशाख २ गतेदेखि सञ्चालन गर्नको निम्ति मधुसुदन खड्काको संयोजकत्वमा कृष्णहरि खड्का, राजन प्रजापति, पविता श्रेष्ठ, कृष्णलाल श्रेष्ठ तथा राजकुमार सिलवाल सदस्य रहेको एउटा समिति समेत गठन भएको थियो । 

त्यसको साथै वाग्मति यातायातको बस सेवा सञ्चालन गर्नको निम्ति महेन्द्र शान्तिदेखि गाम्चाचोकसम्मको बाटो मर्मत गर्नको निम्ति सूर्यविनायक नगरपालिका वडा नम्बर २, ३ र ४ ले पाँच/पाँच लाख र नगरपालिकाले पाँच लाख गरी कूल २० लाखको लागतमा सडक मर्मत गर्ने कार्य पनि गरिएको थियो । 

तर केही समय वाग्मति यातायातको बस सेवा सञ्चालन भएतापनि यसले निरन्तरता पाउन सकेन । तत्पश्चात पुनः ठिमी मिनिबस सेवा समितिलेले आंशिक रुपमा केही बस सञ्चालन गर्न थाल्यो । तर कहिले सडक मर्मतको बहाना गरेर त कहिले सवारी साधनको अभाव देखाएर समितिले यो रुटमा बस सञ्चालन गर्न आनाकानी गरिरहेको छ । जसको प्रत्यक्ष मारमा स्थानीय सर्वसाधारण घण्टौ कुरेर यात्रा गर्नुपर्ने बाध्यतमा रहेका छन् । यसको सुनुवाई न त समितिले गर्छ, न त जनप्रतिनिधिहरुले नै यसलाई सही ढंगले स्थायी रुपमा समाधान नै गर्न सकेका छन् । त्यसैले अहिले उनीहरु भन्न थालेका छन्, ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात ।’