‘संघ, प्रदेश र स्थानीय तहको सहकार्यले नै सूूर्यविनायकले विकासमा गति लिएको हो’ बासुदेव थापा, नगरप्रमुख सूर्यविनायक नगरपालिका

विमल थापा
विमल थापा

२०७६ असार १२, विहिबार


संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा संविधानले व्यवस्था गरेको तीनवटा तहमध्ये स्थानीय तहलाई अधिकारसम्पन्न बनाइएको छ । संविधानले व्यवस्था गरेअनुसार पहिलोपटक गठन भएको स्थानीय तहमा जनप्रतिनिधिहरुले पद बहाल गरेको २ बर्ष पूरा भएको छ । यो अवधिमा स्थानीय तहले कसरी आफ्ना कार्यक्रमहरुलाई अगाडि बढाइरहेको छ ? स्थानीय तहको चुनौती के कस्ता छन् ? के जनताले साँच्चै सिंहदरवारको अधिकार प्राप्त गरेका छन् ? भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापासँग अनन्त सन्देशका विमल थापाले गरेको कुराकानीको सारांश :

स्थानीय तहमा निर्वाचित भएको दुई बर्ष पूरा भएको छ । यस अवधिलाई कसरी समीक्षा गर्न सकिन्छ ?
सुरुमा त हामीले पद बहाल गरेको दुई बर्षको अवधिमा गरेको उपलब्धीहरुका बारेमा आम नागरिकहरुलाई जानकारी दिने अवसर तपाईले दिनुभएकोमा धेरै धन्यवाद । 

धेरै लामो समयपछि २०७४ साल बैशाख ३१ मा स्थानीय तहको निर्वाचन सम्पन्न भयो । तत्पश्चात हामी निर्वाचित भएपश्चात् पहिलो बर्ष ऐन, कानुन र नियमहरु निर्माण गर्नमा केन्द्रित भयौं । लामोसमय पछि स्थानीय सरकार आएपछि नागरिकहरुमा धेरै खालका अपेक्षाहरु आउन थाल्यो । खासगरी आफ्नो टोल, छिमेकमा विकास निर्माणका कामहरु हुनेछन् । विकासले तीब्रता पाउनेछ भन्ने उहाँहरुको अपेक्षा हुनु स्वभाविक पनि थियो । सोही कारण हामीले पहिलो बर्ष विभिन्न टुक्रे योजनाहरुलाई प्राथमिकताका साथ अगाडि बढायौं । अहिले हाम्रो दोश्रो बर्षको कार्यकाल पनि पूरा गरेका छौं । दोश्रो बर्ष हामीले व्यापक रुपमा ठूला योजनाहरु एउटा क्यालेण्डर नै बनाएर अगाडि बढाएका छौ । यस अन्तर्गत १ करोडका ठूला योजना र दोश्रो ३० लाखका योजनाहरु र ५ लाख माथिका बजेट प्रत्येक वडाले बनाउनुपर्ने र सो भन्दा माथिका सबै योजनाहरु टेन्डर प्रक्रियाबाट कार्यान्वयन गर्नुपर्ने व्यवस्था हामीले नगरसभाबाट पारित ग¥यौं । यसको निम्ति देशभरिबाट अनलाइन मार्फत फारम भर्न मिल्ने व्यवस्था पनि गरेका छौं । यसो गर्दा निर्माण व्यवसायी साथीहरुले घटीघटाउमा टेन्डर गर्दा ५० प्रतिशत भन्दा कममा पनि हालेको पाइयो । यसबाट सोही रकममा दोब्बर काम पनि भएका छन् कतिपय योजनाहरुमा । तर यसो गर्दा योजनाको गुणस्तरीयतामा केही कमी हो कि भन्ने चिन्ता चाहिँ हुँदो रहेछ । यसको निम्ति हामीले प्रत्येक वडामा एकजना नियमित अनुगमनकर्ता खटाएका छौं । त्यतिमात्र होइन, नगरपालिकाको तर्फबाट इन्जिनियर, ओभरसियर तथा जनप्रतिनिधिहरुले पनि अत्यन्तै चलाख भएर यसको नियमित अनुगमन गर्ने काम भएको छ । 

त्यसो त भक्तपुर जिल्लाको नयाँ नगरपालिकाका साथै सूर्यविनायक नगरपालिका भौगोलिक रुपमा पनि पहाडी क्षेत्रको बाहुल्यता रहेको नगरपालिका हो । यसको पूर्वी भेग पहाडी भू–भाग बेसी भएको क्षेत्र हो भने पश्चिमी भेग भने पहिलादेखि नै विकासका पूर्वाधारका दृष्टिकोणले अगाडि नै थियो । त्यसैले पूर्वी भेगमा बाटो निर्माण गर्न पनि ठूलो लगानी लाग्ने भएकाले संघ र प्रदेशको बजेटमा पनि धेरै काम भएका छन् । नगरपालिकाको श्रोत भन्दा बाहिरको श्रोतबाट करिब १ अरब बराबरको काम यसै आर्थिक बर्षमा सम्पन्न गर्न हामी सफल भएका छौं । संघीय सांसद महेश बस्नेत पूर्व मन्त्रीपनि हुनुभएकोले पनि उहाँको इच्छाशक्ति र पहुँचले पनि यो काम गर्न सम्भव भएको हो । 

तपाईले भन्नुभयो कि, सूर्यविनायक नगरपालिका जिल्लाको अन्य नगरपालिका भन्दा भूगोलको हिसाबले पनि विकट भएतापनि विकासको दृष्टिकोणले छिटो अगाडि बढिरहेको छ, यो कसरी सम्भव भएको हो त ? 
यो नगरपालिकामा बसोबास गर्ने जनशक्तिहरु भनेको प्रधानमन्त्रीदेखि मन्त्री, प्रशासक, कुटनीतिज्ञ लगायत विभिन्न क्षेत्रका विज्ञहरु समेत रहेका छन् । राजधानीदेखि नजिक तर सेवा सुविधाहरु पर्याप्त भएका कारण पनि यो नगरपालिकामा नयाँ बस्ती धेरै नै छन् । देशका अधिकांश जिल्लाका मानिसहरु यो नगरपालिकामा बसोबास गर्नुहुन्छ । यसको दुईवटा फाइदा मलाई भएको छ । विकास निर्माण गर्दा यो समूहले उल्लेखनीय सहयोग गरिरहेको छ भने अर्काेतर्फ कुनै कमीकमजोरी भयो भने मेरा लागि तुरुन्तै सुझावका रुपमा खबरदारी पनि हुने गर्दछ । यसले मलाई सचेत पनि गराएको छ र म आफैपनि यस बिषयमा गम्भीर नै छु । मेरो विहान ६ बजेदेखिको राती अबेरसम्मको खटाइका कारण पनि यो सकारात्मक परिवर्तन भएको हुनुपर्दछ । त्यसको साथै मैले पारिवारिक रुपमा पनि अब पूर्णकालिन रुपमा जनताप्रति समर्पित हुन्छु भनेर समर्पण गरेर आइसकेको कारण मैले सदैव जनताको निम्ति समय निकाल्नुपर्दछ भनेर लागिरहेको छु । मेरा लागि अवसर र चुनौती दुवै विद्यमान छ । संघीयता लागू भएपछिको पहिलो नगरप्रमुख भएका नाताले मैले नगरवासीका निम्ति गर्नुपर्ने धेरै छन्, यस बारेमा मैले मेरा घरपरिवारलाई समेत स्पष्ट रुपमा जानकारी गराएको छु । म एउटा कुरा स्पष्ट के भन्न चाहन्छु भने म कहिलेपनि ऐन कानुनलाई उल्लंघन गरेर काम गर्नेछैन । सायद यसैले पनि होला, नगरपालिकाभित्र उल्लेखनीय काम भएका छन् । यसको निम्ति तपाईहरुजस्तो सञ्चारकर्मीहरुले पनि हामीलाई रचनात्मक सुझाव दिँदै आउनुभएको छ । यहाँ स्मरण गर्न चाहन्छु, यस नगरपालिकाको वडा नम्बर ४ मा सार्वजनिक यातायात सुचारु नभएको बिषयमा अनन्त सन्देशमा समाचार प्रकाशित भयो । त्यो समाचार प्रकाशित भएपछि तत्कालै यसको समाधानको निम्ति विकल्प खोज्ने काम भएको छ । 

तपाईको दुई बर्षे कार्यकालमा पहिलो बर्ष नीति निर्माण गर्ने काममा व्यस्त हुनुहुभयो, दोश्रो बर्ष पूर्वाधार निर्माणमा बढी केन्द्रित हुनुभएको देखिन्छ । यसमा भएका प्रगतिहरु कस्ता छन् ? 
दोश्रो बर्षमा हामीले व्यापक रुपमा पूर्वाधारमा खर्च गरेका छौं । ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउनको निम्ति पूर्वाधारको विशेष भूमिका हुने गर्दछ । यसको निम्ति हरेक ठाउँमा बाटोघाटो, पूल पुलेसा, खानेपानी पुग्नु जरुरी हुन्छ । त्यसको साथै शिक्षा र स्वास्थ्य जस्ता बिषयलाई पनि हामीले प्राथमिकता दियौं । दोश्रो बर्षमा हामीले नगरपालिका भित्र ६ वटा पूल निर्माण सम्पन्न भएका छन् भने ४ वटाको उद्घाटन नै भइसकेको छ । अब २ वटा पूल तत्कालै निर्माण सम्पन्न हुने चरणमा छ । यो बर्ष पनि करिब ५/७ वटा पूल निर्माण गर्ने योजनामा छौं । यसको साथै ११ मिटर तथा १४ मिटरको बाटो निर्माणलाई हामीले प्राथमिकता दिएका छौं । नगरपालिकाले प्रत्येक वडामा कम्तिमा पनि दुईवटा ठूला योजना राखेको छ  भने कतिपय वडामा ४ वटा सम्म पनि योजना विनियोजन गरिएको छ । तपाईलाई जानकारी गराऔं कटुन्जे र १० नम्बरमा अर्काे योजना पनि परेको छ । खासगरी नगरपालिकाको कार्यालय भएको वडामा बाटो निर्माणका लागि यो बर्ष विशेष योजना सम्पन्न ग¥यो । यसको निम्ति संघीय सांसदको १/१ करोडको साझेदारीमा यो योजना सम्पन्न गरियो । त्यसैगरी वडा नम्बर १० मा भौगोलिक विकटतका कारणले विशेष योजना तय गरेका थियौं । त्यसो त भौतिक पूर्वाधारमा जसरी बजेट विनियोजन गरिएको छ, त्यसैगरी शिक्षा र स्वास्थ्यलाई पनि प्राथमिकता साथ अगाडि बढाइरहेका छौं । यसैक्रममा वडा नम्बर ४ मा  अस्पतालको रुपमा सञ्चालन गर्नको निम्ति तयारी गर्दैछौं । यसको निम्ति कर्मचारीको व्यवस्थापन गर्नको निम्ति दरखास्त आव्हान गरिएको छ । 

यस्तै शिक्षाको गुणस्तरितालाई बृद्धि गर्नको निम्ति सामुदायिक र सरकारी विद्यालयमा पनि अंग्रेजी माध्यमबाट पठन पाठनको सुरुवात गरेका छौं । यो आर्थिक बर्षको ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ भने बाँकी काम हामी अबको केही समयपछि सम्पन्न गर्नेछौ ।


 

बैठकमा चिया र बिस्कुट खाएर जनताको सेवामा खटिएका व्यक्तिका बारेमा कहिलेकाहिँ आफूलाई आर्थिक चलखेलमा संलग्न भयो भन्दा खिन्न त लागिहाल्छ । कोही व्यक्तिहरुले म र मेरो टिमको आत्मबल कमजोर बनाउनको निम्ति पनि यस्ता खालका गतिविधिहरु पनि हुने गरेका छन् ।

यो आर्थिक बर्षमा देशकै सबैभन्दा बढी बजेट विनियोजन भएको देखिन्छ । सूर्यविनायक नगरपालिकाको प्रत्येक वडामा कम्तिमा पनि २० करोडको योजना सम्पन्न भएको देखिन्छ । यसमा संघ, प्रदेश र स्थानीय तहको समन्वय कसरी गरिरहनुभएको छ ? 
सूर्यविनायक नगरपालिका संघ, प्रदेश र स्थानीय तहबीचको राम्रो समन्वय भएर नै यो सम्भव भएको हो । स्थानीय तहबाट विनियोजन गर्ने बजेटका बारेमा प्रदेश र संघका माननीयज्यूहरुलाई मैले जानकारी गराउने गरेको छु, भने उहाँहरुले पनि प्रदेश र संघ अन्तर्गतका योजनाहरु कसरी र कुन–कुन ठाउँमा विनियोजन गर्ने भनेर हामीसँग छलफल गर्नुहुन्छ । यसरी हामी एकढिक्का भएर विकास निर्माणमा लागेका कारण नै यो बजेट ल्याउन सफल भएका हौं । यसमा हामी पनि उत्तिकै सक्रिय र चनाखो भएर नै सम्भव भएको हो । अहिले नगरपालिका अन्तर्गत ५४ जनाको जनप्रतिनिधिहरुको टोली छ,उहाँहरुलाई मैले बेला–बेलामा झकझकाउने गरेको छु । यसको निम्ति एउटा रणनीति पनि हामीले अप्नाएका छौं । जहाँ विकासका कार्यहरु तीब्र गतिमा सम्पन्न हुन्छ, त्यहाँ प्रोत्साहन स्वरुप अर्काे योजना प्रदान गर्ने र जहाँ यो गतिमा सुस्तता आउँछ त्यहाँ अर्काे बर्ष सीमित योजना कायम गर्ने नीति लिएका कारण पनि जनप्रतिनिधिहरुमा आफ्नो वडाहरुमा विकास गर्ने प्रतिस्पर्धा नै बढेको छ । यसको निम्ति नगरवासी सम्पूर्णको सहयोग र सद्भाव पनि उत्तिकै रहेको छ । हाम्रो एक्लो प्रयासले मात्र यो सम्भव कदापि हुन सक्दैन । 

हामी सिंहदरबारबाट नजिक हुँदा पनि विगतमा उचित विकास हुन नसक्दा यहाँका जनतामा एकखालको नैराश्यता विद्यमान थियो । तर अहिले चारैतिरबाट विकासका निम्ति बजेट ल्याउन हामी सफल भएका छौं । र, तीब्र गतिमा यहाँको विकास निर्माणका कार्यहरु भइरहेको हुँदा स्थानीय नगरवासीहरुमा पनि उत्साह जागेको छ । 

अहिले सरकारले सार्वजनिक र सरकारी जग्गाको उचित संरक्षण गर्नको निम्ति उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेर कार्यआरम्भ गरेको छ । सूर्यविनायक नगरपालिकाभित्र अतिक्रमित भएका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षणको निम्ति तपाईहरुले के गर्दैहुनुहुन्छ ? 
कुनैपनि सार्वजनिक जग्गाको संरक्षण गर्ने दायित्व सबै नेपालीको हो । सूर्यविनायक नगरपालिकाभित्रको सार्वजनिक सम्पत्ति नगरवासीको साझा सम्पत्ति हो । यो सबै नगरवासीले यसलाई संरक्षण गर्नुपर्छ । यस नगरपालिकाभित्र सार्वजनिक जग्गा धेरै नै छ । यसलाई संरक्षण गर्नको निम्ति म स्थानीय तहको प्रमुख भएको नाताले सबै वडामा सार्वजनिक जग्गा कति अतिक्रमित भएको छ भनेर हामीले त्यसको डाटा उतार्न लागेका छौ । यो बर्ष हामी तीब्र रुपमा सार्वजनिक जग्गाको संरक्षण गर्ने कार्यलाई अगाडि बढाउनेछ । यो क्रममा कसैले सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तिगत प्रयोजन गरेको पाइएमा नगरपालिकाले त्यसको संरक्षण गर्नेछ । नगरवासीको सम्पत्ति कुनै एउटा व्यक्तिले खान पाउनेछैन । यसलाई कडाइका साथ लागू गर्छाै । यस बारेमा हामीले सम्पूर्ण नगरवासीलाई पनि सचेत र जागरुक बनाउनु जरुरी छ । 

केही व्यक्तिहरु हनुमन्ते करिडोरमा राजनीति गर्न खोज्दैछन् । राम्रो गरेको देखेर खुशी नहुने व्यक्तिहरु पनि हाम्रो समाजमा रहेका कारण केही व्यक्तिहरुबाट भने करिडोरका बिषयमा भ्रम फैलाउने काम पनि नभएका होइनन् । तर हामी स्पष्टका साथ आफ्नो कार्यलाई अगाडि बढाइरहेका छौं । भ्रमको खेती धेरै दिन टिक्दैन भन्ने मलाई लाग्छ । 

संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा संघ,प्रदेश र स्थानीय तहबीच सहयोग, सहकार्य र समन्वय हुनु जरुरी मानिन्छ, तपाईको नगरपालिकामा अधिकारको बिषयलाई लिएर तीनवटा सरकारका बीचमा कुनै समस्या आएको छ ? 
संविधानले व्यवस्था गरेअनुसार हामीले प्रदेशको मातहतमा रहनुपर्नेछ । संघमा हामीले सहयोग प्राप्त गर्ने र त्यसलाई कार्यान्वयन गर्ने नै हो । तर केही मनोवैज्ञानिक रुपमा प्रभाव भने पर्ने रहेछ । खासगरी सिंहदरवारको अधिकार गाउँ–गाउँमा दिने भनेपछि स्थानीय तहलाई अधिकार दिइयो । यसले संघ र प्रदेशमा स्थानीय तहलाई अधिकार बढी भयो कि भन्ने चाहिँ सुनिन्छ । तरपनि हामीले ऐन कानुनलाई मानेर अगाडि बढिरहेका कारण खासै समस्या भएको छैन । 

अहिले हाम्रो नगरपालिकामा यी सबै कुराको संयोजन मिलेका कारण प्रतिफल पनि सकारात्मक देखिएको हो । यसमा हाम्रा संघीय सांसद माननीय महेश बस्नेतको विशेष निगरानी छ । विहानदेखि नै बेलुकासम्मको उहाँको खटाइ देखेर हामीलाई थप हौसला प्राप्त भएको छ । बेला बेलामा उहाँले हामीलाई खबरदारी पनि गर्नुहुन्छ ।

भक्तपुर जिल्लाका ४ वटा नगरपालिकाहरुलाई हेर्ने हो भने विकासको दृष्टिमा सूर्यविनायक नगरपालिकाले अत्यन्त द्रुततर गतिमा अगाडि बढाइरहेको जस्तो देखिन्छ । यो के कारणले भएको जस्तो लाग्छ ? 
यसो हुनुमा जनप्रतिनिधिहरुको एकता प्रमुख कारण हो । दोश्रो यहाँका सञ्चारकर्मी मित्रहरुले पु¥याउनुभएको योगदान । तेश्रो नगरवासीको सहयोग र चौथो राजनीतिक पार्टीहरुको सहयोग । यी सबै कारणहरुको समन्वयका कारण सूर्यविनायक नगरपालिकामा उच्च गतिमा विकास निर्माणका कार्यहरु अगाडि बढिरहेका छन् । जस्तो तरकारी मीठो हुनका लागि नून, बेसार, तेल लगायतका मसलाहरुको संयोजन हुनु जरुरी छ नि । अहिले हाम्रो नगरपालिकामा यी सबै कुराको संयोजन मिलेका कारण प्रतिफल पनि सकारात्मक देखिएको हो । यसमा हाम्रा संघीय सांसद माननीय महेश बस्नेतको विशेष निगरानी छ । विहानदेखि नै बेलुकासम्मको उहाँको खटाइ देखेर हामीलाई थप हौसला प्राप्त भएको छ । बेला बेलामा उहाँले हामीलाई खबरदारी पनि गर्नुहुन्छ । त्यसैगरी प्रदेशबाट पनि माननीय शशिजंग थापाले यहाँको विकास निर्माणमा विशेष योजनाहरु ल्याउनु भएको छ । त्यसको साथै उमेरले ५७ बर्षको भएपनि म युवाको जत्तिनै काम गर्न सक्छु भनेर दिनहुँ खटिएको छु । यसमा मेरो टिम सबैले साथ र सहयोग दिनुभएको कारणले पनि हामीले धेरै राम्रो ढंगले कामलाई अगाडि बढाउन सकेका छौं ।

तपाईको अहिले अत्यन्त व्यस्त ढंगले खटिनुभएको छ । समयलाईचाहिँ कसरी व्यवस्थापन गर्नुभएको छ ? हरेक दिन यसरी जनताको बीचमा खटिनको लागि तपाईलाई के कुराले प्रेरणा दिइरहेको छ ? 
पहिलो प्रेरणा त मलाई नगरवासीले दिनुभएको छ । मैले गरेका कामहरुलाई उहाँहरुले जस्ताको त्यस्तै भनिरहनुभएको छ । त्यसको साथै मेरो पार्टी, राजनीति दलहरु लगायत सञ्चारकर्मी साथीहरुको सद्भाव र सहयोगले पनि मलाई उर्जा प्रदान गरिरहेको छ । बैठकमा चिया र बिस्कुट खाएर जनताको सेवामा खटिएका व्यक्तिका बारेमा कहिलेकाहिँ आफूलाई आर्थिक चलखेलमा संलग्न भयो भन्दा खिन्न त लागिहाल्छ । कोही व्यक्तिहरुले म र मेरो टिमको आत्मबल कमजोर बनाउनको निम्ति पनि यस्ता खालका गतिविधिहरु पनि हुने गरेका छन् । तर मैले यहाँ सबै राजनीतिक दलहरुसँग पनि समन्वय गरेर अगाडि बढिरहेका कारण काम गर्न पनि सहज भएको छ । मैले कुनै पार्टी, वर्ग, समुदायलाई केन्द्रमा राखेर काम गरेको छैन । सूर्यविनायक नगरपालिकाभित्र सबैको समन्वय मिलेको कारणले पनि मलाई उत्साह र प्रेरणा थपिएको छ । यस्तै सहयोग र सद्भाव प्राप्त गर्ने हो भने मैले आगामी ३ बर्षमा मैले जनताको सामु गरेको प्रतिबद्धता भन्दा पनि बढी काम गरेर देखाउनेछु । 

अब नयाँ आर्थिक बर्षको निम्ति योजना तय गर्दैहुनुहुन्छ ? अबको बर्षमा सूर्यविनायक नगरपालिकामा कस्ता योजनाले प्राथमिकता पाउनेछन् ? 
हामीले दोश्रो आर्थिक बर्षमा गरेका भौतिक संरचनाको निर्माणलाई निरन्तरता दिनेनै छौ । त्यसको साथै अबको बर्षमा शिक्षा, स्वास्थ्य, खानेपानी, मठमन्दिर, पर्यटन जस्ता बिषयलाई अबको बर्षमा बढी केन्द्रित गर्नेछौ । यो नगरपालिकामा १४ वटा शिवालय रहेका छन् । यसलाई शिव सर्किटका रुपमा विकास गर्ने र धार्मिक पर्यटनको सम्भाव्यतालाई प्रबद्र्धन गर्ने योजना रहेको छ । त्यस्तै उपत्यकाका ४ वटा गणेशमन्दिर मध्येको एक सूर्यविनायक गणेश मन्दिर यसै क्षेत्रमा पर्दछ । धार्मिक क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै आयमूलक र रोजगारमूलक ढंगले प्रबद्र्धन गर्ने योजना रहेको छ । यसैगरी यस क्षेत्रको वातावरणीय संरक्षण गर्नको निम्ति पनि हामी विशेष योजना तय गर्दैछौ । सूर्यविनायक नगरपालिकालाई स्वच्छ, स्वस्थ र हराभरा नगरपालिकाका रुपमा विकास गर्न विशेष योजना ल्याउनेछौं । त्यसको साथै भौतिक निर्माण मात्र भएर पुग्नै मानवीय क्षमता विकास गर्नेको निम्ति विभिन्न खालका सीपमूलक र रोजगारमूलक गतिविधिहरुलाई पनि आउँदो बर्ष प्राथमिकतामा राखेका छौं ।

अन्त्यमा, नगरवासीलाई तपाई के भन्नुहुन्छ ? 
मेरो नगरवासीहरुलाई के आग्रह छ भने मैले जस्तो काम गरेको छु । त्यसको सही रुपमा मूल्याङ्कन गरिदिनुस् । मैले राम्रो गरेको छु भने राम्रो र नराम्रो छ भने नराम्रो नै भनिदिनुस् । म निष्पक्ष भावनाले ऐन, कानुमा टेकेर तपाईको सेवामा समर्पित हुनेछु । मलाई तपाईहरुका साथ, सहयोग र सद्भाव सदैव प्राप्त होस् । तपाईहरुको सल्लाह, सुझाव अनुसार नै नगरपालिकाभित्रको विकास निर्मााणका निम्ति बजेट विनियोजन गर्नेछु । हामीले तिरेको करको सही रुपमा सदुपयोग होस् भनेर तपाईहरुको रेखदेख पनि चाहिन्छ । म सदैव समृद्ध सूर्यविनायक र सुखी नगरवासी बनाउन कोसिस गर्नेछु ।