दर्शक छनौटमा सामाजिक सञ्जाल

विमल थापा
विमल थापा

२०७६ असार २२, आईतबार


पछिल्लो समयमा युवापुस्ताले बढी नै हेर्ने सामाजिक सञ्जाल अन्तर्गत यू–ट्यूव च्यानलले व्यवसायिक फड्को मारेको देखिन्छ । खासगरी यू–ट्यूवमा पोष्ट हुने श्रव्यदृश्यले टेलिभिजन तथा रेडियो सञ्चार माध्यमलाई समेत अतिक्रमण नै गरेको भन्न सकिन्छ । सँगै यहाँभित्रका कन्टेन्टहरुलाई समग्रतामा विश्लेषण गर्ने हो भने परिपक्व र विश्वसीय सामग्रीको तुलनामा सामान्य बिषयबस्तुहरुलाई प्रमुखता दिनु आफैमा गम्भीर बिषय नै हो । यहाँ एउटा उदाहरण प्रस्तु गर्दैछु, सन् २०१९ जुलाई १ तारेखमा कान्तिपुर टेलिभिजनको यू–ट्यूब च्यानलमा पोष्ट गरिएको चर्चिक कार्यक्रम ‘फायर साइड’ को दर्शक संख्या २१ हजारको हाराहारीमा रहेका बेला सन् २०१९ जुलाई २ तारेखमा सिनेपाटी टेलिभिजनको यू–ट्यूब च्यानलमा पोष्ट भएको ‘प्रियंका र सृष्टी’ सँगको अन्तरवार्ताका दर्शक १ लाख ३६ हजार रहेको छ । 

यो एउटा उदाहरण मात्र प्रस्तुत गर्न खोजेँको हुँ । यति मात्रले समग्रतामा सामाजिक सञ्जाललाई प्रतिनिधित्व नगर्नपनि सक्दछ । यहाँ दुईवटा फरक तथा व्यवसायिक बिषयबस्तुलाई सँगै यू–ट्यूब च्यानलमा पोष्ट गरिएका सामग्रीका बारेमा तुलना गर्नुको तात्पर्य के हो भने, एउटा कार्यक्रम जो नेपालकै एकजना चर्चित सेलिब्रेटी सञ्चारकर्मी भूषण दाहाल प्रस्तोता रहेको कार्यक्रम ‘फायर साइड’ जहाँ मुलुकको समसामयिक बिषयबस्तुमा बिषयगत विज्ञता हासिल गरेका व्यक्तिसँग सैद्धान्तिक र व्यवहारिक बहस गरिन्छ । यो कार्यक्रम नेपाली टेलिभिजन कार्यक्रम उत्पादनका दृष्टिकोणले दर्शकहरुले सर्वाधिक रुचाएको कार्यक्रमभित्र पर्नेमा कुनै शंका छैन । अर्काे एउटा मनोरञ्जनात्मक यू–ट्यूब च्यानल सिनेपाटीमा त्यसको भोलिपल्टै पोष्ट गरिएका सामान्य बिषयबस्तुमा तयार पारिएको सामग्रीलाई हेर्ने दर्शकको संख्या ‘फायर साइड’ को भन्दा ६ गुणा बढी हुनुले यू–ट्यूबमा पस्कने सामग्रीका बिषयबस्तुका बारेमा आम सञ्चारकर्मीहरु जसले सामग्री उत्पादन गर्दछन्, उसले गहिरएर घोत्लिनु जरुरी भएको छ । 

स्वभाविक रुपमा यू–ट्यूव च्यानलको विगविगी यतिबिध्न बढेको छ कि यसमा प्रस्तुत सामग्रीको विश्वसनीयता माथि प्रसस्त प्रश्न उठाउन सकिन्छ । केही समय अगाडि आफूलाई ज्योतिष विज्ञानका ज्ञाता बताउने एकजना व्यक्तिले नेपालमा ठूलो विनाशकारी भूकम्प आउने प्रक्ष्येपण गरिदिए । यसलाई धेरैजसो यू–ट्यूव च्यानल सञ्चालकहरुले महत्वका साथ प्रसारण गरेपनि । यू–ट्यूवमा धेरै दर्शकहरुले यसलाई हेनुका साथै अरुलाई शेयर पनि गरे । जसले यो भिडियो हेरेँ, कतिपयले त्यसमा व्यक्त अभिव्यक्तिबाट मनभित्र संशय पैदा गरेभने कतिपयले भू–कम्प जाने मनोवैज्ञानिक त्रास पालेर उनले निर्धारण गरिदिएको समयसिमालाई कुरेर बसे । जब उनको प्रक्ष्येपण गलत सावित भयो अनि तीनै व्यक्तिलाई तथानाम गाली पनि गर्न भ्याए । 

यू–ट्यूव च्यानलमा सामग्रीहरु पोष्ट हुँदा दुईवटा कोणबाट बढी प्रयोग भएको देखिन्छ । एउटा बिषयका गहिराइमा भन्दा अतिरञ्जित तरिकाले शीर्षक तयार गर्ने अर्काे बिषयबस्तुलाई नबुझी एकतर्फी सामग्री प्रस्तुत गर्ने । एउटै बिषयमा पनि फरक–फरक तरिकाले उठान गर्नु, बिषयबस्तु चयन गर्दा टिकाउ भन्दा बिकाउ सामग्रीको छनौट गर्नु, मानवीय संवेदनशीलाई ख्याल नगर्नु, बिषयबस्तुको प्रभाव कहाँसम्म पर्न सक्दछ भन्नेमा सही विश्लेषण गर्न नसक्नु जस्ता मूल समस्या अहिले यू–ट्यूव च्यानलमा पोष्ट भएका सामग्रीहरुमा स्पष्ट रुपमा देखिन्छ ।

सामाजिक सञ्जालको एउटा निश्चित दायित्व हुन्छ । समाजमा हुने गरेका र समाजसँग जोडिएका बिषयबस्तुलाई सहज ढंगले प्रवाह गर्दै समाजलाई समन्वय गर्ने काम सामाजिक सञ्जाल हो । यसको आधारभूत सिद्धान्त पनि यही हो । तर सामाजिक सञ्जालभित्र पोष्ट हुने यस्ता सामग्रीहरुले समाजमा द्वेष, इश्र्या, आवेग र वितृणा फैलाउने काम गर्छ भने त्यो कुनैपनि हालतमा न्यायोचित हुनै सक्दैन । 

अहिले यू–ट्यूव च्यानलमा पोष्ट हुने सामग्रीहरुमा दर्शकहरुले दिने प्रतिक्रिया यतिबिध्न खुल्ला रुपमा व्यक्त हुने गरेका छन् कि त्यसलाई सामाजिक सञ्जालका रुपमा बुझ्न कठिन हुन थालेको छ । 

स्वभाविक रुपमा समाज वर्गीय स्वरुपमा छ । यहाँ विविध विचारधारा र सोच अनि बुझाइ भएका वर्ग समुदायको प्रतिनिधित्व पनि रहेको छ । उनीहरुले व्यक्त गर्ने अभिव्यक्तिमा पनि भिन्नता हुनुलाई नौलो मान्न सकिँदैन । तर जब सामाजिक सञ्जालमा यस्ता प्रतिक्रियाहरु असरल्ल ढंगले प्रस्तुत हुन्छन्, त्यसले समाजमा सकारात्मक भन्दा नकारात्मक सन्देश प्रवाह गरिरहेका देखिन्छन् । कतिपय प्रतिक्रियाहरु कुनै वर्ग, समुदाय र व्यक्तिलाई समेत केन्द्रविन्दूमा राखेर व्यक्त  भएका देखिन्छ । जुनकुरा यसका सबै प्रयोगकर्तारुका बीचमा तुरुन्तै पुग्छ । 

हालसालैको कुरा गरौं, चर्चित लोक भाका ‘गलबन्दी’का गायक प्रकाश सपूतलाई प्रारम्भमा यू–ट्यूव च्यानलका दर्शकहरुले देवत्वकरण गरे झै  प्रशंसा गरे । उनको सिर्जना र प्रस्तुतीकरणका थुप्रैले तारिफ पनि गरे । तर जब उनको यो सिर्जनामाथि केही प्रश्न चिन्ह खडा भयो, त्यही सामाजिक सञ्जाल प्रयोगकर्ताले दानवीय व्यवहार पनि प्रष्फुटन गर्न भ्यायो । यतिमात्र होइन, उनीमाथि व्यक्त आक्रोसको बाछिटाले सामाजिक सद्भावलाई समेत खलबलाउने कु–चेष्टा ग¥यो । 

कतिपयले सामाजिक सञ्जालमा व्यक्त भएका अभिव्यक्तिबाट नै अन्तिम धारणा पनि बनाएको देखिन्छ । चाहे त्यो सकारात्मक होस् वा नकारात्मक नै किन नहोस् । तर के साँचो अर्थमा सामाजिक सञ्जालमा व्यक्त अभिव्यक्तिले मात्र पूरै समाजको प्रतिनिधित्व गर्न सक्दछ त ? त्यो भन्दा पनि गम्भीर कुरा सामाजिक सञ्जाललाई सामाजिक सद्भाव कायम गर्ने थलोको रुपमा भन्दा पनि माथि उल्लेख गरिए झैं द्वेष, इश्र्या, आवेग र घृणा फैलाउने थलोको रुपमा मात्र प्रयोग गर्दै जाने हो भने केही क्षणका लागि यसको आत्मरतिमा रमाउनेहरुलाई आत्मसन्तुष्टी त प्राप्त भएको महसुस होला । तर समग्र समाजको हितमा यसले कुनैपनि हालतमा योगदान दिन सक्दैन ।  

थापा अनन्त सन्देश साप्ताहिकका सम्पादक हुन् ।