काठमाडौंमा हुनान साँस्कतिक तथा पर्यटन सप्ताह सुरु

अनन्त सन्देश

२०७६ असार २२, आईतबार


- रमेश हुतवाली

काठमाडौं  । काठमाडौं दरवारमार्गस्थित होटल याक एण्ड यतिमा विहीबारदेखि भव्य समारोहको आयोजना गर्दै हुनान साँस्कृतिक तथा पर्यटन सप्ताहको सुभारम्भ गरिएको छ । 

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे, चीनको हुनान प्रान्तिय साँस्कृतिक तथा पर्यटन विभागका सहायक निर्देशक छन् युआनफिङ र काठमाडौंस्थित चिनिया राजदूतावासका नियोग उपप्रमुख याङ स्छाओले सप्ताहको उद्घाटन गर्नुभएको हो । 
 
उद्घाटन समारोहलाई सम्बोधन गर्दै हुनान प्रान्तिय साँस्कृतिक तथा पर्यटन विभागका सहायक निर्देशक छन् युआनफिङले नेपाल र चीनबीच धेरै विषयमा समानता रहेको र साँस्कृतिक तथा धार्मिक क्षेत्रको आदान प्रदानले यो सम्बन्धलाई अझ प्रगाढ बनाएको बताउनुभयो । फा स्यान, स्वान चांग लगायतका महामानव हुँदै जनस्तरमा जोडिएको दुई देशबीचको सम्बन्ध दौत्य सम्वन्ध कायम भएपछि अझ घनिष्ठ र सहयोगी बनेको उहाँको धारणा थियो । 
गत अप्रिलमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणले हामीबीचको सम्बन्ध अझ वलियो भएको बताउँदै सहायक निर्देशक छन्ले एक हप्तासम्म सञ्चालन हुने हुनान सप्ताहले नेपाली जनतालाई हुनानको प्राचिन संस्कृति, पर्यटन, विकास निर्माण लगायतमा जानकारी प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । हुनानको स्वच्छ पानी र पहाड विश्वमै प्रसिद्ध रहेको जानकारी दिँदै सहायक निर्देशक छन्ले साँस्कृति, पर्यटन हामी दुवै देशको सम्बन्धको दरो आधार बन्न सक्ने बताए । साथै सहायक निर्देशक छन्ले भविष्यमा धेरै नेपाली हुनान घुम्न आउने र धेरै हुनानबासी नेपाल घुम्न आउनेमा आफू आशावादी रहेको समेत जानकारी दिनुभयो । 

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले हुनान अत्यन्त सुन्दर एवम् आकर्षक पर्यटकीय प्रान्त भएको भन्दै हुनान र नेपालबीच वलियो धार्मिक तथा साँस्कृतिक समानता रहेको बताउनुभयो । बुद्ध धर्म र सँस्कृतिले नेपाल र हुनानलाई जोडेको प्रसङ्ग उल्लेख गर्दै महानिर्देशक घिमिरेले हुनान सप्ताहले नेपाली जनतालाई हुनानको पर्यटन, चिनियाँ नेता माओ र समृद्ध हुनानको सँस्कृतिबारे जानकारी लिन मद्दत मिल्ने विश्वास समेत व्यक्त गर्नुभयो । 
समारोहमा बोल्दै हुनान एयरपोर्ट व्यवस्थापन समूह कम्पनी लिमिटेडका सहायक महानिर्देशक हुवाङ योङफाङले काठमाडौँबाट चीनको हुनान प्रान्तको राजधानी छाङ्सामा अर्को महिनादेखि सीधा हवाई उडान हुने जानकारी दिनुभयो । 

हुवाङ योङफाङले छाङ्सा र नेपालबीच हुनान प्रान्तिय सरकारले पुलको काम गर्न लागेको बताउनुभयो । हुवाङका अनुसार नेपाल र चीनका व्यापार व्यवसायीहरु, विभिन्न कम्पनी तथा दुई मुलुकका सरकारको सहकार्यमा आउँदो महिनादेखि हिमालय एयरलायन्सले काठमाडौं छाङ्सा सीधा उडान भर्नेछ । भगवान बुद्धको जन्मभूमी नेपाल सुन्दर, शान्त र पर्यटकीय आकर्षणको केन्द्र भएकोले चिनिया पर्यटकको नजरमा नेपाल घुम्नै पर्ने गन्तव्य मध्येको एक देशको रुपमा रहेको पनि सहायक महानिर्देशक हुवाङले जानकारी दिनुभयो । सीधा उडान नभएकोले नेपाल र हुनानबीच पर्यटक आदानप्रदान हुन नसकिरहेको उल्लेख गर्दै हुवाङ योङफाङले अब धेरै भन्दा धेरै पर्यटक आउजाउ गर्नेे विश्वास व्यक्त गर्नुभयो । 
 

चिनियाँ राजदूतावासका नियोग उपप्रमुख याङ स्छाओले हुुनान सप्ताहले नेपाली जनतालाई हुनान के हो भन्ने बुझ्न सहयोग मिल्ने र हुनान आउन प्रेरित गर्ने बताउनुभयो । नेपाल घुम्न आउने चिनियाँ पर्यटकको संख्या निरन्तर बढदै गएको भन्दै उपप्रमुख याङले गतवर्ष मात्र १ लाख ५० हजार चिनिया पर्यटकले नेपाल भ्रमण गरेको जानकारी दिनुभयो । 

हुनान सप्ताह सुभारम्भ समारोहमा हुनान प्रान्त, सो प्रान्तको संस्कृति, पर्यटन, खाना, धार्मिक स्थल, विकास निर्माण, पहाड, नदी लगायतका विषयवस्तु समेटिएका तिन दर्जन फोटो तथा डकुमेण्ट्री प्रदर्शन गरिएको थियो । 
उद्घाटन समारोहमा युन थाईशान क्यामिला टुरिज्म गु्रप र आर्डरिफ्ट एडभेन्चर प्रा.लि. तथा हुनान ह्वाथ्यान इन्टरनेस्नल ट्राभल सर्भिस र नेपालको ग्लोवल एशिया टुर्स एण्ड ट्राभल प्रा.लि.बीच पर्यटन आदान प्रदान लगायतका विषयमा सहयोग विस्तार गर्ने सहमतीपत्रमा हस्ताक्षर भएको थियो । नेपाल भ्रमण वर्ष २०२०लाई भव्य रुपमा सफल पार्न र वुद्धको जन्मभूमि नेपाललाई विश्वसामु चिनाउदै धेरै सकेसम्म ठूलो संख्यामा विदेशी तथा चिनिया पर्यटकहरु भित्रियाउने उद्देश्यले सहमतीपत्रमा हस्ताक्षर गरिएको आर्डरिफ्ट एडभेन्चर प्रा.लि.का संस्थापक निर्देशक शिव अधिकारीले जानकारी दिनुभयो । 

काठमाडौंस्थित चिनिया साँस्कृतिक केन्द्र र हुनान प्रान्तिय साँस्कृतिक तथा पर्यटन विभागले संयुक्त रुपमा आयोजना गरेको सो समारोहमा उपस्थित सहभागिहरुले हुनानको पर्यटन, संस्कृति, विकास लगायतका विषय पक्षको जानकारी महत्वपूर्ण भएको र आफुूहरुलाई हुनान जान प्रेरित गरेको प्रतिक्रिया दिनुभयो ।