खुल्ला तथा सार्वजनिक जग्गाको संरक्षण गरिनेछः नगरप्रमुख थापा

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ असार २८, शनिबार


भक्तपुर । सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले नगर क्षेत्रमा रहेका खुला, सार्वजनिक परती तथा नदी उकास आसपासका क्षेत्रहरुको पहिचान गरी त्यस्ता क्षेत्रहरुमा खेलकूद मैदान, बालउद्यान, फूटसल जस्ता पूर्वाधारको निर्माण एवम् सञ्चालन सार्वजनिक निजी साझेदारीमा व्यवस्थापन गर्ने नीति लिइने बताउनुभएको छ । 

अनन्त सन्देशसँग विशेष कुराकानी गर्दै थापाले यस्ता क्षेत्रहरुमा योग साधना, व्यायामका अतिरिक्त शारीरिक तथा मानसिक अवस्था स्वस्थ्य राख्ने बहुआयामिक क्रियाकलापहरु सञ्चालन गर्न प्रोत्साहित गरिनेछ समेत बताउनुभयो । 
उहाँले सूर्यविनायक नगर क्षेत्र जैविक विविधताको प्रचुरताले सुरक्षित र मनोरम, आकर्षित पर्यटकीय गन्तव्य बन्ने सम्भावना रहेकाले यसको प्रबद्र्धनमा विशेष कार्यक्रम गरिने थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘धार्मिक धरोहरहरुमा केदारनाथको शीर डोलेश्वर महादेव, आशापुरेश्वर महादेव, अन्तलिङ्गे, कैलाश महादेव मन्दिर रहेका छन् । त्यस्तै ध्याम्पेडाँडा, गढी डाँडा, रानीकोट कैलाश डाँडा, काँक्रावारी जस्ता मनोरम भू–दृश्य भएका स्थानहरु हुन् । धार्मिक सम्पदाको जीर्णेद्वार एवं मर्मत र भू–दृश्यमा पर्यटन सेवा प्रवद्र्धन गर्न धार्मिक साँस्कृतिक एवं प्राकृतिक सम्पदाको संरक्षणका लागि गुरुयोजनाको आधारमा शिव परिक्रमा (सर्किट) व्यवस्थापन योजना तयार गरिनेछ । त्यसको प्रबद्र्धनको लागि स्थानीय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार गरिनेछ ।’

थापाले नगर क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, साँस्कृतिक सम्पदाहरुको पहिचान गरी वैज्ञानिक अभिलेखीकरण तिनीहरुको संरक्षण एवं जर्गेना गर्न आगामी आर्थिक बर्षमा विशेष योजना ल्याइएको बताउनुभयो । यस क्षेत्रको ऐतिहासिक मल्लकालीन रानीकोट गढी दरवार, मठमन्दिर, पाटी, पौवा, सत्तल, कुवा, पोखरी, ढुङ्गेधारा, अन्तिम संस्कार घाट क्षेत्रलाई संरक्षण र पुननिर्माण गर्न समेत विशेष बजेट विनियोजन गरिएको नगरप्रमुख थापाले बताउनुभयो ।

उहाँले विभिन्न जात, जाति, समुदाय, धर्म संस्कृतिका जात्रा, गुठी, पर्व, मूल्य एवं मान्यताको सम्वद्र्धन गर्ने नीति लिइने समेत बताउनुभयो । 

नगरप्रमुख थापाले मनोरञ्नात्मक, फुर्सदको उपयोग गर्ने, साहासिक खेल, पदमार्ग, आराम क्षेत्र लगायत मानव निर्मित पर्यटकीय बस्तु एवम् संरचना विकासमा निजी क्षेत्रलाई प्रोत्साहन गरी पर्यटकीय क्रियाकलाप प्रवद्र्धनबाट वढी लाभ लिन सकिने क्षेत्रको रुपमा सूर्यविनायक नगर क्षेत्रको विकास गर्ने नीति नगरपालिकाले लिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘नगर क्षेत्रको गौरवको रुपमा रहेको राष्ट्रिय प्राणी उद्यान क्षेत्रमा भौतिक पर्यटकीय पूर्वाधार विकासमा स्वदेशी तथा वैदेशिक लगानी ल्याउन नगर सरकारले समन्वयात्मक तथा प्रवद्र्धनात्मक कार्यहरु गर्नेछ । राष्ट्रिय प्राणी उद्यान क्षेत्रको भौतिक पूर्वाधारलाई लक्षित गर्दै आधुनिक पूर्वाधारयुक्त सडक क्षेत्र निर्माण गरिनेछ । आसपासको क्षेत्रलाई समेटी पर्यापर्यटन र घरबास पर्यटनलाई प्रबद्र्धन गर्न उच्च प्राथमिकतामा राखिनेछ । यसैका माध्यमबाट यस क्षेत्रका नागरिकको आर्थिक र सामाजिक उत्थान गर्न बहुसीप यूक्त क्षमता तथा उद्यम विकास तालीमहरु सञ्चालन गरिनेछन् ।’