त्रासमै बित्यो रात

रमेश गिरी
रमेश गिरी

२०७६ असार २८, शनिबार


भक्तपुर । सूर्यविनायक नगरपालिका ३ बालकोट हनुमन्ते खोला नजिकै बस्ने सुमित्रा केसीको परिवार रातभर सुत्न सकेन । 

एकतलाको घर डुबाउला भन्ने त्रासमा निदाउन नसक्दा यो परिवारको ६ जनाको रात जागा बसेरै बित्यो । केसीको परिवार मात्रै होईन हनुमन्ते खोला आसपास क्षेत्रमा रहेका बस्तीका सयौ परिवारको रात त्रास र अनिदो मै बितेको छ । 

अबिरल रुपमा ३० घण्टा परेको वर्षाका कारण उर्लिएको हनुमन्ते खोलाको बाढी पस्ने डरमा भक्तपुरका जगाती, हनुमानघाँट, बाराहीस्थान, सल्लाघारी, मध्यपुर थिमिको राधे राधे, एसएसचोक, शंखधर चोक, चारदोबाटो क्षेत्रका खोला नजिकका बस्ती र सूर्यविनायक नगरपालिकाको कटुञ्जे, बालकोट, सागबारी लगायतका क्षेत्रका बासिन्दाको रात अनिदो मै बितेको छ । 
दिउँसोदेखि नै उर्लिएको हनुमन्ते रात पर्न थालेपछि झन बढ्दै बस्ती भित्र पस्न थालेपछि गतवर्ष जस्तै डुबामा पर्ने त्रासले अनिदो मै रात बितेको मध्यपुरथिमि राधे राधेका घनश्याम बोहोराले बताउनुभयो । 

ठिक एकवर्ष अगाडि गतवर्ष असार २८ गते परेको भिषण वर्षाका कारण आएको बाढीले भक्तपुर, मध्यपुर र सूर्यविनायकको बस्ती डुबानमा पार्नुको साथै करोडौको क्षति पुर्याएको थियो । यसवर्ष पनि त्यही अवस्था दोहरिने डरले यहाँका बासिन्दा त्रासमा बसेको बालकोटका सागर प्रजापतिले बताउनुभयो ।

हनुमन्ते करिडोर निर्माण भएका क्षेत्रमा पानी खोला नाघेर बस्तीमा पस्न नसके पनि हनुमन्ते करिडोर निर्माण रोकिएका क्षेत्रहरुमा भने हनुमन्ते खोलाको बाढीले बितण्डा मच्चाएको छ  । 

पहिलो चरणमा सरकारको ८१ करोडको लागतमा गत मंसिरदेखि हनुमन्ते करिडोरको निर्माण कार्य सुरु गरी असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहे पनि केही भूमाफियाको चलखेलमा हनुमन्ते करिडोर निर्माणमा रोकिएपछि भने यसवर्ष पनि समस्या आएको स्थानीयको भनाई छ । 

सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिकाले २०२१ सालको नापी अनुसार खोलाको बहाब व्यवस्थापन गरी त्यहाँको समस्या ल्याण्ड पुलिङ्गको माध्यमबाट समाधान गर्ने सम्झौता अनुसार भएपछि सुरु भएको हनुमन्ते करिडोर निर्माण कार्य ब्लक कारखाना अगाडि पुगेपछि रोकिएको छ ।  

करिडोर निर्माणका क्रममा मिचिएका सार्वजनिक जग्गा निकाल्ने भएपछि करोडौको सार्वजनिक जग्गा मिचेर बर्षौदेखि उपभोग गर्दै आएका भूमाफियाले जग्गा हडप्न केही व्यक्तिलाई परिचालन गरि हनुमन्ते करिडोर निर्माण रोक लगाएपछि रोकिएका क्षेत्रका बस्तीमा बाढी पसेको हो ।

मध्यपुरथिमि नगरपालिका क्षेत्र सञ्चालित ब्लक कारखाना अगाडिबाट रोकिएको करिडोर निर्माणका कारण त्यसभन्दा तलका अधिकांश बस्ती डुबानमा परेका छन् भने लाखौको क्षति भएको छ । 

प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा नौ किलोमिटर लामो हनुमन्ते करिडोर निर्माण तीन चरणमा पूरा गर्ने गरि सुरु भएको थियो । सांसद बस्नेतले नदीको बहाब क्षेत्र २० मिटर, दायाँ बायाँ २०/२० मिटरको फुटपाथ सहितको सडक गरि ६० मिटर फराकिलो करिडोर निर्माणसँगै नदीको दुवैपट्टि ढुङ्गाको अग्लो पर्खाल निर्माण गरि नदीको पानी बस्तीमा पस्नबाट रोक्ने गरि हनुमन्ते करिडोर निर्माण कार्य अगाडि बढाएको बताउनुभयो । 

उहाँले भन्नुभयो,‘यो सानो प्रयासले आएको योजना हैन, धेरै दुःख गरेर दुईवर्ष भित्र निर्माण सम्पन्न गर्नेगरि ल्याएको योजना हो, विकास रोक्न खोज्नेलाई अब पन्छाएर जानुको विकल्प छैन ।’

केही व्यक्तिको सीमित स्वार्थका लागि करिडोर निर्माण अब रोक्न नहुने बताउदै उहाँले करिडोर निर्माण सकिएपछि भक्तपुरलाई बाढी र डुबानबाट जोगाउने, जाममुक्त भक्तपुर बनाउने, अरनिको राजमार्गको बैकल्पिक मार्गको रुपमा विकास गर्ने समेत विभिन्न योजना सहित आएको बताउनुभयो ।