हामी यताका कि उताका ? (सम्पादकीय)

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ असार २९, आईतबार


संघीयता लागू भएपश्चात स्वभाविक रुपमा केन्द्रमा सीमित अधिकार गाउँ–गाउँमा पुग्ने अपेक्षा गरिएको थियो । सिद्धान्ततःयो स्वभाविक पनि हो कि, संघीयता कार्यान्वयन गर्ने क्रममा राज्यको पुनर्संरचना भएको छ । विगतमा गाउँविकास समितिहरु विगठन भइ स्थानीय तह गठन भएको छ । जसअनुसार अहिले ७५३ वटा स्थानीय तह रहेका छन् । स्थानीय तहका पनि संरचनागत हिसाबले विभिन्न वडाहरुमा विभाजित गरिएको छ । सबै वडाहरुमा समानुपातिक रुपमा राष्ट्रको मूल प्रवाहबाट प्राप्त हुने अधिकारहरु निसंकोच प्राप्त गर्नु नैसर्गिक अधिकार नै हो । तर पछिल्लो पटक कतिपय स्थानीय तहका वडागत संरचनामा विकासका पूर्वाधारहरुले प्राथमिकताका क्रममा ठूलै अन्तर समेत भोग्न बाध्य भइरहेका छन् । यसको ज्वलन्त उदाहरण सूर्यविनायक नगरपालिका वडा नम्बर ४ र १ को सिमानामा पर्ने क्षेत्रका झण्डै ३५ घरधूरीका बासिन्दाले भोग्न बाध्य भइरहेका छन् । 

भूगोलले विकटता र सुगमता दुवैको संगमस्थलका रुपमा रहेको यो क्षेत्रमा अहिले समग्र वडाका जनताहरुले गरेको विकासको अनुभूति गर्न सकिरहेका छैनन् । खासगरी वडा नम्बर १ र ४ को सिमानामा पर्ने भएकाले पनि होला, जनप्रतिनिधिहरुले पनि उपेक्षित ढंगले हेर्ने गरेको गुनासो स्थानीयहरुले व्यक्त गर्न थालेका छन् । 

वडा नम्बर ४ बाट बर्षायाममा ठूलै खहरे भेल आउँछ, यसको प्रत्यक्ष मारमा वडा नम्बर १ का बासिन्दाले भोग्न बाध्य भइरहेका छन् । यस बिषयमा बारम्बार वडा नम्बर १ का बासिन्दाले गुनासो पोख्दै आएतापनि यसको सुनुवाई न त वडा नम्बर १ ले गर्छ, न त वडा नम्बर ४ ले नै । यति मात्र होइन, सडक निर्माणकै सन्दर्भमा पनि वडा नम्बर ४ ले नव निर्माण गर्ने भन्दै बाटो बन्द गरिदिन्छ, वडा नम्बर १ ले त्यसको वैकल्पिक बाटो बनाउँदैन । त्यसको प्रत्यक्ष मारमा समग्र वडा नम्बर ४ र १ का जनताहरु हिलाम्भे सडकमा पैदल यात्रा गर्न बाध्य हुन्छन् । यतिसम्म कि, अहिले कुनैपनि आपतकालिन अवस्थामा एम्बुलेन्स सेवा प्रवाह गर्न समेत समस्या खडा भएको छ । यस बिषयमा दुवै वडाका जनप्रतिनिधिहरुको आवश्यक ध्यान पुग्न सकेको देखिँदैन । उनीहरु त्यस क्षेत्रमा परेको समस्याको समाधान कसले गर्ने भन्नेमा नै एकअर्कामा दोषारोपण गर्नमा व्यस्त छन् । एकअर्कालाई जिम्मेवारी थोपरेर दुवै वडाका प्रतिनिधिहरु पानी माथिको ओभाने बन्न खोजेका छन् । 

स्वभाविक रुपमा दुवै वडाको सिमाना पर्ने भएको विकासमा प्रतिस्पर्धा हुनुपर्ने हो । यसो गर्दा दुवै वडाका प्रतिनिधिहरुका बारेमा सकारात्मक सन्देश प्रवाह गर्न मद्धत पुग्ने थियो । विडम्बना यो क्षेत्रमा दुवै वडाको प्रतिस्पर्धा त छ तर विकासमा गर्नेमा हैन, नगर्नेमा । त्यसैले अहिले स्थानीय बासिन्दाहरु आजित भएर भन्न थालेका छन् कि हामी कताका ? यताका कि उताका ?