बाढी र पहिरो पीडितहरुको उद्धारमा नेपाली सेना 

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ असार २९, आईतबार


काठमाण्डौ । देशभर भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरुमा आएको बाढीरपहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यको लागि नेपाली सेना विभिन्न स्थानहरुमा तैनाथ भएका छन्  । नेपाली सेनाले जारी गरेको विज्ञप्तिका अनुसार नेपाली सेनाका २१ जिल्लाको ३२ स्थानमा ८००० जना फौज परिचालन भई उद्धारको कार्यमा लागिरहेको छ । 

मुलुकका बाढीरपहिरोबाट अति प्रभावित १४ जिल्लाहरु,झापा, सुनसरी, उदयपुर, भोजपुर, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा, सिन्धुली, मकवानपुर, काठमाण्डौ, ललितपुर र काभ्रेपलान्चोकमा हालसम्म ३५८ जनाको सकुशल उद्धार गरिएको सेनाले जनाएको छ ।

उक्त बाढीरपहिरोमा परी मृत्यु भएका ७ जनाको शव निकालिएको  र हालसम्म ६ जना बेपत्ता रहेकोमा बेपत्ता भएका व्यक्तिहरुको खोजकार्यलाई जारी राखिएको बताइएको छ । 
यस्तै, पहिरोका कारण अवरुद्ध वि.पि. राजमार्ग, काठमाण्डौ–हेटौडा र भोजपुर जिल्लाको भोजपुर–खोटाङ–लेगुवा सडकहरुमा फौज परिचालन भई अवरुद्ध सडकलाई सुचारु गरी यातायात आवगमनलाई सहज बनाउने कार्यमा खटेको नेपाली सेनाले जनाएको छ ।  

यसैगरी, नेपाली सेनासँग भएका विपद्‌को समयमा प्रयोग हुने श्रोत, साधन तथा जनशक्तिसहित ईटहरी, धनुषा (धारापानी) र काठमाण्डौमा हेलिकोप्टर स्टयाण्डवाईमा रहनुको साथै प्रत्येक जिल्लामा तैनाथ युनिटहरुमा आपतकालिन उद्धार सामग्रीसहित फौज तयारी हालतमा राखिएको छ । विगतका वर्षहरुमा बाढी रपहिरोबाट भएको क्षतिहरुलाई मध्यनजर गरी विपद्को उच्च जोखिम भएका स्थानहरुमा नेपाली सेनासँग उपलब्ध भएका विभिन्न किसिमका डुङ्गालगायत अन्य उद्धारका सामग्रीहरुसहित तयारी हालतमा राखिएको छ । चितवनस्थित नंं २ विपद् व्यवस्थापन गणबाट रौतहटको चन्द्रनिगाहपुरतर्फ उद्धार कार्यको लागि खट्टिएको छ । 

सेनाले गृह मन्त्रालयबाट बाढीरपहिरो प्रभावित ईलाकामा पठाउन तयार गरिएका पाललगायतका अन्य राहत सामग्रीहरु नेपाली सेनाको हेलिकोप्टरबाट ढुवानी गर्ने व्यवस्था मिलाईएको जनाएको छ ।