सूर्यविनायक ४ का सार्वजनिक स्थानमा फ्रि–वाइफाई जडान

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ श्रावण ११, शनिबार



भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ४ लाई प्रविधि मैत्री वातावरण बनाउने उद्देश्यले विभिन्न सार्वजनिक स्थानहरुमा निःशुल्क इन्टरनेट सेवा सुरु गरिएको छ । 

वडा कार्यालयको संयोजनमा इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिङ्क गठ्ठाघर शाखाले वडाका हिन्चोक, वडा कार्यालय र तर्खगाल चोकमा ‘फ्रि–वाइफाई’ सेवा उपलब्ध गराएको हो ।

सूर्यविनायक नगरपालिका, वडा कार्यालयको विशेष सहयोग तथा स्थानीय युवा विकास तथा अध्ययन केन्द्रको समन्वयमा तर्खगाल चोकमा जडित उक्त इन्टरनेटबाट युवाहरुले प्रविधिको सदुपयोग गरी सूचना, सन्देश प्रवाह गर्न मद्धत पुगेको संस्थाका अध्यक्ष सुमन न्यौपानेले बताउनुभयो । 

वर्तमान युग भनेको सूचना प्रविधिको युग पनि भएकाले युवाहरुलाई लक्षित गरेर वडाका विभिन्न सार्वजनिक स्थानहरुमा फ्रि–वाइफाई जडान गरिएको सूर्यविनायक नगरपालिका वडा नम्बर ४ का वडा सदस्य राजु लुवन्जार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, हामीले घोषणापत्रमा पनि विभिन्न सार्वजनिक स्थानहरुलाई प्रविधि मैत्री बनाउने उद्देश्यले इन्टरनेटको सहज उपलब्धता गराउने प्रतिबद्धता गरेका थियौं । सोही मुताविक वडाका विभिन्न स्थानमा यसलाई कार्यान्वयन गर्ने कामको थालनी गरेका छौं ।’ यसबाट युवाहरुलाई प्रविधिको सदुपयोग गरी नयाँ कुरा सिक्न सक्ने वातावरण तयार भएको छ श्रेष्ठले बताउनुभयो ।