नगरमा पार्किङको व्यवस्थापन गरिनेछ : नगरप्रमुख थापा

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ श्रावण १२, आईतबार


भक्तपुर । सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले बढ्दो बस्ती तथा सवारी साधनको चापलाई व्यवस्थित गर्न नगर क्षेत्रमा भएका खुला क्षेत्रहरुको पहिचान गरी सःशुल्क तथा निःशुल्क पार्किङ्गका लागि कार्यविधि तर्जुमा गरेर लागू गरिने बताउनुभएको छ । 

अनन्त सन्देशसँग विशेष कुराकानी गर्दै नगरप्रमुख थापाले सवारी चापलाई व्यवस्थित गर्दै पार्किङ्गको उचित व्यवस्थापनका लागि सामुदायिक, सहकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्ने नीति लिइने बताउनुभयो । 

उहाँले भक्तपुर जिल्लाभित्र दिन प्रतिदिन बढ्दै गएको सवारी चापलाई व्यवस्थापन गर्न उपयुक्त विकल्पको रुपमा पहिचान गरी कार्य प्रारम्भ गरिएको हनुमन्ते कोरिडोरको निर्माणलाई सार्थक बनाउदै यथासमयमा कार्य सम्पन्न गर्न नेपाल सरकार तथा प्रदेश सरकारसँग आवश्यक समन्वय गरिने समेत बताउनुभयो । 

थापाले हनुमन्ते कोरिडोरको दुवै तर्फ हरित पेटी सहितको कम्तिमा ११ मिटरको सडक निर्माण गरी यसलाई अरनिको राजमार्गको सहायक वैकल्पिक मार्गका रुपमा व्यवस्थापन गर्न नगरपालिकाले आवश्यक कार्य गर्ने समेत बताउनुभयो । 

यसैगरी, हनुमन्ते कोरिडोरसँग जोडिएका खुला तथा आवादी युक्त क्षेत्रहरुलाई एकीकरण गर्दै व्यवस्थित शहरीकरणका लागि जग्गा विकास परियोजना कार्यान्वयन गर्न समन्वय गर्न सकिने समेत थापाले बताउनुभयो । 

काठमाण्डौ उपत्यका भित्रका अन्य नगरपालिकाहरु भन्दा यस नगरपालिका क्षेत्रमा खुला, सार्वजनिक परती, वन जंगल, हरियाली क्षेत्र हुनुका साथै भविश्यको जनसंख्यालाई वसोवासका लागि उपयुक्त क्षेत्र हुन सक्दछ थापाले भन्नुभयो, ‘नयाँ शहरको रुपमा सूर्यविनायक नगर क्षेत्र विकास हुँदै आएको छ । व्यवस्थित शहरीकरणमार्फत सर्व सुलभ, दिगो र सुन्दर शहरको विकास गर्दै भू–उपयोग योजनामा आधारित व्यवस्थित, एवं योजनावद्ध शहरी विकास गर्ने नीति लिइनेछ ।’ 

सार्वजनिक, परती तथा नदी उकासको क्षेत्र पहिचान गरी यस्ता भू–क्षेत्रमा बहुउपयोगी खुला क्षेत्रहरुका निर्माण, विकास र व्यवस्थापनको नीति नगरपालिकाले लिइने बताउँदै थापाले उपयोगहीन अवस्थामा रहेका सार्वजनिक परती जग्गाहरुको पहिचान गरी यस्ता क्षेत्रहरुमा नगरपालिकाले कार्यविधि निर्माण गरी लिजमा सरकारी कार्यालयहरु, सिटी हल, सवारी जाँचपास (ट्रायल सेन्टर) जस्ता पूर्वाधार विकासमा सरकारी, सहकारी, सार्वजनिक निजी साझेदारीमा कार्य गर्न सक्ने कार्यगत व्यवस्था मिलाइने बताउनुभयो । उहाँले नगर क्षेत्रलाई उपत्यका भित्रका नमूना शहरी क्षेत्र बनाउन आवधिक गुरुयोजना बनाई लागू गरिने बताउनुभयो ।