हनुमन्तेमा कलकल सफा पानी बग्नेछ : सांसद बस्नेत

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ श्रावण १८, शनिबार


भक्तपुर । प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले हनुमन्ते नदी हाम्रै पालामा सफा हुने र कलकल सफा पानी बग्ने बताउनुभएको छ । 

हनुमन्ते नदी सफाइ अभियानको ७५ औं हप्ताको अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै सांसद बस्नेतले यो अभियान केवल सडक र खोला सफाइ अभियान मात्र नभइ मानिसको मन मस्तिष्कलाई समेत सफा गर्ने अभियान भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अहिले सडकमा फोहर कसैले फ्याक्यो भने भक्तपुरबासीहरु यो फोहर किन फाल्नुभयो ? भनेर प्रश्न गर्न थाल्नुभएको छ । यो अभियानको सफलता हो ।’ 

बस्नेतले यस्ता अभियानलाई रचनात्मक कसरी बनाउने र यसलाई विभिन्न सन्दर्भमा कसरी जोड्ने भन्नेमा बृहत रुपमा छलफल चलाइएको समेत बताउनुभयो । ‘यसक्रममा हामीले विभिन्न खालका रचनात्मक गतिविधिहरुलाई पनि निरन्तरता दिइरहेका छौं ।’ बस्नेतले भन्नुभयो,‘हामीले हनुमन्ते खोलामा मात्र ३ वटा ट्रस्ट ब्रिज बनाएर यसलाई नयाँ स्वरुप दिने काम गरेका छौं । यसै अभियान अन्तर्गत हनुमन्ते नदीमा करिडोर निर्माण गरेर अगाडि बढाइरहहका छौं । बाढी प्रभावित भएका बेला हामी अभियन्ताहरु सबै उद्धार कार्यमा जुट्यौं । हामी निरन्तर २ महिना राजमार्ग सरसफाइमा जुट्यौं । यस्ता कार्य भनेका अत्यन्त सिर्जनात्मक र रचनात्मक कार्यहरु हुन् ।’

विगतमा प्लाष्टिक टिपेर पनि सफाइ अभियान हुन्छ भनेर आलोचना गर्ने साथीहरुको मानसिकतामा समेत परिवर्तन आएको बताउँदै सांसद बस्नेतले उहाँहरुले अहिले यो अभियानलाई साथ र समर्थन गर्न थाल्नुभएको बताउनुभयो । 

‘अभियान निरन्तर रुपमा अगाडि बढ्दा मानिसको जीवनमा मात्र होइन, सोचाइमा समेत सकारात्मक परिवर्तन हुँदो रहेछ, बस्नेतले भन्नुभयो, ‘यो अत्यन्तै सकारात्मक पक्ष हो । हामीले भन्दै आएका छौ कि, हामी विकास गर्न पट्टि लाग्यौ, सुशासन कायम गर्नतिर सकै लाग्यौं, वातावरण स्वच्छ राख्नको निम्ति जुटौं । यसमा न त राजनीतिक विचारधारालाई अगाडि सारेका छौ, न त कुनै वर्ग समुदाय विशेषलाई बढी केन्द्रित गरेका छौं ।’

बस्नेतले विकास र समृद्धि सबैको सरोकार भएकाले कुनै एक व्यक्ति वा समूहलाई केन्द्रित गरेर कुनै पनि अभियान सफल नहुने बताउँदै भन्नुभयो, ‘हामी विकासका हरेक गतिविधिलाई नयाँ र सिर्जनशील ढंगबाट अगाडि बढाउन चाहन्छौ  । हामी राजनीतिमा प्रतिस्पर्धा र विकासमा ऐक्यबद्धताका साथ अगाडि बढ्न चाहन्छौ ।’

अहिलेको अवस्थमा जनतानै सबैभन्दा शक्तिशाली भएको बताउँदै बस्नेतले अहिले सबै खाले गतिविधिलाई जनताले सूक्ष्म ढंगले हेरिरहेको हुँदा भोलिका दिनमा यसको उहाँहरुको नजरले मूल्याङ्कन अवश्य गर्नुहुने बताउनुभयो ।  

भक्तपुरलाई समृद्धिको बाटोबाट अगाडि बढाउने क्रममा यहाँका सम्पूर्ण नागरिकहरुको समेत उल्लेखनीय भूमिका रहेको बताउँदै बस्नेतले भक्तपुरका लाइफलाइनको रुपमा रहेको अरनिको राजमार्गबाट दैनिक २० हजार भन्दा बढी गाडी गुड्ने भएकाले यसलाई व्यवस्थित गर्नु जरुरी भएको बताउनुभयो । 

नेपालको दोश्रो नाकाका रुपमा समेत परिचित अरनिको राजमार्गलाई हरियालीयुक्त तथा सुरक्षित बनाउने अभियानलाई अगाडि बढाइएको बताउँदै बस्नेतले समृद्ध भक्तपुर बनाउनको निम्ति सुरक्षित र उज्यालो अरनिको राजमार्ग बनाउने अभियानलाई समेत अगाडि बढाइएको बताउनुभयो । 

अरनिको राजमार्गलाई हरियाली र स्वच्छ राजमार्ग बनाउनेको निम्ति नेपाल सरकार वातावरण विभागले डेड करोड रकम विनियोजन गरेको बताउँदै उहाँले भक्तपुरको समृद्धिको निम्ति मध्यपुर र सूर्यविनायक नगरपालिकाले समेत विशेष योगदान पु¥याउँदै आएको बताउनुभयो । 
निकट भविष्यमै अरनिको राजमार्गलाई व्यवस्थित बनाउनको निम्ति, ट्राफिक लाइट, स्मार्ट डस्टबिन, स्मार्ट ट्वाइलेटहरु सहित व्यवस्थित पार्किङ्को सुविधा समेतको व्यवस्थापन गरिन लागेको बताउँदै सांसद बस्नेतले हाल यहाँ रहेका खुद्रा तथा फलफूल पसलहरुलाई समेत व्यवस्थित गरिने बताउनुभयो । 

यो कार्यक्रम विशेष गरेर जनतासँगको साझेदारीबाट अगाडि बढिरहेको बताउँदै सांसद बस्नेतले भन्नुभयो, ‘यो अभियानमा सबै सुरक्षा निकाय, सम्पूर्ण सामाजिक संस्थाहरुले श्रमदान गरेर योगदान गर्न लागिरहेका छौं । यसलाई उदाहरणीय रुपमा प्रस्तुत गरिरहेका छौं । यो जनतासँगको साँझेदारी कार्यक्रम भएकाले ऐतिहासिक कार्य पनि हो । ’

अहिले वातावरण सरक्षणको निमित भक्तपुरमा रहेका इटा भट्टालाई तत्काल हटाउनुपर्ने बताउँदै बस्नेतले भक्तपुरवासीको भावनालाई उच्च कदर गर्दै यहाँको सडकलाई धूलो र धूवामुक्त बनाउनको निम्ति हामी दोश्रो चरणमा विशेष कार्यक्रम अगाडि ल्याइने समेत बताउनुभयो ।