भक्तपुरमा विकासको नयाँ अभियान सुरु भएको छ : मन्त्री बस्नेत

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ श्रावण १८, शनिबार


भक्तपुर । बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले भक्तपुर जिल्लामा एउटा नयाँ विकासको अभियान सुरु भएको बताउनुभएको छ । 

भक्तपुरको सभ्यतासँग जोडिएको हनुमन्ते नदी सफाइ अभियानको ७५ हप्ता पुगेको अवसरमा आयोजित अरनिको राजमार्गलाई हरियाली तथा बृक्षारोपण कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले मुलुकले अगाडि सारेको समृद्ध नेपाल सुखी नेपालीको संकल्पलाई साकार पार्ने अभियानमा भक्तपुर अगाडि बढिरहेको बताउनुभयो । 

मन्त्री बस्नेतले भन्नुभयो, ‘समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्पकासाथ मुलुक अगाडि बढिरहेको अवस्थामा हामी एउटा नयाँ युगमा प्रवेश गरिरहेका छौं । यो अभियानमा भक्तपुर जिल्ला एउटा नमूना जिल्लाको रुपमा विकास हुँदैछ ।’ 

‘एउटा पवित्र उद्देश्य बोकेर माननीय महेश बस्नेत लगायत सम्पूर्ण भक्तपुरवासीहरु यो अभियानमा लागिरहनुभएको छ, यो उत्साहपूर्ण अभियानमा नेपाल सरकार बन तथा वातावरण मन्त्रालय सदैव साथमा रहनेछ,’ मन्त्री बस्नेते भन्नुभयो, ‘कुनैपनि मुलुकको विकास केवल सरकारको मात्र गर्ने हो भनेर अपेक्षा गर्नुहुँदैन । यसको निम्ति सबैले उत्तिकै योगदान दिनु जरुरी छ ।’

अहिले मुलुकमा आएको राजनीतिक परिवर्तनबाट जनताले छोटो समयमा पनि धेरै अपेक्षा गरेका छन् जसलाई पूरा गर्ने दायित्व सरकारको भएको बताउँदै मन्त्री बस्नेतले यसको निम्ति आम नागरिकहरुलाई विकासका हरेक अभियानमा सँगै साथ र सहयोग लिएरअगाडि बढ्नु जरुरी भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अबका दिनमा हरेक विकासका गतिविधिहरुमा नागरिकलाई सहभागी बनाएर लैजानु आवश्यकता मात्र होइन, अनिवार्य नै छ । यसको निम्ति स्थानीय तहमै यी कार्यहरुलाई निरन्तरता दिनु जरुरी छ ।’ 

बस्नेतले जुन ठाउँमा स्थानीय जनतप्रतितिधिहरु सक्रिय ढंगले क्रियाशील भएका छन्, त्यहाँ निश्चित रुपमा विकासका प्रतिफलहरु अत्यन्त सकारात्मक ढंगले अगाडि बढ्ने गरेको बताउनुभयो । उहाँले  भक्तपुर जिल्लामा केही छोटो समयमा नै देखिने गरी परिवर्तन भएको महसुस गरिएको समेत बताउनुभयो । 

अहिले भक्तपुर जुन ढंगले समृद्धिको बाटोबाट अगाडि बढिरहेको छ, यसबाट सम्पूर्ण मुलुकले समेत प्रेरणा लिन सक्ने बताउँदै मन्त्री बस्नेतले भक्तपुरको सौन्दर्य र विकासलाई हेर्नको निम्ति कुनैपनि विदेशी पर्यटकले एकपटक भक्तपुर आएर मात्र जाने वातावरण सिर्जना गर्नुपनि उत्तिकै जरुरी भएको बताउनुभयो । 

भक्तपुर उसैपनि भक्तपुर कला, सँस्कृति र सभ्यताको दृष्टिकोणले लामो इतिहास बोकेको जिल्ला भएको बताउँदै मन्त्री बस्नेतले भन्नुभयो, ‘एउटा गौरव गर्न लायक सभ्यता र सँस्कृति पनि बोकेको भक्तपुर जिल्लाका यी पक्षलाई उचित व्यवस्थापन गर्दै नयाँ सम्भावनाको खोजी गर्न सकियो भने भक्तपुरको अझ बढी सम्भावनका क्षेत्रहरु स्थापित हुनेछन् ।’

सरकारको उद्देश्य भेनको मुलुकको समृद्धि र सुखी नेपाली बनाउनु भएको बताउँदै मन्त्री बस्नेतले यो मुलुकका सामाजिक न्याय र नागरिकको सुखी जीवनको सुनिश्चितताको निम्ति सबै एकजुट हुनुपर्ने समेत बताउनुभयो ।