नगरपालिकाभित्र पूर्व स्वीकृतिबिना बनाइएका घर टहरा भत्काइनेछ : नगरप्रमुख थापा

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ श्रावण १८, शनिबार


भक्तपुर । सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले नगर क्षेत्रमा नगरपालिकाको पूर्व स्वीकृति विना घर टहरा लगायतका भौतिक पूर्वाधार निर्माण गर्ने गरेको पाइएमा त्यसलाई तत्काल रोकथाम गरिने बताउनुभएको छ । 

अनन्त सन्देशसँग विशेष कुराकानी गर्दै नगरप्रमुख थापाले विना स्वीकृति निर्माण गर्दा मापदण्ड विपरीत र भवन सहिंताको समेत पालना नहुने भएकाले नगरपालिकाको स्वीकृति विना घर टहरा लगायतका भौतिक संरचना निर्माण भएको देखिनासाथ वडा कार्यालयबाट त्यस्तो निर्माण कार्य रोक्का राख्न पत्राचार गरिने बताउनुभयो । 

उहाँले वडा कार्यालयबाट रोक्का राख्ने आदेश दिँदा पनि निर्माण कार्य जारी राखेमा त्यस्तो भौतिक संरचना नगरपालिकाबाट हटाई लागेको सम्पूर्ण खर्च सरकारी बाँकी सरह सम्वन्धित व्यक्ति वा संस्थाबाट असूल उपर गर्ने नीतिलाई कडाईका साथ लागू गरिने बताउनुभयो । 

थापाले भन्नुभयो, ‘नक्सापास प्रक्रियालाई पारदर्शी, वैज्ञानिक र आधुनिक प्रविधि मैत्री बनाउन कम्प्यूटर नेटवर्क प्रणालीमा आधारित नक्सापास प्रक्रिया आगामी आर्थिक वर्ष भित्र लागू गरिनेछ ।’ 

नगरप्रमुख थापाले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ्य वातावरण बाँच्न पाउने हकलाई मौलिक हकको रुपमा संविधानमा उल्लेख गरिएको बताउँदै वातावरणीय स्वच्छता कायम गर्ने विषय संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकार क्षेत्र भित्रको कर्तव्य र जिम्मेवारी भएको बताउनुभयो । उहाँले  प्रदूषण नियन्त्रण, फोहोमैला व्यवस्थापन र हरियाली प्रबद्र्धन गर्दै स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने नागरिक अधिकारको सुनिश्चितता गर्न नगर सरकारले प्राथमिकताका साथ कार्य गर्ने बताउनुभयो । 

थापाले जल, वायू, माटो, ध्वनि तथा विद्युतीय लगायत सबै प्रकारको प्रदूषणको रोकथाम र नियन्त्रण गर्न आवश्यक नीति, कानून र प्रभावकारी संरचना निर्माण गर्नुका साथै सोध, अनुसन्धान र क्षमता अभिबृद्धि एवं चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिने समेत बताउनुभयो । 

यसैगरी, नगर क्षेत्र भित्रका अन्य खोलानाला र अरनिको राजमार्ग सफाई कार्यलाई विशेष प्राथमिकता दिइने थापाले बताउनुभयो । उहाँले यस्ता कार्यमा सफाई अभियान्ता, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, सीमा जोडिएका नगरपालिका, गैरसरकारी संघ संस्था, विद्यालय र आम नागरिकहरु बीचमा सहकार्य र समन्वय कायम गरिने बताउनुभयो । 

उहाँले नगरपालिकाको पूर्ण सरसफाई रणनीतिक योजना, २०७६ कार्यान्वयनमा ल्याइने बताउँदै यूएन हाविटाटको सहयोगमा नगर क्षेत्रमा पूर्ण सरसफाई कार्यक्रम अभियानको रुपमा सञ्चालन गर्न लागत साझेदारी र समन्वय गरिने समेत बताउनुभयो ।