हनुमन्ते सफाइको ७५ हप्ता : भक्तपुरको समृद्धि हाम्रै पालामा

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ श्रावण १९, आईतबार


भक्तपुर । ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मूल नारालाई सरकारले अगाडि सारेको छ । मुलुकको समृद्धि बिना नेपाली सुखी हुन सक्दैनन् । यही धेयलाई आत्मसाथ गरी मुलुकको समृद्धिमा सरकार मात्र होइन, नागरिक तहबाट समेत हातेमालो गर्नु जरुरी भएको छ । आजभन्दा ७५ हप्ता अगाडि भक्तपुरको सभ्यतासँग जोडिएको हनुमन्ते नदी सफाइ अभियान सुरु भएको थियो । प्रारम्भमा नदीका आसपासमा रहेका फोहर संकलन गरी त्यसको व्यवस्थापनलाई अगाडि बढाएको अभियानले नदीको व्यवस्थानको निम्ति महत्वकांक्षी करिडोर निर्माण, विभिन्न स्थानमा, पक्की पुल, ट्रस्ट ब्रिज निर्माण लगायत अरनिको राजमार्ग सरसफाइलाई समेत निरन्तरता दिएको छ । यो अवधिमा हनुमन्ते नदीले एउटा नयाँ स्वरुप प्राप्त गर्दै गरेको छ भने अरनिको राजमार्गमा समेत सफाइले निरन्तरता पाएको छ । यति मात्र होइन,राजमार्गलाई हरियाली बनाउने अभियान स्वरुप बृक्षारोपण कार्यलाई समेत सुरुवात गरिएको छ । 

भक्तपुरमा विकासको नयाँ अभियान सुरु भएको छ : मन्त्री बस्नेत
भक्तपुर । बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले भक्तपुर जिल्लामा एउटा नयाँ विकासको अभियान सुरु भएको बताउनुभएको छ । 

भक्तपुरको सभ्यतासँग जोडिएको हनुमन्ते नदी सफाइ अभियानको ७५ हप्ता पुगेको अवसरमा आयोजित अरनिको राजमार्गलाई हरियाली तथा बृक्षारोपण कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले मुलुकले अगाडि सारेको सुखी नेपाली समृद्ध नेपालको संकल्पलाई साकार पार्ने अभियानमा भक्तपुर अगाडि बढिरहेको बताउनुभयो । 

मन्त्री बस्नेतले भन्नुभयो, ‘समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्पकासाथ मुलुक अगाडि बढिरहेको अवस्थामा हामी एउटा नयाँ युगमा प्रवेश गरिरहेका छौं । यो अभियानमा भक्तपुर जिल्ला एउटा नमूना जिल्लाको रुपमा विकास हुँदैछ ।’ 

‘एउटा पवित्र उद्देश्य बोकेर माननीय महेश बस्नेत लगाय सम्पूर्ण भक्तपुरवासीहरु यो अभियानमा लागिरहनुभएको छ, यो उत्साहपूर्ण अभियानमा नेपाल सरकार बन तथा वातावरण मन्त्रालय सदैव साथमा रहनेछ,’ मन्त्री बस्नेते भन्नुभयो, ‘कुनैपनि मुलुकको विकास केवल सरकारको मात्र गर्ने हो भनेर अपेक्षा गर्नुहँुदैन । यसको निम्ति सबैले उत्तिकै योगदान दिनु जरुरी छ ।’

अहिले मुलुकमा आएको राजनीतिक परिवर्तनबाट जनताले छोटो समयमा पनि धेरै अपेक्षा गरेका छन् जसलाई पूरा गर्ने दायित्व सरकारको भएको बताउँदै मन्त्री बस्नेतले यसको निम्ति आम नागरिकहरुलाई विकासका हरेक अभियानमा सँगै साथ र सहयोग लिएरअगाडि बढ्नु जरुरी भएको बताउनुभयो । 
उहाँले भन्नुभयो, ‘अबका दिनमा हरेक विकासका गतिविधिहरुमा नागरिकलाई सहभागी बनाएर लैजानु आवश्यकता मात्र होइन, अनिवार्य नै छ । यसको निम्ति स्थानीय तहमै यी कार्यहरुलाई निरन्तरता दिनु जरुरी छ ।’ 

बस्नेतले जुन ठाउँमा स्थानीय जनतप्रतितिधिहरु सक्रिय ढंगले क्रियाशील भएका छन्, त्यहाँ निश्चित रुपमा विकासका प्रतिफलहरु अत्यन्त सकारात्मक ढंगले अगाडि बढ्ने गरेको बताउनुभयो । उहाँले  भक्तपुर जिल्लामा केही छोटो समयमा नै देखिने गरी परिवर्तन भएको महसुस गरिएको समेत बताउनुभयो । 

अहिले भक्तपुर जुन ढंगले समृद्धिको बाटोबाट अगाडि बढिरहेको छ, यसबाट सम्पूर्ण मुलुकले समेत प्रेरणा लिन सक्ने बताउँदै मन्त्री बस्नेतले भक्तपुरको सौन्दर्य र विकासलाई हेर्नको निम्ति कुनैपनि विदेशी पर्यटकले एकपटक भक्तपुर आएर मात्र जाने वातावरण सिर्जना गर्नुपनि उत्तिकै जरुरी भएको बताउनुभयो । 

भक्तपुर उसैपनि भक्तपुर कला, सँस्कृति र सभ्यताको दृष्टिकोणले लामो इतिहास बोकेको जिल्ला भएको बताउँदै मन्त्री बस्नेतले भन्नुभयो, ‘एउटा गौरव गर्न लायक सभ्यता र सँस्कृति पनि बोकेको भक्तपुर जिल्लाका यी पक्षलाई उचित व्यवस्थापन गर्दै नयाँ सम्भावनाको खोजी गर्न सकियो भने भक्तपुरको अझ बढी सम्भावनका क्षेत्रहरु स्थापित हुनेछन् ।’

सरकारको उद्देश्य भेनको मुलुकको समृद्धि र सुखी नेपाली बनाउनु भएको बताउँदै मन्त्री बस्नेतले यो मुलुकका सामाजिक न्याय र नागरिकको सुखी जीवनको सुनिश्चितताको निम्ति सबै एकजुट हुनुपर्ने समेत बताउनुभयो । 

हनुमन्तेमा कलकला सफा पानी बग्नेछ :  सांसद बस्नेत
भक्तपुर । प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले हनुमन्ते नदी हाम्रै पालामा सफा हुने र कलकल सफा पानी बग्ने बताउनुभएको छ । 

हनुमन्ते नदी सफाइ अभियानको ७५ औं हप्ताको अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै सांसद बस्नेतले यो अभियान केवल सडक र खोला सफाइ अभियान मात्र नभइ मानिसको मन मस्तिष्कलाई समेत सफा गर्ने अभियान भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अहिले सडकमा फोहर कसैले फ्याक्यो भने भक्तपुरबासीहरु यो फोहर किन फाल्नुभयो ? भनेर प्रश्न गर्न थाल्नुभएको छ । यो अभियानको सफलता हो ।’ 

बस्नेतले यस्ता अभियानलाई रचनात्मक कसरी बनाउने र यसलाई विभिन्न सन्दर्भमा कसरी जोड्ने भन्नेमा बृहत रुपमा छलफल चलाइएको समेत बताउनुभयो । ‘यसक्रममा हामीले विभिन्न खालका रचनात्मक गतिविधिहरुलाई पनि निरन्तरता दिइरहेका छौं ।’ बस्नेतले भन्नुभयो,‘हामीले हनुमन्ते खोलामा मात्र ३ वटा ट्रस्ट ब्रिज बनाएर यसलाई नयाँ स्वरुप दिने काम गरेका छौं । यसै अभियान अन्तर्गत हनुमन्ते नदीमा करिडोर निर्माण गरेर अगाडि बढाइरहहका छौं । बाढी प्रभावित भएका बेला हामी अभियन्ताहरु सबै उद्धार कार्यमा जुट्यौं । हामी निरन्तर २ महिना राजमार्ग सरसफाइमा जुट्यौं । यस्ता कार्य भनेका अत्यन्त सिर्जनात्मक र रचनात्मक कार्यहरु हुन् ।’

विगतमा प्लाष्टिक टिपेर पनि सफाइ अभियान हुन्छ भनेर आलोचना गर्ने साथीहरुको मानसिकतामा समेत परिवर्तन आएको बताउँदै सांसद बस्नेतले उहाँहरुले अहिले यो अभियानलाई साथ र समर्थन गर्न थाल्नुभएको बताउनुभयो । 

‘अभियान निरन्तर रुपमा अगाडि बढ्दा मानिसको जीवनमा मात्र होइन, सोचाइमा समेत सकारात्मक परिवर्तन हुँदो रहेछ, बस्नेतले भन्नुभयो, ‘यो अत्यन्तै सकारात्मक पक्ष हो । हामीले भन्दै आएका छौ कि, हामी विकास गर्न पट्टि लाग्यौ, सुशासन कायम गर्नतिर सकै लाग्यौं, वातावरण स्वच्छ राख्नको निम्ति जुटौं । यसमा न त राजनीतिक विचारधारालाई अगाडि सारेका छौ, न त कुनै वर्ग समुदाय विशेषलाई बढी केन्द्रित गरेका छौं ।’

बस्नेतले विकास र समृद्धि सबैको सरोकार भएकाले कुनै एक व्यक्ति वा समूहलाई केन्द्रित गरेर कुनै पनि अभियान सफल नहुने बताउँदै भन्नुभयो, ‘हामी विकासका हरेक गतिविधिलाई नयाँ र सिर्जनशील ढंगबाट अगाडि बढाउन चाहन्छौ  । हामी राजनीतिमा प्रतिस्पर्धा र विकासमा ऐक्यबद्धताका साथ अगाडि बढ्न चाहन्छौ ।’

अहिलेको अवस्थमा जनतानै सबैभन्दा शक्तिशाली भएको बताउँदै बस्नेतले अहिले सबै खाले गतिविधिलाई जनताले सूक्ष्म ढंगले हेरिरहेको हुँदा भोलिका दिनमा यसको उहाँहरुको नजरले मूल्याङ्कन अवश्य गर्नुहुने बताउनुभयो ।  

भक्तपुरलाई समृद्धिको बाटोबाट अगाडि बढाउने क्रममा यहाँका सम्पूर्ण नागरिकहरुको समेत उल्लेखनीय भूमिका रहेको बताउँदै बस्नेतले भक्तपुरका लाइभलाइनको रुपमा रहेको अरनिको राजमार्गबाट दैनिक २० हजार भन्दा बढी गाडी गुड्ने भएकाले यसलाई व्यवस्थित गर्नु जरुरी भएको बताउनुभयो । 
नेपालको दोश्रो नाकाका रुपमा समेत परिचित अरनिको राजमार्गलाई हरियालीयुक्त तथा सुरक्षित बनाउने अभियानलाई अगाडि बढाइएको बताउँदै बस्नेतले समृद्ध भक्तपुर बनाउनको निम्ति सुरक्षि र उज्यालो अरनिको राजमार्ग बनाउने अभियानलाई समेत अगाडि बढाइएको बताउनुभयो । 

अरनिको राजमार्गलाई हरियाली र स्वच्छ राजमार्ग बनाउनेको निम्ति नेपाल सरकार वातावरण विभागले डेड करोड रकम विनियोजन गरेको बताउँदै उहाँले भक्तपुरको समृद्धिको निम्ति मध्यपुर र सूर्यविनायक नगरपालिकाले समेत विशेष योगदान पु¥याउँदै आएको बताउनुभयो । 

निकट भविष्यमै अरनिको राजमार्गलाई व्यवस्थित बनाउनको निम्ति, ट्राफिक लाइट, स्मार्ट डस्टबिन, स्मार्ट ट्वाइलेटहरु सहित व्यवस्थित पार्किङ्को सुविधा समेतको व्यवस्थापन गरिन लागेको बताउँदै सांसद बस्नेतले हाल यहाँ रहेका खुद्रा तथा फलफूल पसलहरुलाई समेत व्यवस्थित गरिने बताउनुभयो । 

यो कार्यक्रम विशेष गरेर जनतासँगको साझेदारीबाट अगाडि बढिरहेको बताउँदै सांसद बस्नेतले भन्नुभयो, ‘यो अभियानमा सबै सुरक्षा निकाय, सम्पूर्ण सामाजिक संस्थाहरुले श्रमदान गरेर योगदान गर्न लागिरहेका छौं । यसलाई उदाहरणीय रुपमा प्रस्तुत गरिरहेका छौं । यो जनतासँगको साँझेदारी कार्यक्रम भएकाले ऐतिहासिक कार्य पनि हो । ’
अहिले वातावरण सरक्षणको निमित भक्तपुरमा रहेका इटा भट्टालाई तत्काल हटाउनुपर्ने बताउँदै बस्नेतले भक्तपुरवासीको भावनालाई उच्च कदर गर्दै यहाँको सडकलाई धूलो र धूवामुक्त बनाउनको निम्ति हामी दोश्रो चरणमा विशेष कार्यक्रम अगाडि ल्याइने समेत बताउनुभयो । 

सबैको साझेदारी आवश्यक : बासुदेव थापा, संयोजक हनुमन्ते नदी सफाइ अभियान
हामी सुखी नेपाली र समृद्ध नेपाल बनाउने अभियान अन्तर्गत समृद्ध भक्तपुर बनाउने अभियानमा छौं  । स्वच्छ, सफा, हराभरायोग्य, शान्त वातावरणसहितको भक्तपुर बनाउने अभियानमा छौं । सम्पूर्ण जनप्रतिनिधि, संघ, संस्था तथा निकायहरुको साथ र सहयोगले नै यो अभियान यहाँसम्म आइपुगेको हो । यसको निम्ति सम्पूर्ण नगरवासीलाई उत्साहपूर्ण ढंगले यो अभियानमा सहभागी हुन अपिल गर्दछु ।