कोटेश्वरको जाम तत्काल अन्त्य होस् : सांसद बस्नेत

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ श्रावण २२, बुधबार


काठमाण्डौ । प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले उपत्यकावासीले ठूलो सवारी जामको समस्या भोगीरहनुपरेको कोटेश्वर–जडिबुटीखण्डमा तत्काल सुरुङ मार्गको निर्माण कार्यलाई सम्बन्धित मन्त्री तथा मन्त्रालयले तत्काल निर्माणको कार्य अघि बढाउन माग गर्नुभएको छ ।

प्रतिनिधिसभाका बैठकमा बोल्दै सांसद बस्नेतले कोटेश्वको सुरुङ मार्ग तथा सूर्यविनायक देखि घुलिखेलसम्मको ६ लेनको सडक विस्तारको कार्य तत्काल सुरु गर्न माग गर्नुभएको हो । कोटेश्वर, बनेपा, सिन्धुली नेपालकै दोस्रो नाका रहेको बताउँदै उहाँले सूर्यविनायक–धुलिखेल तथा कोटेश्वरमा सुरुङ मार्ग निर्माण गरी उपत्यकामा बसोवास गर्ने लाखौं मानिसलाई सास्ती बनिरहेको सवारी जामको अन्त्य हुनुपर्ने माग गर्नुभयो । उहाँले पूर्वी नेपालतर्फ जाने दैनिक करिव २० हजारभन्दा बढी सवारी साधन गुड्ने गरेकाले वर्तमान समयमा सुरुङ मार्ग तथा सूर्यविनायक–धुलिखेलको सडक ६ लेनको बनाउनुको कुनै विकल्प नभएको समेत बताउनुभयो ।

सूर्यविनायक देखि धुलिखेलसम्मको सडकलाई ६ लेन तथा कोटेश्वरमा सुरुङ मार्ग बनाउने भन्ने कुरा नेपाल सरकारले अघिल्लो वर्षबाट नै डिपिआरको कुरा बजेट र नीति तथा कार्यक्रममा ल्याएको तर उक्त प्रक्रिया ढिलाई भइरहेको बताउँदै सांसद बस्नेतले भन्नुभयो, ‘भौतिक यातायात तथा पूर्वाधार मन्त्रालयले यो बारेमा उचित चासो लिन नसकेको जस्तो अनुभति भएकोले सम्बन्धित मन्त्री तथा मन्त्रालयले उचित पहल कदम लिन आग्रह समेत गर्नुभयो । 

कोटेश्वर जडिवुटीको जाम नेपालकै अत्याधिक जाम हुने मध्येमा रहेको बताउँदै उहाँले जापान सरकारले सो सन्दर्भमा सहयोग गर्ने भन्ने कुरा धेरै अघि देखी नै प्रक्रिया बढेको जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘सम्बन्धीत मन्त्री तथा मन्त्रालयले विशेष चासो नदिदाँ सुरुङ मार्ग तथा उक्त सडक निर्माण प्रकृयामा ढिलाई भएको छ । जिम्मेवार निकायले समयमा नै विशेष महत्व दिई उक्त दुवैको निर्माण कार्य थाल्नुपर्छ ।’