सन्दर्भ : अन्तर्राष्ट्रिय युवा दिवस : युवाको भूमिका र दायित्व

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ श्रावण २६, आईतबार


- सकु थापा
हरेक वर्ष १२ अगष्टका दिनलाई विश्वभर “अन्तर्राष्ट्रिय युवा दिवस”को रुपमा मनाउने गर्दछन् । नेपालमा पनि १२ अगष्टलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा विभिन्न कार्यक्रम सहित मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ तारिकलाई अन्तर्राष्ट्रिय युवा भएको थियो । नेपालमा भने सन् २००४ अर्थात २०६१ सालदेखि मात्र यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघले यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको नारा “Transforming Education” राखेको छ भने नेपालले मौलिक नाराको रुपमा “शिक्षामा रुपान्तरणः उद्यमशिलता र नवप्रवर्तन” भन्ने नारा तय गरी यही श्रावण २७ गते सोमवारका दिनलाई मुख्य समारोह गर्ने गरी श्रावण २२ देखि २८ गतेसम्म सप्ताहव्यापी रुपमा मुलुकभर मनाउँदै छ । गुणस्तरीय र व्यवसायिक शिक्षाको माध्यमबाट शिक्षामा रुपान्तरण गदै सो को प्रतिफल स्वरुप युवावर्गमा उद्यमशीलताको विकास, स्वरोजगार र नवप्रवर्तनमा टेवा पु¥याउने राष्ट्रिय लक्ष्यका साथ विभिन्न कार्यक्रम तय गरेको छ । संयुक्तराष्ट्र सङ्घले युवाका मुद्दालाई स्थापित गर्न र युवाका विषयमा विश्वभरका राष्ट्रका सरकार तथा सरोकारवालालाई सचेत तथा जगारुक गराउन यो दिवसको मनाउने गरेको पाइन्छ ।

नेपालमा १६ वर्षदेखि ४० वर्ष उमेर बीचका व्यक्तिलाई युवाको मान्यता दिएको छ । संयुक्त राष्ट्रसंघले १५ वर्षदेखि २४ वर्ष उमेर बीचका ब्यक्तिलाई युवाको रुपमा लिएको छ । २०६८ को जनगणना अनुसार नेपालमा युवाको संख्या ४०.३५ प्रतिशत अर्थात एक करोड १४ लाख ४४ हजार ४०० रहेका छन् । सन् २०१६ को तत्थ्यांक अनुसार विश्वमा एक अर्ब ८० करोड अर्थात २४ प्रतिशतयुवा रहेका छन् । यो समूहलाई शारीरिक एवं मानसिक विकासका दृष्टिले सर्वाधिक सक्रिय, उर्जावान र गतिशिल समूहका रुपमा लिने गरिन्छ । युवा शक्ति कुनै पनि देशको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको संवाहकको रुपमा लिने गर्दछन् । हरेक देशको विकास र प्रगतिमा युवावर्गको योगदान महत्वपूर्ण रहने गर्द छ । 

विश्व बजारमा वेरोजगारीको समस्या व्याप्त रहेको छ भने त्यसमा पनि नेपाल जस्तो विकाशसिल मुलुकमा झन विकराल रहेको यथार्थ छर्लङ् देखिन्छ । नेपालमा कूल जनसंख्याको ४०.३५ प्रतिशत युवा रहेका छन । कृषिमा संलग्न युवा ५०.२ प्रतिशत, पूर्ण वेरोजगार युवा १९.२ प्रतिशत रहेका छन् भने स्नातक भएर पनि बेरोजगार बस्नु परेको युवाहरु २६.१ प्रतिशत रहेको छन् । मुलुकमा बेरोजगारी कै कारण प्रतिवर्ष ४ लाख भन्दा बढी युवाहरु रोजगारी, शिक्षा तथा अवसरका खोजीमा विदेशिने गरेका छन् । जसमा ७४ प्रतिशत अदक्ष, २४ प्रतिशत अर्धदक्ष र केवल २ प्रतिशत मात्र दक्ष जनशक्ति परिचालन भएको जानकारीमा आएको छ । प्राविधिक दक्षता भएका जनशक्ति उत्पादन गरी पठाउन सकेको भए मात्र पनि विदेश नै गएपनि आर्थिक रुपमा धेरै नै रेमिटेन्स भित्रने थियो । 

स्वदेशमै युवाहरुलाई रोगजारका अवसरहरु सिर्जना गर्ने उद्देश्यले नेपाल सरकारले युवा स्वरोजगार कार्यक्रम ल्याएको छ । जस अन्तर्गत स्नातक तह पास गरेका युवाहरुलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याजदरमा ७ लाख रुपैयाँसम्म ऋण प्रवाह गर्ने, त्यसै गरी महिलाले सामूहिक रुपमा उद्यम गर्न चाहेमा ६ प्रतिशत ब्याजदरमा १० लाख रुपैयाँसम्म ऋण, विदेशबाट फर्किएकाहरुले विदेशमा सिकेको सीपका आधारमा नेपालमा उद्यम गर्न चाहेमा ५ प्रतिशत ब्याजदरमा १० लाख रुपैयाँसम्म ऋण, प्लस टु पास गरेका विपन्न समुदायका युवाले ५ प्रतिशत ब्याजदरमा ५ लाख रुपैयाँसम्म ऋण पाउने व्यवस्था गरेको छ । त्यसै गरी प्रधानमन्त्री रोजगार कार्यक्रम मार्पmत न्यूनतम १०० दिन रोजगार दिने कार्यक्रम समेत संचालन गरिसकेको छ । त्यसैगरी सरकारले आ.व.०७६÷०७७ को नीति तथा कार्यक्रम मार्पmत मुलुकभित्र रोजगारीको अवस्था सृजना गरी रोजगारीका लागि विदेश जान नपर्ने अवस्था बनाउन ८३ हजार युवालाई एक वर्षभित्र सीप सिकाउने र आगामी ५ वर्षमा देश भित्रै ५ लाख युवाहरुलाई रोजगारीको सिर्जना गर्ने योजना समेत प्रस्तुत गरेको छ ।

यस्तो रोजगार कार्यक्रम मार्पmत युवालाई कृषि, पर्यटन, घरेलु व्यवसाय, साना उद्योग, कारखाना जस्ता क्षेत्रहरुमा बढीभन्दा बढी परिचालन गर्नु पर्दछ । रोजगारी कार्यक्रम सुरक्षित विश्वासनीय बनाई राख्न व्यक्तिलाई प्रत्यक्ष रुपमा पैसा हैन, मेशिनरी औजार, भौतिक सामग्री, प्रविधि, दक्ष प्राविधिकबाट सल्लाह, सुझावहरु उपलव्ध गराई विभिन्न तह निर्धारण गरी समय–समयमा अनुगमन गर्नुका साथै बजार व्यवस्थामा समेत सरकारी तवरबाट नै सेवा सहयोग उपलव्ध गराएमा कर्जाको सुरक्षा, लगानीको सही प्रतिफल प्राप्त हुन सक्ने देखिन्छ । ताकी राजनैतिक आडमा कागजी योजना पेश गरेर, कतै अरुको योजना देखाएर ऋण लिने, काम नगर्ने, पैसा व्यक्तिगत कार्यमा लगाउने, ऋण पनि नतिर्ने र उल्टो ऋण मिनाहा तर्पm लागेर सरकार ठग्ने प्रवृतिका व्यक्तिहरु निरुत्साहित भई कार्यक्रमहरु पूर्णरुपमा असफल हुने जोखिम रहँदैन । साथै आफ्नै देशमा युवा वर्गलाई क्षमता, योग्यता र सीप अनुसारको काम गर्न र काम अनुसारको पारिश्रमिकको ब्यवस्था गरी विदेशिएका युवा जनशक्तिलाई स्वदेशमै फर्किएर काम गर्ने वातावरण समेत राज्यले सिर्जना गर्नु पर्दछ ।

स्वदेशमै रोजगारीको अवसरहरु सिर्जना गर्ने खालका प्राविधिक ज्ञान, सीप, शिक्षा दिलाउनु अत्यावश्यक रहेको छ । एक व्यक्ति एक सीपको अवधारणा ल्याएर हरेक व्यक्तिलाई अनिवार्य रुपमा कुनै एक कृषि वा प्रविधिको विषयमा ज्ञान, सीप दिलाउन सके स्वदेश तथा वैदेशिक रोजगारमा समेत दक्ष जनशक्ति परिचालन हुन गई व्यक्तिगत तथा मुलुककै आर्थिक पक्षमा समेत ठूलो टेवा पुग्न सक्ने देखिन्छ । पहिलो कुरो नेपालका अधिकांश विद्यालयहरुमा भाषागत ज्ञान मात्र हासिल गर्ने शिक्षा प्रदान भइरहेको छ । ताकि विद्यालयस्तरबाट प्रविधि र प्राविधिक ज्ञान सीपमा आधारित शिक्षा नभएर विदेश पलायन हुने र वेरोजगार उत्पादन गर्ने शिक्षा मात्र प्रदान भइरहेको गुनासो आइरहेको छ । तसर्थ सानै कक्षबाट प्राविधिक शिक्षाको कक्षाहरु अनिवार्य रुपमा संचालन गर्न सकेमा यसरी युवावर्ग वेरोजगारी हुने अवस्था नै आउँदैन भन्न सकिन्छ । 

युवाहरु अध्ययन र अवसरको खोजीमा युरोप, अमेरिका, बेलायत, जापान लगायतका देशहरुमा जाने क्रम अत्याधिक बढेको छ । अहिलेसम्म देखिएको स्थितिले विशेष प्राविधिक ज्ञान, सीपमूलक शिक्षा हासिल गरेको देखिएको छैन । केवल विदेशमा शिक्षा र रोजगारको अवसर प्राप्त भएर उतै पलायन हुने बाहेक कुनै उपलव्धी देखिँदैन । बाबुआमा र देशले नै ठूला लगानी, कर्जा चुक्ता गरेर विदेश पठाएका युवा स्वदेश नफर्कदा देशले कर्णधार युवा र बाबुआमाले बृद्धावस्थाको साहरा गुमाउनु परेको अवस्था छ । यसर्थ जन्मदिने बाबुआमा र मातृभूमिप्रति उत्तरदायी भएर स्वदेशकै लागि केही गर्न युवाहरुलाई आग्रह गरिन्छ ।  

देश विकासमा युवावर्गको प्रमुख भूमिका र दायित्व रहन्छ भन्ने कुरा बताइरहनु पदैन । नेपाल सरकारको “सुखी नेपाली, समृद्ध नेपाल” निर्माण गर्ने राष्ट्रिय लक्ष्य पूरा गर्न सम्पूर्ण युवा शक्ति व्यापक परिचालन हुनु अनिवार्य रहन्छ । त्यसैले पनि युवावर्ग विदेशमा हैन, स्वदेशमै नीतिगत तह, राजनैतिक नेतृत्वदायी भूमिका, शैक्षिक जागर, उद्योग, व्यापार, व्यवसायका क्षेत्रहरुमा अग्रसर भएर मुलुकको समृद्धि, राष्ट्र निर्माणको लागि आधुनिक प्रविधियुक्त दक्ष जनशक्ति भएर लागि पर्नु पर्दछ । अनुशासित, स्वावलम्बी, सिर्जनशील युवा नै राष्ट्र विकासको मूल आधार हो । राष्ट्रिय पहिचान, राष्ट्रिय गौरव एवं स्वाभिमानयुक्त नेतृत्वबाट मात्र देशका सर्वसाधारण नागरिकलाई आशा, भरोसा र उत्प्रेरणा जगाउन सकिन्छ । मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक लगायत विकास निर्माणका हरेक क्षेत्रमा युवाहरुले नै नेतृत्वदायी र हस्तक्षेपकारी भूमिका निर्वाह गर्न जरुरी रहेको छ । तसर्थ, राष्ट्र निर्माणको मूल आधारशिला रहेको युवावर्ग सम्पूर्ण नागरिकको भरोसाको केन्द्रविन्दु भएर राष्ट्र विकासको भूमिका निर्वाह गर्नु अपरिहार्य भइसकेको छ । 

जनसरोकारका विविध बिषयबस्तुमा रुची राख्ने  थापा अनन्त सन्देशका नियमित स्तम्भकार हुन् ।