सार्वजनिक स्थानमा फोहरमैला बिसर्जन गर्नेलाई कारबाही गरिनेछ : नगरप्रमुख थापा

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ श्रावण २६, आईतबार




भक्तपुर । सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले सार्वजनिक स्थानहरुमा फोहोरमैला विर्सजन गर्ने तथा प्रदूषणयुक्त कार्य गर्ने व्यक्ति तथा संस्थाहरुको पहिचान गरी नियमनका साथै कानूनी कारबाही गरिने बताउनुभएको छ । 

अनन्त सन्देशसँग विशेष कुराकानी गर्दै थापाले नगर क्षेत्रको वस्तीभन्दा टाढा रहेका खुला क्षेत्र, खोच र भिरपाखाहरुमा वातावरणीय संभाव्यता अध्ययन गरी यस्ता क्षेत्रमा पूर्वाधार विकास गर्दै स्यानेटरी ल्याण्ड फिलसाईट, वाँयोग्यास प्लान्ट, जैविक मल उत्पादनको सम्भावनाको खोजीका लागि नेपाल सरकार, प्रदेश सरकार तथा वैदेशिक प्राविधिक सहयोग परिचालन गर्दै सार्वजनिक निजी साझेदारीमा कार्य गरिने बताउनुभयो । 

उहाँले भन्नुभयो, स्रोतमा नै फोहोरको वर्गीकण गरी संकलन तथा व्यवस्थापन गर्न निजी क्षेत्रसँग सहकार्य गरिनेछ ।’ 

थापाले नगर क्षेत्रमा भएका भूस्याहा कुकुर नियन्त्रण गर्न वध्याकरण शिविर सञ्चालन गरिने र  छाडा पशुहरु नियन्त्रण र घरपालुवा पशुहरु वेवारिसे छाड्ने व्यक्तिको पहिचान जरिवना गरिने समेत बताउनुभयो ।  

उहाँले वन, जैविक विविधता तथा जलाधारको दिगो र सहभागितामूलक व्यवस्थापनबाट वातावरणीय सन्तुलन र नगर स्वच्छता कायम राख्न यसको उच्चतम् उपयोगका लागि अध्ययन अनुसन्धानमा आधारित आवधिक गुरुयोजना तयार गरिने बताउनुभयो । 

थापाले भन्नुभयो, ‘नगर क्षेत्रका वनको उचित संरक्षण गर्दै खुला परती सरकारी जमीनमा फलफूल विरुवाको वृक्षहरुको वृक्षारोपण अभियानकै रुपमा सञ्चालन गरी नगर क्षेत्र हरियाली बनाइनेछ । वन विनाश प्रति सजग र सचेत गराउदै संरक्षण, विकास र प्रयोगमा आम नगरवासीको सहभागिता बृद्धि गरिनेछ । नगर क्षेत्रका वन उपभोक्ता समितिहरु नगरपालिकामा सूचीकरण गर्ने व्यवस्था मिलाइनेछ ।’ 

नगरप्रमुख थापाले वन तथा वन्यजन्तु विनाश गर्ने, वन क्षेत्रको भौतिक संरचना विगार्ने, मास्ने र अनधिकृत रुपमा वन क्षेत्रको प्रयोग गर्ने, प्राकृतिक श्रोत साधनको दोहन गर्ने व्यक्ति तथा समुदायको पहिचान गरी कानूनी दायरा भित्र ल्याइने समेत बताउनुभयो ।