स्वच्छ, सफा, हरियाली सडक प्रबद्र्धन अभियान सुरु

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ श्रावण २६, आईतबार


भक्तपुर । भक्तपुर जिल्लाका सबै सडकलाई स्वच्छ, सफा र हरियाली बनाउने उद्देश्यले भक्तपुरको बालकोटमा स्वच्छ, सफा, हरियाली सडक प्रबद्र्धन अभियान शुभारम्भ भएको छ । नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा,भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका सदस्य महेश बस्नेत, प्रदेश नम्बर ३ का सदस्य शशिजंग थापाले आ–आफ्नो नामबाट सडक पेटीमा पेन्सिल धूपीको विरुवा रोपेर यो अभियानको शुभारम्भ गर्नुभएको छ । प्रत्येक विरुवा रोप्न र संरक्षण गर्नको निम्ति बनाइएको फलामको बार सहित १ हजार ५ सय लागत लाग्ने बताइएको उक्त धूपीको विरुवा उपलब्ध गराउन आवश्यक पर्ने सम्पूर्ण लागत सार्वजनिक, निजी र सहकारीको साझेदारीमा जुटाइएको अभियानका प्रमुख सल्लाहकार शशिजंग थापाले बताउनुभयो । 

सो अभियान अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओली र राधिका शाक्य ओलीका तर्फबाट १५ वटा, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाबाट १० वटा, प्रतिनिधि सभाका सदस्य महेश बस्नेतबाट १० वटा विरुवाका लागि आवश्यक पर्ने आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता भएको छ । उक्त अभियान अन्तर्गत निजी, सार्वजनिक तथा सहकारी संस्थाहरुले समेत आ–आफ्नो क्षमताअनुसार योगदान गर्ने प्रतिबद्धता जाहेर भएको छ । हालसम्म यस अभियानमा ८ लाख रुपैयाँ संकलन भएको बताइएको छ । सुरुमा बालकोट–सिरुटार–विरुवा सडक खण्डको ६ किलोमिटर मध्ये डेढ किलोमिटर सडक पेटीमा पेन्सील धूपी रोपिएको छ भने यसलाई भक्तपुरको सबै क्षेत्रमा विस्तार गरिने बताइएको छ । 
 

अब मुलुकमापरिवर्तन हुन्छ : मन्त्री बाँस्कोटा छिट्टै
भक्तपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले अबको केही समयमा मुलुकमा परिवर्तन देखा पर्ने बताउनुभएको छ । 

भक्तपुरको बालकोटमा स्वच्छ, सफा, हरियाली सडक प्रबद्र्धन अभियान शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले मुलुकको परिवर्तन गर्ने दायित्व सबै नागरिकको भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हामी हाम्रो देशलाई धनी बनाउने चाहिँ भन्ने ? तर स्याउँ चाहिँ मुस्ताङको नभएर काश्मिरको चाहिने ? नेपालको लसुन नभएर तिब्बतको मगाउनुपर्ने ? यसरी पनि देश बनाउन सकिन्छ र ?’ मुलुक बनाउनको निम्ति सकारात्मक सोच र स्पष्ट दृष्टिकोणका साथ अगाडि बढ्नुपर्ने बताउँदै मन्त्री बाँस्कोटाले प्रधानमन्त्री स्वयंको सक्रियतामा यो बर्ष मुलुकभर ५ करोड विरुवा रोप्ने योजना बनाएको बताउनुभयो ।  

बाँस्कोटाले भन्नुभयो, ‘राजनीतिक नेतृत्वले चेतना जगाउने नै हो । प्रधानमन्त्री स्वयंले भन्नुभयो, हामी कतिको फलफूल किन्छौ, अरबौको ? त्यसो भए हामी फलफूलको बोट बाटोमा पनि किन नलगाउने ? सोही मुताविक देशभर विरुवा रोप्ने योजना अगाडि सारिएको हो ? कुनैपनि परिवर्तनका निम्ति कसै न कसैले त अग्रसरता देखाउनु नै पर्छ नि ।’

मानिस अत्यन्तै स्वार्थी भएको बताउँदै मन्त्री बाँस्कोटाले कुनै पनि विकास निर्माणका कार्यमा जसले अवरोध सिर्जना गर्दछ, उसैले विकास भएन भनेर विरोध गर्ने गरेको बताउनुभयो । बाँस्कोटाले भन्नुभयो, ‘मान्छे अहिले निकै स्वार्थी भएको छ । मान्छे अरुलाई गाली गर्छ । अझ सबैभन्दा बेसी सरकारलाई गाली गर्छ ? बाटो पहिला आफू अतिक्रमण गर्न उ चम्किन्छ । अनि सरकारले बाटो ठूलो बनाएन पनि भन्छ । त्यसपछि धेरै झोंक चल्यो भने उसले छिमेकमा पल्लो घरलाई सराप्न थाल्छ ।’

उहाँले जबसम्म नकारात्मक सोच र चिन्तनबाट माथि उठ्न सकिँदैन, तबसम्म कुनै पनि कुराको सही गन्तव्यमा पुग्न नसकिने बताउँदै सबैले योगदान नगर्ने हो भने विकास सम्भव नभएको बताउनुभयो ।

विकास भनेको पृथ्वी र मान्छेका लागि भएको बताउँदै मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘हामीले जे विकास गर्छाै त्यो पृथ्वी र मानव जातिका लागि गर्नुपर्छ । चाहे तपाई प्राकृतिक वा आधुनिक हिसाबले नै किन नहोस्, जुनसुकै कुराको विकास गर्छाै भने त्यसको मूल प्रभाव भनेको पृथ्वी र मानव जातिको हितको निम्ति हुन्छ ।’ 
अहिले विश्वमा बढ्दै गएको औद्योगिकरणसँगै हिमाल पनि पग्लिँदै गएको बताउँदै बाँस्कोटाले हाम्रो हिमाली क्षेत्रको हिँउले मात्र अहिले ३ अर्ब मानिस बाँच्ने तथ्य रहेको बताउनुभयो । अहिले भारतको करिब १ अर्ब, २० करोड पाकिस्तानको झण्डै १६ करोड, वंगलादेशको १४ करोड, नेपालको ३ करोडको संख्यामा मानिसहरु हिमाली क्षेत्रको हिउँबाट बाँच्ने गरेको बाँस्कोटाले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हाम्रो पृथ्वीमा डाइनोसर्स लोप भएको जस्तो अवस्था भोलिका पुस्ताले भोग्नु नपरोस् । यसको निम्ति विकासलाई मानव जीवनसँग पनि जोड्नु जरुरी छ ।’