जनताको अपेक्षामा परिवर्तन भएको छ : सांसद बस्नेत

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ श्रावण २६, आईतबार


भक्तपुर । प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले भक्तपुरबासीको माग अब सडक, ढल र बाटोको विकासमा मात्र सीमित नरहेका बताउनु भएको छ ।  

भक्तपुरको बालकोटमा स्वच्छ, सफा, हरियाली सडक प्रबद्र्धन अभियान शुभारम्भ कार्यक्रममा बोल्दै सांसद बस्नेतले हिजो भक्तपुरको विकास हामीलाई सडक, ढल र बाटो चाहियो भन्ने माग जनताको हुन्थ्यो भने अबको केही बर्षमा भक्तपुरवासीका लागि सडक र खानेपानी मागको बिषय नबन्ने बताउनुभयो । 

बस्नेतले भन्नुभयो, ‘भक्तपुरबासीको हिजोको मागमा परिवर्तन भएको छ । अब यहाँको मागको बिषय भनेको आफ्नो क्षेत्रमा हरियाली चाहियो, वातावरण स्वच्छ हुनुप¥यो, पार्क निर्माण हुनुप¥यो, खेलकूद परिष्द निर्माण हुनुप¥यो भन्ने जस्ता मागहरु प्रमुख हुने गरेका छन् ।’

उहाँले भक्तपुरमा राज्यको शून्य लगानीमा विभिन्न खालका विकास निर्माणका कार्यहरु अगाडि बढिरहेको बताउँदै हनुमन्ते नदी सरसफाइ अभियानको यसको एउटा उदाहरण भएको बताउनुभयो । राज्यको लगानी बिना पनि थुप्रै विकास निर्माणका कार्यलाई अगाडि बढाउन सकिने भएकाले यस्ता अभियानको सार्थकता बढी रहेको बताउनुभयो । 

आफूहरुले हनुमन्ते सरसफाइ अभियानसँग विकास, सरसफाइ र राजमार्गको सौन्दर्यलाई पनि सँगै अगाडि बढाएको बताउँदै उज्यालो र सुरक्षित राजमार्ग बनाउने अभियान अहिले भक्तपुरमा चलिरहेको बस्नेतले बताउनुभयो ।

विकास निर्माण भनेको राजनीतिकर्मी, समाजका विभिन्न क्षेत्रका व्यक्ति तथा निकाय, सुरक्षा निकाय, नेपाली सेना लगायतको सहकार्यमा मात्र सम्भव भएको बताउँदै भक्तपुरमा यो अभियानमा नमूना सहकार्य भएको बताउनुभयो । 

भक्तपुरलाई समृद्ध बनाउने अभियान स्वरुप विभिन्न चरणमा विभिन्न खालका रचनात्मक कार्यलाई निरन्तरता दिइएको बताउँदै सांसद बस्नेतले गरिबी र अभावमा कुनैपनि सिर्जनात्मक र रचनात्मक कार्यलाई अगाडि बढाउन नसकिने बताउनुभयो । 

विगतमा जुनसुकै कार्य सम्पन्न गर्नको निम्ति सरकारको मुख ताक्ने प्रबृत्ति विद्यमान भएतापनि अहिले नागरिकको सहकार्यमा पनि धेरै कार्य अगाडि बढिरहेको बस्नेतले बताउनुभयो । 

केही छिटफुट रुपमा भक्तपुरका सामाजिक सञ्जाल प्रयोगकर्ताले अझैपनि नकारात्मक टिप्पणी गर्ने गरेको भएतापनि समग्रमा भक्तपुरका सञ्चार माध्मले सकारात्मक ढंगले समाचार सम्प्रेषण गर्ने गरेको बताउँदै बस्नेतले भन्नुभयो, ‘भक्तपुरलाई सञ्चार माध्यमहरुले आम रुपमा सकारात्मक भूमिका खेल्दै आएको छ । राम्रो कामको प्रशंसा हुने र नराम्रा कुराको आलोचना हुने कुरा गर्दै आएका छन् । यो उन्नत चेतना हो भन्ने मलाई लाग्छ ।’

भक्तपुर अहिले समृद्धिपथमा अगाडि बढिरहेको बताउँदै सांसद बस्नेतले अबको दिनमा भक्तपुरलाई हरियाली बनाउनको निम्ति नगरपालिकाले पनि प्रत्येक नगरबासीका निम्ति अनिवार्य रुपमा रुख रोप्ने व्यवस्था मिलाउनुपर्ने धारणा राख्नुभयो । बस्नेतले भन्नुभयो, अबको १५ बर्षभित्र भक्तपुरलाई जंगलले छोपिदिउँ । पानी पर्दा हामी भक्तपुरको सडकमा हिँड्दा हामी छाता लिएर हिड्नू नपरोस् ।’