सार्वजनिक, निजी र सहकार्यको साझेदारी आवश्यक : प्रदेश सांसद थापा

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ श्रावण २७, सोमबार



भक्तपुर । प्रदेश नम्बर ३ का सदस्य शशिजंग थापाले सार्वजनिक, निजी र सहकारीको साझेदारीमा समृद्ध भक्तपुर बनाउने अभियान अगाडि बढेको बताउनुभएको छ ।

भक्तपुरको बालकोटमा स्वच्छ, सफा, हरियाली सडक प्रबद्र्धन अभियान शुभारम्भ कार्यक्रममा बोल्दै सांसद थापाले कुनैपनि विकास निर्माणको निम्ति राज्यको मात्र मुख नताकी सार्वजनिक, निजी, सहकारी संस्थाहरुको साझेदारीमा भक्तपुरलाई हरियाली प्रबद्र्धन गर्ने अभियान सुरु गरिएको बताउनुभयो । 

अभियानका मुख्य सल्लाहकार समेत रहनुभएका थापाले बालकोटदेखि सिरुटार हुँदै विरुवा सडक छेउमा पेन्सिल धूपीको विरुवा रोप्ने योजनाको शुभारम्भ भएको बताउनुभयो । 

अहिले विश्वमा प्रकृति र मानवबीच द्वन्द्व चर्किएको बताउँदै सांसद थापाले यसैका कारण पृथ्वीमा मानव जातिका निम्ति थुप्रै चुनौती खडा भएको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले ४५ प्रतिशत बन जंगलले ओगट्दा पनि, हामी प्रदुषित हावा लिएर बस्न बाध्य भएका छौं । यो गम्भीर बिषय हो । जसका निम्नि हामी सम्पूर्ण मानव जाति संवेदनशील हुनै पर्दछ ।’

यो बर्ष नेपाल सरकारले अगाडि सारेको ५ करोड विरुवा रोप्ने योजनालाई सार्थक बनाउन आफूहरुले हरियाली प्रबद्र्धन सडक अभियानलाई अगाडि बढाएको बताउँदै थापाले अहिले बालकोटबाट सुरु भएको यो अभियान सिङ्गो जिल्लाभरि नै अगाडि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आज सूर्यविनायक नगरपालिकाको पश्चिम प्रवेशद्वारमा डेढ किलोमिटर सडकमा वृक्षारोपण गर्ने कार्य अगाडि बढेको छ । हामी सूर्यविनायक नगरपालिकाभित्रका सबै राजमार्गमा फुटपाथ बनेका ठाउँमा यस्तै खालका वृक्षारोपण गर्नेछौ ।’ 

यो अभियानलाई भक्तपुरको मात्र अभियान नबनाएर उपत्यकाभित्रकै नमूना शहर निर्माण गरी फैलाउने दायित्व हाम्रो काँधमा रहेको बताउँदै सांसद थापाले यो अभियानमा सार्वजनिक, निजी र सहकारी संस्थाको उत्साहपूर्ण सहभागिता रहेको बताउनुभयो । 

बालकोट नेपालमा मात्रै होइन, यूरोपमा पनि चर्चाको बिषय भएको बताउँदै थापाले भन्नुभयो, ‘यस क्षेत्रमा ठूला ठूला राजनीतिज्ञ, प्रशासक लगायतकाव्यक्तिहरु बसेका छौं भने यसलाई राम्रो र सुन्दर बनाउन किन सक्दैनौ ? हाम्रो ठाउँ बनाउनलाई भारत र चीनको मुख ताकिरहनु पर्छ र ? हाम्रो इच्छाशक्ति भयो भने भारत र चीनको जस्तो राम्रो शहर हामी यही बनाउन सक्छौं ।’ 

सूर्यविनायक नगरपालिकालाई नमूना नगरपालिका निर्माण गर्ने अभियानमा आफूहरु लागिपरेको बताउँदै प्रदेश सरकारको ७० लाखको लागतमा वडा नम्बर ४ स्थित दक्षिण बाराहीमा पार्क, नगरकोट र अनन्तलिङ्गेश्वरमा डेड करोडको लागतमा भ्यू टावर निर्माण कार्य अगाडि बढेको थापाले बताउनुभयो । 

स्थानीय विकासका निम्ति सबैसँग साझेदारी गरेर अगाडि बढ्न सक्ने बताउँदै थापाले भन्नुभयो, ‘हामी सबैको साझेदारीमा हरियाली प्रबद्र्धन गर्न सक्छौ । यसको निम्ति राज्यको लगानी जरुरी छैन । राज्यको लगानीमा हामी पूल, खानेपानी तथा बाटो निर्माणका कार्यलाई अगाडि बढाऔला ।’

भक्तपुरको विकासमा संघ, प्रदेश र स्थानीय तहको सहकार्य र समन्वयमा प्रभावकारी कार्य भएको बताउदै यहाँका खानेपानी, बाटो लगायतका क्षेत्रमा हामी तीनवटै सरकार मिलेर काम गरिरहेको थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पूर्वाधार निर्माणमा मात्रै महत्वपूर्ण कुरा होइन, यो ठाउँमा बस्न लायक कसरी बनाउने भन्नेमा महत्वपूर्ण कुरा हो । उपत्यकाका सबैभन्दा राम्रो नगरपालिका भनेको सूर्यविनायक नगरपालिका हो भन्ने सन्देश दिन चाहिरहेका छौं ।’ 

प्रत्येक घरमा २ वटा विरुवा रोपिनेछ : जुना बस्नेत

भक्तपुर । सूर्यविनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेतले नगरपालिकाभित्र प्रत्येक घरमा २ बोट विरुवा रोप्नको निम्ति अनिवार्य व्यवस्था गरिएको बताउनुभएको छ । बस्नेतले नगरपालिकालाई सुन्दर, हरियाली र वातावरणमैत्री बनाउनको निम्ति सबै नगरबासीलाई आग्रह गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले विगत डेड बर्षदेखि हनुमन्ते नदी सरसफाइ अभियान चलाइरहेका छौं । यसले नदीको सरसफाइको साथसाथै राजमार्ग, मठमन्दिर, पाटी पौवा र सार्वजनिक स्थानहरुको संरक्षण र सरसफाइलाई समेत ध्यान दिएको छ ।’

बस्नेतले नगरपालिकालाई हरियालीयुक्त बनाउनको निम्ति अहिले लगाइएको विरुवाको उचित संरक्षण गर्नुपनि उत्तिकै जरुरी रहेको बताउनुभयो ।