अब विकासले भक्तपुरलाई खोज्न थालेको छ : सांसद बस्नेत

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ श्रावण २७, सोमबार



भक्तपुर । भक्तपुरलाई उज्यालो बनाउने अभियानको सुरुवात सूर्यविनायक नगरपालिका वडा नम्बर ७ बाट सुरु भएको छ । प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले यो अभियान अन्तर्गत वडा नम्बर ७ मा जडित सौर्य बत्ती उद्घाटन गरेर यसको शुभारम्भ गर्नुभएको हो । 

कार्यक्रममा बोल्दै सांसद बस्नेतले हिजो भक्तपुर विकास खोज्दै विभिन्न ठाउँमा धाउथ्यो भने अहिले विकासले भक्तपुरलाई खोज्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भक्तपुरको विकासको प्रभाव देखेर नै विभिन्न सहयोगीहरुले हामीलाई खोज्दै आउन थाल्नुभएको छ । गुण्डूमा जडित सौर्य बत्ती यसको उदाहरण हो । 
उहाँले नेपालमा सम्पन्न भएको लगानी सम्मेलनका बेला चिनियाँ कम्पनीसँग भएको अनौपचारिक सम्वादले औपचारिक स्वरुप लिँदा भक्तपुरलाई उज्यालो बनाउने अभियानको सुरुवात भएको बताउनुभयो । 

विगतमा धेरै बर्षदेखि लोडसेडिङ लगायतका विभिन्न कारणले अँध्यारोमा बस्न बाध्य यहाँका बासिन्दाका निम्ति सधैं तिहारको दिपावली जस्तो उज्यालो दिएको बताउँदै सांसद बस्नेतले प्रधानमन्त्री रोजगार कार्यक्रममा १ महिनासम्म लाग्नुभएको युवाहरुले स्वयंसेवी रुपमा बत्ति जडान कार्यमा लागेको धन्यवाद ज्ञापन गर्नुभयो । 

पहिलो चरणमा भक्तपुरको वडा नम्बर ७ स्थिति गूण्डू चोकबाट खहरे बसपार्कसम्म करिब २ किलोमिटरमा सौर्य बत्ती जडान गरिएको बताउँदै सांसद बस्नेतले यो कार्यलाई जिल्लाका विभिन्न क्षेत्रमा समेत छिट्टै विस्तार गरिने बताउनुभयो । 

भक्तपुरलाई उज्यालो बनाउने अभियानसँगै हरियाली प्रबद्र्धन गर्ने कार्यसमेत सुरुवात भइसकेको बताउँदै बस्नेतले छिट्टैै पाण्डू बजारदेखि यो कार्यलाई अगाडि बढाइने समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो क्षेत्रलाई हरियालीयुक्त शहर बनाउनु जरुरी छ । टाढाबाट हेर्दा तिम्रो घर कहाँ पर्छ भन्दा मेरो घर त्यही हरियो डाँडामुनि हो भन्न सकौं ।’ 

अहिले पनि उपत्यकाभित्रकै कम प्रदुषण भएको क्षेत्रभित्र गूण्डू पर्ने बताउँदै बस्नेतले हरियाली प्रबद्र्धन गरेपश्चात यहाँको तापकक्रम पनि व्यवस्थापन हुनुको साथै प्रदुषण पनि कम हुने बताउनुभयो । बस्नेतले भन्नुभयो, ‘दिल्लीमा हरियाली प्रबद्र्धन गर्दा त्यहाँको तापक्रम ३ डिग्री घट्यो भने दुवइमा पानी पर्न थाल्यो । गुण्डूमा हिजो मर्निङ गर्ने भन्ने परिचित थियो अब इभिनिङ वार्क पनि गर्ने क्षेत्रको रुपमा विकसित भएको छ ।’

 

कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष रविन्द्र सापकोटाले नगरपालिकालाई उज्यालो बनाउने  अभियान अन्तर्गत यो कार्यक्रम अगाडि सारिएको बताउनुभयो । 

चिनियाँ कम्पनी ग्यान्सू नेचूरल इनर्जी रिसर्च इन्स्टिच्यूट र वडा नम्बर ७ बीच भएको सम्झौता बमोजिम कम्पनीको सहयोगमा २२ लाख लगानीमा सडकमा सौर्य बत्ती जडान गरिएको सापकोटाले बताउनुभयो । 

आफ्नो ठाउँलाई सभ्य र विकसित शहरको रुपमा विकास गर्ने उद्देश्यले यो अभियानलाई प्रारम्भ गरिएको बताउँदै सापकोटाले बत्ती जडित सडकको सरसफाइ गर्दै यसलाई हरियाली बनाउने अभियान समेत अगाडि बढाइने बताउनुभयोे ।