पत्रकारिता रचनात्मक हुनु जरुरी छ : सांसद बस्नेत 

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ भाद्र २, सोमबार


भक्तपुर । प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले लोककल्याणकारी राज्यमा पत्रकारिता रचनात्मक हुनुपर्ने बताउनुभएको छ । बस्नेतले अहिलेपनि कतिपय अवस्थामा पत्रकारिता स्थायी प्रतिपक्ष जस्तो भएको बताउनुभयो । 

भक्तपुरबाट प्रकाशित हुने अनन्त सन्देशको तेश्रो बार्षिकोत्सवमा आयोजित संघीयता कार्यान्वयनमा सूर्यविनायक नगरपालिकाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद बस्नेतले हिजोको राज्यसँगको अन्तरविरोध र राज्यले अन्याय, अत्याचार गरेको अवस्थामा पत्रकारिताले प्रतिपक्ष बन्नु स्वभाविक भएपनि अहिले रचनात्मक हुनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘कुनैपनि राज्य स्वयंले अन्याय अत्याचार र शोषण र दमन गरेको अवस्थामा पत्रकारिता स्थायी प्रतिपक्ष हुन सक्दछ । तर आजको लोकतान्त्रिक पद्धति अपनाएको र लोककल्याणकारी व्यवस्थालाई अवलम्बन गर्दै समृद्ध नेपाल र सुखी नेपालीको कार्यभार सम्हालेको राज्यको पत्रकारिता स्थायी प्रतिपक्ष हुनु हुँदैन ।’  

नेपाली ठूला सञ्चार माध्यमले समेत कतिपय अवस्थामा गलत मान्यतालाई आत्मसाथ गरेर जनतामा ठूला–ठूला भ्रम सिर्जना गरेको बताउँदै समाजमा सकारात्मक सन्देश प्रवाह गरेर पनि जनता र पाठकको मन जित्न सकिने बताउनुभयो । उहाँले भक्तपुरको पत्रकारिताले सकारात्मक सन्देश प्रवाह गरेर सम्पूर्ण पत्रकारिता जगतलाई अनुकरणीय सन्देश दिएको समेत बताउनुभयो । 

संघीयताका बिषयमा अझैपनि केही भ्रम बाँकी नै रहेको बताउँदै सांसद बस्नेतले संघीयता साध्य नभइ साधन मात्र भएको बताउनुभयो । उहाँले २०६२/०६३ को आन्दोलनको मेन्डेट भनेको गणतन्त्र, संघीयता र समावेशी लोकतन्त्रलाई संस्थागत विकास गर्ने भन्ने नै भएको बताउनुभयो । बस्नेतले कतिपय सामाजिक अभियन्ताहरुले यसलाई गलत ढंगले बुझ्ने गरेको बताउनुभयो । 

बस्नेतले गणतन्त्र भनेको पूर्व राजालाई नारायणहिटीबाट हटाउनुमात्र नभएको बताउँदै यसको संस्थागत र स्थायी लक्ष्य भनेको पूँजीवाद हुँदै समाजवादको स्थापना गर्नु भएको बताउनुभयो । कतिपय जनप्रतिनिधिहरुमा अझैपनि सामन्तवादको अवशेष बाँकी रहेकाले जनतामा केही गुनासो आएको बताउँदै सांसद बस्नेतले यस्तो प्रबृत्तिको अन्त्य आवश्यक भएको बताउनुभयो । 

संघीयता र गणतन्त्र भनेको यसको कार्यान्वयनको बिषयसँग पनि प्रत्यक्ष रुपमा जोडिने भएकाले स्थानीय तहले अझ जिम्मेवार भएर यसको कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्नपर्ने बस्नेतले बताउनुभयो । 

संघीयताको मर्म भनेको विगतको सिंहदरबारको अधिकारलाई जनतासम्म पु¥याउने, श्रोत, साधन र अधिकारलाई जनतासम्म पु¥याउने अवधारणा भएको बताउँदै बस्नेतले स्थानीय तहले यस्ता बिषयमा आफ्ना गतिविधिका मार्फतबाट पुष्टी गर्नुपर्ने बताउनुभयो । 

संघीयताका विभिन्न मोडल संसारका विभिन्न देशमा प्रयोगमा आइरहेको बताउँदै नेपालको वर्तमान संघीयता एक अर्कामा समन्वय गर्ने संघीयता भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको हाम्रो संघीयता स्वायत्त संघीयता होइन । अलिहेको नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार भनेको एक अर्कालाई वास्ता नगर्ने सरकार होइन । यो त एक अर्कासँग समन्वय, सहकार्य र सहयोग गर्ने संघीयता हो ।’

कतिपय स्थानीय सरकारले अनावश्यक कर उठाएको भन्ने बिषयमा गलत भ्रम फैलाइएको बताउँदै बस्नेते सरकारले कुनैपनि क्षेत्रमा कर नबढाएको बताउनुभयो । अहिले नेपालको अर्थतन्त्र धेरैजसो अनौचारिक रुपमा विद्यमान रहेको बताउँदै यसलाई औचारिक रुपमा सरकारले समेट्नुपर्ने बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले हामी सबैको बैंक खाता छ कि छैन, बैंक खाता खोल्नुस्, सय रुपैयाँ खातामा राखिदिन्छौ भनेर सरकारले भन्यो तर हामी यसलाई वास्ता गर्दैनौं । हामी मध्ये कतिले घर बहाल लगाएका छौं, त्यसको अभिलेख छैन । यसलाई व्यवस्थित गर्न खोज्दा कर बढ्यो भन्नु गलत मनसाय मात्र हो ।’ 

अहिले जनताको विकासका माग भनेको सडक, ढल र खानेपानी नै प्रमुख भएको बताउँदै सांसद बस्नेतले जनताको आवश्यकता र चेतनाको स्तरअनुसार विकास दिनुपर्ने राजनीतिकर्मीको बाध्यता भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनताको चाहना र चेतनाअनुसार विकास दिनु हाम्रो बाध्यता हो, किनकी ५ बर्षपछि हामी फेरि जनताको बीचमा जानुपर्छ ।’

समाजमा आलोचनात्मक चेतना हावी भएको बताउँदै सांसद बस्नेतले समाज विकास गर्नको निम्ति आलोचनात्मक चेनताले मात्र काम गर्न नसक्ने धारणा राख्नुभयो । उहाँले अहिले सबैको आवेग र आलोचना गर्ने व्यक्ति भनेको जनप्रतिनिधि भएको बताउनुभयो । बस्नेतले भन्नुभयो, समाज विकास गर्न अरुको आलोचना गरेर मात्र सम्भव होला त ? आलोचना गर्नेहरुले आफ्नो जिम्मेवारीबा पन्छिन मिल्छ र ? ’
 

सोही कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले जनप्रतिनिधि जनताको सेवामा समर्पित हुने प्रतिबद्धताका साथ निर्वाचित भएकाले जनताप्रति पूर्ण रुपमा जिम्मेवार र जवाफदेही हुनुपर्ने बताउनुभयो । 

आफूहरु संविधानले व्यवस्था गरेको ऐन कानुन अनुसार स्थानीय तहमा पनि जिम्मेवार भएर लागिपरेको बताउँदै संघीयता लागू गर्ने निकाय भनेको स्थानीय तहनै भएकाले स्थानीय तहले महत्वपूर्ण भूमिका खेल्नुपर्ने थापाले बताउनुभयो । 

उहाँले सूर्यविनायक नगरपालिकाले हालसम्म ३७ वटा कानुनहरु निर्माण गरिसकेको बताउँदै विदेश भ्रमणमा जाने भन्दा पनि जनताको सेवा नै आफ्नो मूख्य जिम्मेवारी भएको बताउनुभयो । उहाँले घमण्डले नाश गर्ने बताउँदै सवै जनप्रतिनिधि, राजनीतिक दल तथा जनताहरु एक ढिक्का भई अघि बढे विकास र समृद्धि हासिल गर्न धेरै समय नलाग्ने बताउनुभयो ।
 

कार्यक्रमा सूर्यविनायक नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष एवं नगरपालिका भौतिक पूर्वाधार समितिका संयोजक रविन्द्र सापकोटाले नगरपालिकाले संघीयताको मर्मअनुसार आफ्ना नियमित गतिविधिहरुलाई अगाडि बढाइरहेको बताउनुभयो । उहाँले संघीयता कार्यान्वयनमा स्थानीय तहको महत्वपूर्ण भूमिका हुने भएकाले जनप्रतिनिधिहरु जिम्मेवार हुनुपर्नेमा कुनै शंका नरहेको बताउनुभयो ।