बजेट अभावमा भक्तपुरको विकास रोकिँदैन : सांसद बस्नेत

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ भाद्र ४, बुधबार


भक्तपुर । आर्थिक अभावमा धेरै निर्वाचन क्षेत्रमा अपेक्षाकृत विकास हुन नसकेको भन्ने गुनासो आइरहेका बेला आर्थिक अभावमा भक्तपुरको विकास नरोकिने प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले बताउनुभएको छ । बस्नेतले भक्तपुरमा अत्याधुनिक चिकित्सा शिक्षा प्रतिष्ठान, अन्तर्राष्ट्रिय स्तरको खेलमैदान लगायत दर्जनौ राष्ट्रिय स्तरका योजना निर्माण प्रक्रिया अगाडि बढेको बताउनुभयो । 

सूर्यविनायक नगरपालिका वडा नम्बर १० स्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ, जिल्ला आयोजना इकाइ भक्तपुद्वारा निर्माण गरिएको बालशिक्षा आधारभूत विद्यालयको नवनिर्मित ४ कोठे भवन उद्घाटन गर्दै सो बताउनुभएको हो । 

भक्तपुरको विकास निर्माणको अग्रगति देखेर विभिन्न सहयोगी हातहरुले समेत उत्साहपूर्ण ढंगले जिल्लाको विकासमा साझेदारी गर्न थालेको बताउँदै कुनैपनि विकास निर्माणमा अब आर्थिक अभाव नहुने उहाँले बताउनुभयो । बस्नेतले भन्नुभयो, ‘परिवर्तन जनताको चाहना, आवश्यकता र स्रोत साधनको उपलब्धतालाई सन्तुलन गर्नु नै भक्तपुरको विकास हुनु हो ।’

भूकम्प पछि भक्तपुरमा विद्यालय, मठमन्दिर, निजी आवासका भवन निर्माण लगायतका क्षेत्रहरुको पूनःनिर्माण कार्य देशकै लागि उदाहरणीय बनेको बताउँदै सांसद बस्नेतले यसका कारण भक्तपुरमा नागरिक तहमा पनि चेतनाको स्तरमा उच्च बृद्धि भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘भक्तपुरको विकासमा भुमकम्प अघि आउने मानिसले अहिले आउँदा छुट्याउन समेत नसक्ने गरी तीब्र गतिले अगाडि बढेको छ । यसको उदाहरण, सूर्यविनायक नगरपालिकाले आफ्नो स्रोत साधनलाई व्यवस्थित तवरले परिचालन गरेको, जनसहभागितामूलक विकासको योजना जसमा ६०–४०, समपूरक योजनालगायतका धेरै उत्कृष्ट कार्य गरिरहेको छ । जसमा जनताको साथ र सहयोग नै विकासको उच्चतम प्रतिफल हो ।’

भक्तपुरको जनप्रतिनिधिको लगाव र इमान्दारिता नै अहिलेको उपलब्धी, विकास तथा जनताको चाहना पूरा हुँदै गएको बताउँदै बस्नेतले आफ्नो कार्यकालभरिमा आफ्नो क्षेत्रका अधिकांश सडकहरु निर्माण भइसक्ने बताउनुभयो । बस्नेतले भन्नुभयो, ‘अबको तीन चार वर्षपछि १०–१५ लाखका कामको माग होला तर करोड भन्दा माथिका माग कम हुने दिन आउँछ । त्यसको लागि सवैले हातमा हात काँधमा काँध मिलाएर अघि बढ्नुपर्छ ।’

भक्तपुरमा २२ वटा विद्यालय, ६ वटा अस्पताल निर्माण भइसकेको जानकारी गराउँदै सांसद बस्नेतले अबको शिक्षा सैद्धान्तिक भन्दा पनि व्यवहारिक हुनुपर्ने बताउनुभयो । 
 

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले नगरपालिकामा भइरहेको सडक, ढल, शिक्षा, स्वास्थ्य लगायतमा उल्लेखनीय प्रगति भएको बताउनुभयो । उहाँले जनताको साथ र सहयोग नै सूर्यविनायकको विकास भएको बताउँदै सीमित व्यक्तिले विरोध गर्दैमा नगरपालिकाको विकास नरोकिने बताउनुभयो ।

कूल ६९ लाख ६९ हजार ६ सयको लागतमा विद्यालयको भवन निर्माण सम्पन्न गरिएको थियो ।