भरतपुरमा ५ जना भन्दा बढी भेला हुन रोक आदेश

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ भाद्र ९, सोमबार


काठमाण्डौ । सञ्चारकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा प्रदर्शन बढ्न थालेपछि चितवनमा ५  जनाभन्दा बढी भेला हुन नपाउने गरी प्रशासनले आदेश जारी गरेको छ ।  

११ दिनअघि प्रहरीले पक्राउ गरेका लामिछानेका समर्थकहरुको भीड अनियन्त्रित हुने देखेपछि प्रशासनले जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी र अदालत आसपासमा पाँच जना बढी भेला हुन नपाउने आदेश जारी गरेको हो । 

चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आइतबार साँझ जारी गरेको आदेशमा पूर्वमा भरतपुर बाइपास सडकको आन्तरिक राजश्व कार्यालयदेखि घरेलु कार्यालय चोकसम्म, पश्चिममा चौबिसकोठी क्षेत्रको पूर्व–पश्चिम राजमार्गमा पर्ने सप्तगण्डकी अस्पताल चोकसम्म प्रशासनले पाँचजना भन्दा बढी भेला हुन रोक लगाएको छ ।

त्यसैगरी राजश्व कार्यालयचोकदेखि पश्चिम भरतपुर अस्पताल चोक, पुरानो मेडिकल कलेज चोक, नारायणी मावि चोक र कृषि ज्ञान केन्द्र चोक हुँदै चौबिस कोठी क्षेत्रमा पनि यस्तो निषेध कायम रहने छ । 
यस्तै, घरेलु कार्यालय चोकदेखि पश्चिम दूरसञ्चार सडक हुँदै सप्तगण्डकी अस्पताल र पूर्व–पश्चिम राजमार्गसम्म पनि प्रशासनले पाँचजना भन्दा बढी भेला हुन नपाउने आदेश गरेको हो ।

‘न्यायिक हिरासतमा रहेका न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता लामिछाने लगायतको रिहाइ माग गर्दै प्रदर्शनमा उत्रिएकाबाट भरतपुर–१० मा मुद्दाको अनुसन्धान, अभियोजन र न्यायिक निरुपण गर्ने निकायहरुको क्षेत्रमा हुलदंगा र अशान्ति हुन सक्ने देखेर आदेश जारी भएको हो’ प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।