‘कवाडी मात्र होइन, देशकै फोहर टिपेर फ्याक्नोस्’, खरेल

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ भाद्र ९, सोमबार


काठमाण्डौ । नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक रमेश खरेलले कवाडी मात्रै होइन देशकै फोहर टिपेर फाल्न कवाडी व्यवसायीहरुलाई आग्रह गरे । शनिबार काठमाडौँको बालाजुमा सम्पन्न नेपाल कवाडी मजदुर व्यवसायी संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै पूर्व नायव महानिरीक्षक खरेलले देशमा भएका विसंगती, विकृतिहरुलाई पनि सफागर्ने कार्यमा लागि पर्न कवाडी व्यवसायीहरुलाई आग्रह गरेका हुन् ।

‘देश सफा, स्वच्छ, सुन्दर हुन तपाईंहरुको ठूलो हात छ’ उनले भने, ‘यो सँगै तपाईंहरुलाई अर्को पनि जिम्मेवारी थपिएको छ । तपाईंहरुले यहाँ भएका विसंगती, विकृतिहरुलाई पनि सफा गर्नुपर्छ । तपाईंहरु यसमा पनि सहभागी हुनुहोस् ।’ देशमा भएका विकृति विसङ्गति, भ्रष्टाचार, अपराध नियन्त्रणमा पनि कवाडी व्यवसायीहरुको योगदान हुनुपर्ने उनले बताए । उनले भने, ‘अब कवाडी टिप्ने मात्रै होइन देशको हरेक प्रकारको फोहर पनि टिपेर फाल्न लागि पर्नुहोस् ।’

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका खरेलले कवाडी व्यवसायीहरुले देशकोलागि ठूलो बलिदान र योगदान गरेको उल्लेख गरे । आफूले २९ वर्ष नेपाल प्रहरीमा जागिर खाँदा कवाडी व्यवसायीसँग नियमित भेटघाट, छलफल र सहकार्य गरेको उल्लेख गर्दै भविष्यमा पनि यसलाई आफूले निरन्तरता दिने बताए । व्यवसायीको साथमा संघ छ र संघको साथमा म छु भन्दै खरेलले देशको नागरिकको हैसियतले के दिन सकिन्छ इमान्दारीपूर्वक दिन पनि व्यवसायीहरुलाई आग्रह गरे ।

त्यसको लागि आफू पनि सक्षम र अनुशासित हुनु पर्ने खरेलले उल्लेख गरे । नेपालको संविधान र कानुनले के अधिकार दिएको छ त्यो बुझ्न जरुरी रहेको बताउँदै उनले आफ्ना कर्तव्य पनि भुल्न नहुने उल्लेख गरे । 

कवाडी व्यवसायीलाई आफूले उच्च दर्जाको नागरिक ठानेको उनले बताए । यो देशको नागरिक र देशका कुनाकुना पुगेको नागरिकको हैसियतले आफूले देखेको, बुझेको, जानेको कुरा नेपाल प्रहरीलाई सेयर गरेर सहकार्य गर्न पनि उनले आग्रह गरे । आफू हाल नेपाल प्रहरीमा नभए पनि एक नेपाली नागरिकको हैसियतले कवाडी व्यवसायीहरुलाई सहयोग गर्न तत्पर रहेको खरेलले बताए ।
साधारण सभामा नेपाल कवाडी मजदुर संघको काठमाडौँ जिल्ला समिति र गंगबु र कालिमाटी क्षेत्रीय समिति पनि गठन गरिएको थियो ।