अदालतद्वारा रवि लामिछानेसँग ५ लाख धरौटी माग : मुद्दाका बारेमा सार्वजनिक रुपमा बोल्न रोक

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ भाद्र ९, सोमबार


काठमाण्डौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन मुद्दा खेपिरहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसँग अदालतले ५ लाख धरौटी माग गरेको छ । लामिछानेसँगै पत्रकार युवराज कँडेल ३ लाख धरौटी तथा अर्की अभियुक्त अस्मिता भनिने रुकु कार्कीलाई भने साधारण तारेखमा रिहा गरेको छ । 

सोमबार दिनभर जिल्ला अदालत चितवनमा थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको एकल इजलासले लामिछानेसँग ५ लाख, कँडेलसँग ३ लाख धरौटी माग गरेको थियो । यो सँगै रवि र युवराजलाई यो मुद्दाको बारेमा सार्वजनिक रुपमा बोल्न समेत रोक लगाएको छ । मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म मुद्दाका अनुसन्धानमा संलग्न प्रहरी, अभियुक्त, वकिल, मुद्दाका पक्षहरुसँग टेलिभिजन कार्यक्रम चलाउन, फेसबुक लाइभ, ट्वीटर लगायतमा विचार र प्रतिक्रिया दिन समेत रोक लगाइएको छ । 

गत श्रावण ३० गते लामिछानेले सञ्चालन गरेको कार्यक्रम सिधा कुरामा कार्यरत पूर्व पत्रकार पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा उनीसहित कँडेल र कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो । 

उनीहरुविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा चलाइएको छ । गत सालको भाद्र १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको दफा १८५ अनुसार लगाइएको आत्महत्या दुरुत्साहन कसूर प्रमाणित भएमा ५ बर्षसम्म जेल र ५० हजार जरिवाना वा दुवै हुन सक्ने प्रावधान रहेको छ ।