पर्यटनमन्त्रीको घोषणा : जेष्ठ नागरिकलाई हवाइ भाडामा ५० प्रतिशत छुट 

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ भाद्र १०, मंगलबार


काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो १४१ बुँदे कार्ययोजना सार्वजनिक गर्ने क्रममा आन्तरिक उडानमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत हवाई भाडा छूट दिने घोषणा गरेका गर्नुभएको छ । 

अबको तीन महिनाभित्र यो घोषणा लागू गर्ने मन्त्री भट्टराईले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘यसका सरोकारवालाहरुसँग छलफल गरेर अबको तीन महिनामा यसको कार्यान्वयन गरिनेछ, यसको निम्ति वायुसेवा कम्पनीको समेत महत्वपूर्ण हुनेछ ।’

मन्त्रालयले यस घोषणाको कार्यान्वयनमा मन्त्रालय, प्राधिकरण र वायुसेवा कम्पनीहरुलाई जिम्मेवार निकाय तोकेको छ । यो कार्यक्रम वित्तीय अनुशासनभित्रै बसेर गरिएको भन्दै मन्त्री भट्टराईले स्रोतको व्यवस्थापनमा समस्या नहुने समेत आश्वासन दिनुभएको छ । 

सरकारले चालु आर्थिक वर्ष भित्रै अन्तर प्रदेश उडानलाई प्रोत्साहन गर्ने भएको छ । सबै प्रदेशका राजधानी जोडिने गरी निजी वायुसेवा कम्पनी र नेपाल वायुसेवा निगमसँग छलफल गरी अन्तर प्रदेश हवाई सेवा सञ्चालनको योजना सरकारले बनाएको छ । यसको चाँजोपाँजो पनि तीन महिना भित्रै गरिने मन्त्रालयले उल्लेख गरेको छ ।