पुनर्निर्माण पश्चात अनन्तलिङ्गेश्वर मन्दिरको रक्षामन्त्री पोखरेलले समुद्घाटन गर्ने 

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ भाद्र १६, सोमबार


भक्तपुर । विक्रम सम्बत् २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सूर्यविनायक नगरपालिका वडा नम्बर ४ स्थित श्री अनन्तलिङ्गेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएसँगै आगामी सोमबार समुद्घाटन गरिने भएको छ ।  

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले यही भाद्र २३ गते विहान ८ः०० बजे समुद्घाटन गर्ने कार्यक्रम रहेको श्री अनन्तलिङ्गेश्वर संरक्षण तथा विकास समितिका अध्यक्ष सालिग्राम न्यौपानेले जानकारी दिनुभयो । 

ऐतिहासिक, धार्मिक र पूरातात्विक रुपमा समेत विशेष महत्व रहेको उक्त मन्दिरमा २०७२ सालको भूकम्पले पूर्ण रुपमा क्षति भएपश्चात राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनर्निर्माण कार्यक्रम अन्तर्गत १ करोड ६४ लाखको लागतमा पुरातत्व विभागले पुनर्निर्माण गरेको हो । यसैगरी मन्दिरको दुई तहको तामाको छानो ४४ लाखको लागतमा निर्माण सम्पन्न गरिएको छ भने समाजसेवी कुमार उप्रेतीको व्यक्तिगत सहयोगमा ४ लाखको लागतमा मन्दिरको स्वर्ण गजूर प्रतिस्थापन गरिएको समितिले जनाएको छ । 

सोही दिन अनन्तलिङ्गेश्वर मन्दिर प्रवेशद्वार निकट रहेको अनन्त झूला तथा झोलुङ्गे पुल समेत समुद्घाटन गरिने कार्यक्रम रहेको छ । उक्त झोलुङ्गे पुल २५ लाख १५ हजार ५ सय २८ को लागतमा निर्माण सम्पन्न भएको समितिले जनाएको छ । 

सूर्यविनायक नगरपालिका वडा नम्बर ४ र ७ को सिमानालाई जोड्ने झोलुङ्गे पुलमा अनन्त झूला निर्माण पश्चात अनन्तलिङ्गेश्वर मन्दिरमा आउने भक्तजनहरुका निम्ति समेत धार्मिक आकर्षण बढाउने समितिका सचिव एवं प्रचार प्रचार समितिका संयोजक रामप्रसाद न्यौपानेले बताउनुभयो । 

भूकम्पपूर्व परम्परागत गुम्बज शैलीमा रहेको उक्त मन्दिर हाल प्यागोडा शैलीमा पुनर्निर्माण गरिएको छ । उक्त महादेव मन्दिर भगवान शिवको ६४ औं ज्योतलिङ्ग मध्येको एक भएको धार्मिक विश्वास गरिन्छ ।