सम्पदाको रक्षा गर्नु सबैको दायित्व हो : रक्षामन्त्री पोखरेल

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ भाद्र २३, सोमबार


भक्तपुर । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले पूर्खाले निर्माण गरेको सम्पदाहरुको संरक्षण गर्ने दायित्व अहिलेको पुस्ताको भएको बताउनुभएको छ । 

राष्ट्रिय पुनर्निर्माण परियोजना अन्तर्गत पुनर्निर्माण गरिएको भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं ४ स्थित पुरातात्विक, धार्मिक तथा ऐतिहासिक महत्वको अनन्तलिङ्गेश्वर महादेव मन्दिर तथा झोलुङ्गे पुलको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले भन्नुभयो, ‘हाम्रा अग्रजहरुले निर्माण गरेको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वका मठमन्दिरको रक्षा गर्ने दायित्व हाम्रो काँधमा रहेको छ ।’ 

पोखरेलले प्रतिनिधिसभाका सांसद महेश बस्नेतको नेतृत्वमा भइरहेको विसकासको लहरले अबको केही बर्षमा भक्तपुरको मुहार फेरिने समेत बताउनुभयो । भक्तपुरको समृद्धि र विकासका निम्ति सांसद बस्नेले निर्वाह गर्नुभएको भूमिका उल्लेखनीय रहको बताउँदै उहाँले विकासमा सबैसँग समन्वय हुनु अनिवार्य रहेको बताउनुभयो । 

एकता र समर्पण नै विकासको आधार रहेको बताउँदै उहाँले नेपाल अनुपम, सभ्यता र सस्कृतिको प्रारम्भ गरेको देश भएको बताउनुभयो । नेपालमा रहेको जुनसुकै पहिचानलाई संरक्षण तथा सम्बद्र्धन गर्नुपर्नेमा जोड दिँदै उहाँले आस्था र विश्वास प्रकट गर्ने गाउँ धर्म भएकाले कम्युनिष्टहरुले विश्वास गर्ने जनता भएको र जनताको आस्थालाई विश्वास गर्ने बताउनुभयो ।

मन्दिरै मन्दिर भएको देश नेपाल भएको बताउँदै उहाँले जात–जाती, धर्म–धर्मको मन्दिर बनाई खाली जमिनलाई सखाप पार्नु भन्दा पनि पुरातात्विक सम्पदा तथा पुराना मठमन्दिरको संरक्षण गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

धर्मले मानिसको हित गर्ने प्रकारको हुनुपर्नेमा जोड दिँदै उहाँले कम्युनिष्टहरुले पुर्खाहरुले बनाएको कुनै पनि चिजको संरक्षण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कम्युनिष्टहरु धर्म मान्दैनन् भन्ने कहि कतै सुन्ने गरिएको छ । कम्युनिष्टको धर्म भनेको नै जनता हुन् । धर्मले जनताको हित गर्ने प्रकारको हुनुपर्छ । जनताको हित नै कम्युनिष्टको धर्म हो । जनता नै देशको सबैभन्दा ठूलो शक्ति हो । त्यसैले जनताको भावना र चाहना अनुसारको काम हुनुपर्छ । जनताले साथ दिएनन् भने कोही पनि टिक्दैन ।’

सवैको साथ र सहयोग नै विकास र समृद्धिको साथमा स्थायीत्व हुने बताउँदै उहाँले पुर्खाले बनाएका राम्रा चिजहरुको रक्षा गर्ने जिम्मा सवै नागरिक तथा जनप्रतिनिधिहरुको रहेको बताउनुभयो । विकास गर्नु सरकार मुख्य कार्य भएको बताउँदै उहाँले भन्नुभयो, ‘विकास चाहियो तर विकासको नाममा विनासश गर्नु हुँदैन । विकास गर्दा मेरो गोरुको बाह्रै टक्का भने विकास सम्भव नहुने भएकाले जनताको इच्छा र चाहना अनुसार काम गर्नु पर्ने र सरकारले सोही अनुसार काम अघि बढाएको छ ।’

जनता नै सवैभन्दा ठूलो शक्ति रहेको बताउँदै उहाँले समन्वयका कमिकमजोरीका कारण विकासमा अवरोध हुने गरेको र आगामी दिनमा सरकारले त्यस्ता समस्याहरुलाई समाधान गर्दै अघि बढ्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त झोलुङ्गे पुल २५ लाख १५ हजार ५ सय २८ रुपैयाँको लागतमा निर्माण भएको थियो भने उक्त मन्दिर करिव दुई करोड सात लाखको लागतमा निर्माण सम्पन्न भएको थियो ।

कार्यक्रममा भक्तपुरको समृद्धि र विकासमा विशेष नेतृत्व गरेबापत पूर्व उद्योगमन्त्री एवं प्रतिनिधि सभाका सदस्य महेश बस्नेत तथा तत्कालिन सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका रुपमा रहेर मन्दिरको पुननिर्माणमा विशेष योगदान पु¥याउनुभएको पूर्व मन्त्री आनन्दप्रसाद पोखरेललाई समितिका तर्फबाट अभिनन्दन गरिएको थियो । 

 

यस्तै मन्दिरपुनर्निर्माण का क्षेत्रमा विशेष योगदान पु¥याउने विभिन्न व्यक्ति तथा निकायलाई सम्मान स्वरुप कदर पत्र प्रदान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमाश्री अनन्तलिङ्गेश्वर महादेव मन्दिर परिसरका गुरुयोजनाकार तथा इन्जिनियर कुमार उप्रेती, पुरातत्व विभागका पूर्व महानिर्र्देशक भेषनारायण दाहाल, उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त नवराज प्याकुरेल, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) का वरिष्ठ इन्जिनियर श्री मोहन चापागाईं, वातावरण विभागकी महानिर्देशक आभा श्रेष्ठ, त्रिनेत्र आध्यात्म चिन्तक केन्द्रकी अध्यक्ष रेखा अर्याल, दिव्यधाम निर्माण समितिका संयोजक देवीप्रसाद न्यौपाने, दरबार हेरचाह कार्यालय भक्तपुरका प्रमुख मोहनसिंह लामा,झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष मनकराम थापा, अर्जुन खतिवडा,केदारनाथको सिरोभाग डोलेश्वर महादेव मन्दिरका मूल पूजारी बच्चुराम जंगम, सूर्यविनायक नगरपालिका वडा नम्बर ७ का समाजसेवी स्वर्गीय कल्याण कार्की, निर्माण व्यवसायी नातीबाबु खत्री, भीम श्रेष्ठ, नरेश शाक्य, झोलुङ्गे पुलका लागि जग्गा दाताहरु सूर्यविनायक नगरपालिका वडा नम्बर ४का शम्भु जंगम तथा नवराज जंगम,समाजसेवी अच्यूत खरेल, व्यवसायी कृष्णप्रसाद ताम्राकार, इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठ लगायत हुनुहुन्छ ।