आफ्नै पौरखमा गौरब गरौं न !

विमल थापा
विमल थापा

२०७६ भाद्र २४, मंगलबार


युवा पुस्ता स्वभाविक रुपमा उर्जाशील हुन्छ । यसलाई पूर्ण रुपमा सदुपयोग गर्न सकियो भने थुप्रै सिर्जनशील गतिविधिहरुमा प्रेरित गर्न सकिन्छ भने समाजको समृद्धिका निम्ति पनि उनीहरुको उर्जाशील शक्तिलाई विकासमा रुपान्तरण गर्न सकिन्छ । यही शक्तिले मुलुकको परिवर्तनको खाँका कोर्न सक्दछ भन्ने मान्यता विश्वव्यापी रुपमा स्थापित भइसकेको छ । नेपालको सन्दर्भमा पनि युवा पुस्ताले सामाजिक, आर्थिक र राजनीतिक बिषयमा समेत थुप्रै सकारात्मक भूमिका खेलेका  दृष्टान्तहरु हामीबीच विद्यमान रहेको देखिन्छ । 

नेपालको जनसंख्याको झण्डै ४० प्रतिशत युवापुस्ताले प्रतिनिधित्व गरेका छन् । यो उमेर हदको दृष्टिकोणले गरिएको युवाको परिभाषा मात्र हो । यी मध्ये कति प्रतिशत युवाहरुले अहिले मुलुकका बिषयमा गहिरो चिन्ता र चासो राख्न सकेका छन् । उनीहरुले आफ्नो मुलुकप्रति व्यहोर्नुपर्ने दायित्व र जिम्मेवारीलाई कतिले निर्वाह गर्न सकेका छन् ? यसको आंकलन सहजै गर्न नसकिएला । तर पछिल्लो अवस्थालाई हेर्ने हो भने मुलुकप्रति नैराश्यता व्यक्त गर्ने युवाजनशक्तिको संख्या अधिक भएको स्पष्ट देखिन्छ । युवाले प्रयोग गर्ने सामाजिक सञ्जालमा व्याप्त निराशावादी सोचका स्टाटस बढी देखिन्छ । त्यति मात्र होइन, भेटघाट, अध्ययन, छलफल, चिया गफ हर ठाउँमा निराशायुक्त कुराले बढी नै प्रश्रय पाइरहेका छन् । यस्तै नैराश्यता हावी हुँदा कतिपय युवाहरु मानसिक रुपमा समेत समस्याग्रस्त देखिन थालेको अध्ययनले देखाउन थालेको छ । त्यसको साथै नैराश्यता हाबी हुँदा नै अझैैपनि कतिपय युवाहरु आफ्नो मुलुकमा सम्भाव्यता नदेखेर विदेशमा सस्तो श्रममा गइरहेको दैनिक १५ सय भन्दा बढी विदेशिएका युवाहरुको पछिल्लो तथ्याङ्कले पुष्टी गर्दछ । 

केही समय अगाडिको तथ्याङ्क हेर्ने हो भने झण्डै २ लाख ५० हजार युवा लागू औषध दुर्व्यसनको कुलतमा फसेका देखिन्छ । नेपाल प्रहरीका अनुसार सामाजिक अपराधमा संलग्न भएका मध्ये ८० प्रतिशत भन्दा बढी युवा उमेर समूहका रहेका छन् । यसको कुनै न कुनै कारण भनेको युवाहरुमा विद्यमान नैराश्यताको चिन्तननै भएको मनोविद्हरु बताउँछन् । मनोविद् सिर्जना भण्डारी भन्नुहुन्छ, ‘मानिसका मनभित्रका विभिन्न कुण्ठा र आवेग जब नैराश्यतामा परिणत हुन्छ, तब समाज कुनैपनि अपराधिक घटनाले जन्म लिन सक्दछ । यो अवस्थालाई यदि समयमा नै निराकरण गर्न सकिएन भने यस्ता सोच र चिन्तन राख्ने व्यक्तिले कि त आफूलाई क्षति पु¥याउँछन्, कि त आफ्ना वरिपरिका वा समाजलाई नै हानी नोक्सानी पु¥याउने गतिविधिमा संलग्न हुन्छ ।’

त्यसो भए युवाहरुलाई कसरी सही बाटोमा लगाउने त ? उनीहरुलाई किन सकारात्मक सोच र गतिविधितर्फ उन्मूख गराउन सकिएको छैन त ? मूल रुपमा नेपालको राजनीतिक नेतृत्वले यसलाई गहन ढंगले सोचेको देखिँदैन । युवाहरुलाई आफ्ना राजनीतिक गतिविधि र पार्टीका कार्यक्रमहरुमा मात्र सहभागी गराएर समूह निर्माण गर्ने शक्तिका रुपमा राजनीतिक दलहरुले युवाहरुलाई बुझ्नु गम्भीर त्रुटी हो । यसले न त उनीहरुमा राजनीति नेतृत्वको क्षमता विकास गर्न सक्दछ, न त उनीहरुले समाजमा आफूले पनि केही गर्न सकिन्छ भनेर सकारात्मक सोच र चिन्तनलाई नै अगाडि बढाउन सकेका देखिन्छन् । यो भीडमा केही उत्साही युवाहरुले भने आफ्नो पौरखमा गौरब गर्दै सिर्जनात्मक रुपमा आफूलाई स्थापित पनि गराउन थालेका देखिन्छन् । 

‘मानिसका मनभित्रका विभिन्न कुण्ठा र आवेग जब नैराश्यतामा परिणत हुन्छ, तब समाज कुनैपनि अपराधिक घटनाले जन्म लिन सक्दछ । यो अवस्थालाई यदि समयमा नै निराकरण गर्न सकिएन भने यस्ता सोच र चिन्तन राख्ने व्यक्तिले कि त आफूलाई क्षति पु¥याउँछन्, कि त आफ्ना वरिपरिका वा समाजलाई नै हानी नोक्सानी पु¥याउने गतिविधिमा संलग्न हुन्छ ।’

पर्वत जन्मथलो भएका खेमनारायण पौडेल अहिले किसानहरुका बीचमा मात्र होइन, कृषिजन्य उत्पादनका क्षेत्रमा ‘किसानी भाई खेम’का नामले परिचित छन् । उनको यो परिचय त्यसै सिर्जना भएको होइन । आजभन्दा १० बर्ष अगाडि उनले आफ्नो जन्मभूमिमा तरकारी खेती गरेर व्यवसायिक यात्रा सुरु गरेका थिए । त्यसको त उनी पनि यसअघि अधिकांश युवाहरु जस्तै नेपालमा केही गर्न सकिएन भन्दै गह्रौ मन लिएर कतारमा काम गर्न हुँइकिए । जब उनी कतार पुगे, त्यहाँ आफूले सोचेको जस्तो भएन । उनी काम गर्ने कम्पनीमा दैनिक ८ घण्टा काम गर्नुपर्ने शर्त गरिएको थियो, तर उनले दैनिक १२ घण्टासम्म काम गर्नु पर्दथ्यो । तर सेवा सुविधा भने उस्तै । यस्तो अवस्थाले पौडेललाई दुविधामा पार्न थाल्यो । अनि सोच्न थाले, ‘के मैले यसरी नै काम गरेर पनि हुन्छ त ? यस्तो अवस्थामा त मैले कसरी आफ्नो लक्ष्य पूरा गर्न सक्दछु त ? हैन भने मैले यहाँ बसेर केही गर्न सक्दिन । बरु आफ्नै भूमिमा जान्छु, पौरख गर्छु । त्यसैमा म आफ्नो भविष्य खोज्छु ।’ 

उनले कतारमा काम गर्ने गरी गरिएको सम्झौता नसकिँदै करिब १४ महिनापछि नेपाल फर्किने निधो गरे । तर नेपाल आउनु र यहाँ केही गर्नु उनको लागि त्यति सहज थिएन । किनकी उनी विदेश जाँदा परिवारमा समेत आर्थिक भार थोपरिएको थियो । त्यसमाथि सम्झौता भन्दा अगावै नेपाल फर्किदा उनलाई परिवारले पनि झट्ट विश्वास गर्ने आधार थिएन । मन उनको गह्रुगो नै थियो । तर आशा र भरोसा उनीमा प्रचूर मात्रामा सिर्जना भएको थियो । सायद, कतार बसाइँमा उनले भोगेका केही तीता अनुभूतिले उनलाई पनि केही हदसम्म परिपक्व बनाएको थियो । 

जब उनी नेपाल फर्किए, आफूले विदेशमा बसेर कष्टपूर्ण जीवन भोग्दै सञ्चित गरेको सानो हिस्साको आर्थिक लगानीबाट केही गर्नुपर्ने उनको आवश्यकता र बाध्यता दुवै थियो । उनलाई लाग्यो, ‘कतार जस्तो मरभूमिको ठाउँमा त हरियाली सिर्जना गरेका छन् भने मेरो देश त जताततै हरियाली नै हरियाली छ । यहाँ मैले केही तरकारी वा फलफूल खेती किन नगर्ने ?’ मनले उनको यस्तो धारणा बनाउँदै गर्दा उनीभित्र अन्यौलता पनि उत्तिकै थियो । किनकी, उनमा यसलाई व्यवहारिक रुपमा रुपान्तरण गर्ने सानो पूँजी त थियो, तर सैद्धान्तिक र व्यवहारिक ज्ञानको भने अभाव थियो । तर उनले हरेस् खाएनन् । पोखराका विभिन्न नर्सरी र तरकारी उत्पादन खेतीका बारेमा अध्ययन र स्थलगत अवलोकन गर्न थाले । केही महिना उनको यसरी नै बित्यो । त्यसले उनीमा तरकारी खेती गर्ने हौसला बुलन्द हुन थाल्यो । उनले ६ रोपनी जग्गा भाडामा लिने निधो गरे र आफूले नै तरकारी खेती गर्ने तयारी गरे । त्यतिञ्जेलसम्म यसबारेमा उनले आफ्ना परिवारलाई जानकारी गराएका थिएनन् । किनकी उनलाई अझैपनि परिवारले आफूलाई साथ नदेला भन्ने चिन्ता विद्यमान थियो । 

पौडेलको एक्लो प्रयासमा पोखरामा भाडामा लिएको १० रोपनी जग्गामा आधुनिक कृषि प्रणालीलाई अँगालेर सुरुमा गोलभेंडा खेती प्रारम्भ गरे । सुरुकै बर्ष उत्साहजनक प्रतिफल प्राप्त भएपछि पौडेल अझै हौसिए । यसलाई अझै विस्तार गर्दै अन्य मौसमी तरकारी खेती समेत सँगै गर्न थाले । उनको यो प्रयासले अझै सार्थकता पाउन थाल्यो । व्यवसायिक रुपमा समेत उनले उत्पादन गरेका तरकारीले राम्रै बजार पाउन थाल्यो । त्यतिमात्र होइन, केही बर्षको नियमित प्रयासपछि उनी कास्कीमा परिचित युवा किसानका रुपमा चिनिन थाले । सोही बेलादेखि उनलाई ‘किसानी भाई खेम’ को उपनामले धेरैले चिन्न थाले । अहिलेसम्म पनि उनलाई सोही नामले सबैले सम्बोधन गर्दछन् । आफूलाई किसानी भाई भनेको गर्व लाग्ने पौडेल बताउँछन् । 

उनको कृषि क्षेत्रको मोह यतिबिध्न बढ्न थाल्यो कि, अबको उनको जीवन चर्या नै खेती किसानी बन्न थाल्यो । यही क्रममा उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कृषि मेलामा समेत एउटा सफल किसानका रुपमा सहभागी हुने मौका पाए । आफूले सानो स्वरुपबाट सुरु गरेको कृषि पेशालाई आजभन्दा झण्डै २ बर्ष अगाडि अझै विस्तार गरी ५० रोपनी जग्गामा उनले तरकारी खेती गर्दै आएका छन् । यो क्रममा उनले यस क्षेत्रमा दखल राख्ने अन्य दुईजनालाई समेत समेटेका छन् । मिश्रित रुपमा तरकारी उत्पादन गर्ने जिम्मा उनले पाएका छन् भने त्यसको बजारसम्म पु¥याउने र व्यवस्थापन गर्ने जिम्मा उनका अन्य दुईजना सहकर्मीले लिएका छन् । मकवानपुरको चित्लाङमा रहेको उनको कृषि फार्ममा नियमित रुपमा ७ जनाले प्रत्यक्ष र झण्डै १० जनाले अत्प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् भने ९ जना कृषि बिषयमा अध्ययन गर्ने विद्यार्थीहरु प्रशिक्षार्थीका रुपमा कार्यरत रहेका छन् । 

तरकारी खेतीबाट नै उनले त राम्रो आम्दानी गरेका छन् नै साथै उनले अरु थुप्रैलाई रोजगारी पनि सिर्जना गरेका छन् । उनको सफलताको बाटोलाई पछ्याउँदै थुप्रै युवाहरु कृषि पेशामा लाग्न उत्प्रेरित समेत पौडेलले गरिरहेका छन् । उनी भन्छन्, ‘नेपालमा जुनसुकै क्षेत्रमा पनि गर्न सकिने सम्भावनाहरु छन्, तर यसको बारेमा अध्ययन गर्नु जरुरी छ । यदि तपाईमा इच्छशक्ति छ र त्यसलाई सिर्जनशील ढंगबाट परिश्रम गर्नुहुन्छ भने यहाँ गर्न नसकिने केही पनि छैन ।’

- थापा अनन्त सन्देश साप्ताहिकका सम्पादक हुन् ।