प्रदेशको विकास बजेट कार्यान्वयन सुरु

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ भाद्र २५, बुधबार


हेटौडा । सरकारले विनियोजन गरेको बजेट कार्यान्वयन समयमा नै नभएको गुनासो बढरहेका बेला प्रदेश न ३ सरकार मार्फत आर्थिक बर्ष ०७६/७७ को विनियोजित बजेटको कार्यान्वयन सुरु भएको छ । 

नयाँ आर्थिक बर्षको भाद्रदेखि नै बजेट कार्यान्वयन गर्नको निम्ति प्राविधिक टोलीसहित जनप्रतिनिधिहरु स्थलगत रुपमा खटिन थालेका छन् । यसैक्रममा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ (१) अन्तर्गत विनियोजित बजेट कार्यान्वयन गर्न प्रदेश सांसद शशीजंग थापाको अगुवाइमा पूर्वाधार डिभिजन कार्यालय धुलिखेलबाट प्राविधिक समूह स्थलगत रुपमा परिचालित भएका छन् । 

यस बर्षको दशै अघिनै योजनाहरुको टेन्डर प्रकाशित गर्ने तयारीका साथ प्रदेश सांसद तथा वडाका जनप्रतिनिधिहरु आ–आफ्नो वडामा परेका योजनाहरुको प्राविधिक सहित स्थलगत रुपमा जुटेका छन् । 

विगतमा समयमा नै योजनाहरु सम्पन्न गर्न नसकेको यथार्थतलाई मनन् गर्दै यस आर्थिक बर्षमा पूँजीगत खर्च शतप्रतिशत सम्पन्न गर्ने लक्ष्यसहित प्रदेश सरकार अगाडि बढिरहेको प्रदेश सांसद शशिजंग थापाले बताउनुभयो । उहाँका अनुसार यो आर्थिक बर्षमा थापाको निर्वाचन क्षेत्र भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ (१) मा प्रदेश सरकारबाट ४० करोड भन्दा बढी रकम पूर्वाधार विकासको शीर्षकमा विनियोजन भएको छ ।