नेपालका निम्ति (विआरआई) कोसेढुुङ्गा सावित हुन्छ : विज्ञहरु

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ भाद्र ३१, मंगलबार


काठमाण्डौ । चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिप्स (विआरआई) नेपालको समृद्धिका निम्ति कोसेढुुङ्गा सावित हुने यसका विज्ञहरुले बताएका छन् । 

फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिष्ट्सले नेपालको दृष्टिमा विआरआइको सान्दर्भिकता बिषयमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागी विज्ञहरुले यस्तो बताएका हुन् । 

कार्यक्रममा पूर्व सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले बीआरआईमा नेपालको सम्मानजनक सहभागिता रहने बताउदै बीआरआईमा हस्ताक्षर गरेपछि कतिपय ठाउँबाट किन गरेको भन्ने प्रश्न समेत उठाईएको जानकारी दिँदै त्यस्ता हस्तक्षेप विरुद्ध आम जनता उभिनुपर्ने बताउनुभयो । उहाँले विगतमा नेपालमा भएको नाकाबन्दीको असरबारे बोल्दै नेपालको स्वाधीनतामाथि हस्तक्षेप गर्न खोज्ने प्रवृत्तिलाई बिआरआईले तोड्ने पनि बताउनुभयो । पोखरेलले इन्डो प्यासिफिक रणनीतिलाई चीन घेर्ने योजना बताउँदै इन्डो प्यासिफिक रणनीति नेटो र वार्सा फ्याक्ट जस्तै सैन्य गठबन्धन भएको बताउनुभयो । 

कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले विगतमा भूपरिवेष्ठित राष्ट्रका रुपमा नेपालले भोग्नु परेको पीडाबाट मुक्त हुनको निम्ति पनि (विआरआई)ले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

अमेरिकाले अगाडि सारेको इन्डो प्यासिफिक रणनीति जस्तो (विआरआई) नभएको बताउँदै श्रेष्ठले चीनले आफूले गरेको समृद्धि र विकासको प्रतिफल कनेक्टीभिटीका माध्यमबाट विश्वलाई जोड्ने अवधारणाका रुपमा अगाडि आएको बताउनुभयो । 

नेपालले (विआरआई)बाट महत्वपूर्ण उपलब्धी हासिल गर्न सक्ने बताउँदै श्रेष्ठले भन्नुभयो, ‘हामीले कनेक्टीभिटीका माध्यमबाट चीनको सामान नेपाल भित्र्याउने मात्र होइन, नेपालमा उत्पादित सामानहरु चीनसम्म पु¥याउन बाटो पनि खुल्ने छ ।’

(विआरआई) चीनका राष्ट्राध्यक्ष सि चीन फिङको महत्वकांक्षी योजना भएपनि यसबाट नेपालले एउटा छिमेकी राष्ट्रका हैसियतले प्राप्त गर्न सक्ने थुप्रै उपलब्धीहरु रहेको श्रेष्ठले बताउनुभयो । उहाँले  व्यापार तथा पारवाहनका क्षेत्रमा प्राप्त हुने उपलब्धीले विगतमा ६ पटकसम्म भारतबाट भोग्नु आएको नाकाबन्दी सदको लागि अन्त्य हुने बताउनुभयो । 

स्वभाविक रुपमा नेपाल लगायत विश्वलाई नै कनेक्टीभिटीका माध्यमबाट आर्थिक समृद्धिलाई अगाडि बढाउने परियोजना भएका कारण नेपालले कति फाइदा लिने भन्नेमा अत्यन्त चनाखो भएर अगाडि बढनुपर्ने धारणा श्रेष्ठले राख्नुभयो । उहाँले भन्नुभयो, ‘कुन–कुन बिषयमा हामीले (विआरआई) परियोजना अन्तर्गत कार्यक्रम गर्न सक्छौं, त्यसको स्पष्ट खाका तयार हुनु जरुरी छ ।’
 

सोही कार्यक्रममा लेखक एवं विश्लेषक हरि रोक्काले चीनले अगाडि सारेको (विआरआई) परियोजनाबाट नेपालले अपेक्षाकृत लाभ लिनको निम्ति नेपाल स्वयंले तयारी गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले (विआरआई) परियोजना इन्डो प्यासिफिक रणनीति जस्तो रणनीतिक नभएको बताउनुभयो । नेपालका निम्ति (विआरआई) परियोजनाबाट लाभ नै धेरै भएकोले यसमा स्पष्टताका साथ सहकार्य गर्नु जरुरी भएको बताउनुभयो ।
 

यसैगरी डेनमार्कका लागि नेपाली राजदूत विजयकान्त कर्णले विआरआई अत्यन्त महत्वपूर्ण रणनीतिक परियोजना भए पनि यसबाट नेपालले प्रशस्त मात्रामा फाईदा लिन सक्ने बताउनुभयो । केही दिन पहिले नेपाल भ्रमणमा आउनु भएका चिनिया विदेश मन्त्री वाङ यीलाई नेपाल सरकारले दुई घण्टा भन्दा बढी व्यस्त बनाउन नसक्नु हाम्रो कमजोरी भएको कर्णले बताउनुभयो । 

चीनसँग ५ हजार त्रिपाल र एउटा अस्पताल निर्माणको लागि सम्झौता हुनुलाई सफल भ्रमण भन्न आफूलाई गाह्रो भएको कर्णको भनाई थियो । कर्णले भारतसँगको नाकालाई राम्ररी सुरक्षा दिन नसकिरहेको अवस्थामा हिमाली क्षेत्रका १५ वटा नाका सञ्चालन गर्ने निर्णय गर्नुपूर्व ती नाकाको सुरक्षा गर्न सक्ने सामथ्र्य र जनशक्तिको बारेमा नेपालले विचार गर्नुपर्ने कर्णले बताउनुभयो ।