भक्तपुर क्यान्सर अस्पतालमा नगरपालिकाको गैरकानुनी हस्तक्षेप अस्वीकार्य छ : सांसद बस्नेत 

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ अश्विन १, बुधबार


भक्तपुर । प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले भक्तपुर नगरपालिकाले भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापनमा गरेको हस्तक्षेप कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनुभएको छ । 

नेपाल अर्बुद रोग निवारण संस्थाको ३७ औं बार्षिकोत्सव २०७६ को विशेष समारोहलाई सम्बोधन गर्दै सांसद बस्नेतले भक्तपुर क्यान्सर अस्पताल भक्तपुरले मात्र हैन देशले नै गौरव गर्ने अस्पताल भएको बताउँदै भक्तपुर नगरपालिकाले गरेको हस्तक्षेत्र गैरकानुनी भएको बताउनुभयो । 

हाल क्यान्सर रिलिफ सोसाइटीले यो अस्पताल सञ्चालन गरेको भएतापनि जनतामा सरकारले सञ्चालन गरेको अस्पताल भन्ने सन्देश गएको बस्नेतले बताउनुभयो ।  

हाल डर र त्रास देखाएर अस्पताल कब्जा गर्ने प्रबृत्ति नगरपालिकाले देखाएको बताउँदै यस्ता कार्यलाई निरुत्साहित गर्नुपर्ने उहाँले बताउनुभयो । बस्नेतले सर्वाेच्च अदालतको स्टेअर्डरलाई समेत नगरपालिकाले नमान्नु अदालतमाथि नै गम्भीर मान हानी भएको बताउनुभयो । 

नेपालको संघियताको नियम अनुसार १ सय बेडसम्मको अस्पताल सञ्चालन प्रदेश सरकारको मातहतमा रहने भएकाले उक्त अस्पताललाई प्रदेश सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै सांसद बस्नेतले भक्तपुर नगरपालिकाले अस्पताललाई जग्गा दिएको भन्ने कुरा गलत अफवाह फैलाएको बताउनुभयो । उहाँले उक्त नेपाली सेनाको जग्गा प्रयोग गरिएको जानकारी समेत गराउनुभयो ।

जनचेतनाको विकास गर्दै नेपालमा नै सम्भव हुने उपचार विदेशमा गई गर्ने परम्परालाई अन्त्य गर्नुपर्नेमा जोड दिँदै उहाँले उक्त अस्पतालले क्यान्सर रोगीको उपचार मात्र नगरी अन्य वहुआयामीक कार्यहरु समेत सञ्चालन गरिरहेको बताउनुभयो ।