भक्तपुरको गुण्डूमा घटस्थापनादेखि श्रीमद् देवी भागवत नवाह शतचण्डी ज्ञान महायज्ञ आयोजना हुने

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ अश्विन ३, शुक्रबार


 भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ७ स्थित (गुण्डूमा) घटस्थापनाको दिनदेखि श्रीमद् देवी भागवत नवाह शतचण्डी ज्ञान महायज्ञ आयोजना हुने भएको छ । 

श्रीमद् भागवत तथा गौ संरक्षण समिति भक्तपुरको आयोजनामा हुने उक्त महायज्ञमा माता वैण्णोदेवी महोत्सव समेत आयोजना गरिने भएको छ । 

महायज्ञ तथा महोत्सवका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा हिन्दूहरुको महान पर्व दशैंको अवसर पारेर यही असोज १२ गतेदेखि २१ गतेसम्म गुण्डूको सुब्बा पाखामा आयोजना हुने उक्त अनुष्ठानमा प्रख्यात १८ पुराण प्रवक्ता लक्ष्मण शास्त्री प्रमुख वाचक रहने बताइएको हो । 

सो महायज्ञमा १२ गते विहान ८ बजे कलशयात्रा गरिने छ भने समुद्घाटन सोही दिन ११ बजे गरिनेछ । यसैगरी ९ दिनसम्म मण्डप पूजा अर्चना एवं हवन, महात्म्य कथा एवं ओम शान्ति, आरती साथै देवलीला झाँकी, विशेष कलाकारको विशेष प्र्रस्तुती समेत रहने बताइएको छ । 

सोही अवसरमा नेपालका विभिन्न स्थानमा शक्तिपीठको रुपमा रहेकी माता पाथीभरा देवी मन्दिरको निर्माण गरिने महायज्ञ मूल व्यवस्थापन समितिका संयोजक श्री अरबिन्द शास्त्रीजी महाराजले बताउनुभयो । 

उहाँले सँस्कृत कुनै जात विशेषको भाषा मात्र नभएर यो सबै वर्ग समुदायले सिक्नु र बुझ्नुपर्ने भाषा भएको बताउनुभयो । 

सोही कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रविन्द्र सापकोटाले धार्मिक पर्यटकीय क्षेत्रका रुपमा नगरपालिकालाई विकास गर्ने लक्ष्य अनुरुप गुण्डूमा महायज्ञ आयोजना गरी पाथीभरा मन्दिरको स्थापना गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पर्यटकीय र धार्मिक महत्वलाई अझ विस्तार गर्न सकिन्छ भनेर हामीले गुण्डूको सुब्बापाखामा नौ दिनसम्म श्रीमद् देवी भागवत नवाह शतचण्डी ज्ञान महायज्ञ आयोजना गर्दैछौं, यसमा सबैको सहभागिताको निम्ति म आव्हान गर्दछु ।’ उहाँले आजभन्दा २ बर्ष अगाडि १२ बर्षका बालक सुनिल तामाङको जंगली जनावर बाघको आक्रमणबाट निधन भएको स्थानमा नै मन्दिर निर्माण हुन लागेको समेत जानकारी दिनुभयो । 

परापूर्व कालदेखि नै सत्य र शक्तिको रुपमा मानिँदै आएकी देवी माता पाथीभरा मन्दिर नेपालको एकमात्र स्थान पूर्वको ताप्लेजुङमा अवस्थित छ । नेपालका विभिन्न स्थान पनि शक्तिको रुपमा पाथीभरा मन्दिरको स्थापना गर्नु अपरिहार्य भएका कारण यसअघि नै गत असार ४ गते ताप्लेजुङबाट ल्याइएको २७ फिट अग्लो माताको अस्त्र स्वरुप त्रिशुल शक्तिको रुपमा पूर्व उद्योगमन्त्री एवं प्रतिनिधि सभाका सदस्य महेश बस्नेतबाट स्थापना गरी मन्दिरको शिल्यान्यास गरिएको थियो । 

सो मन्दिर स्थापना गर्नको निम्ति आवश्यक जग्गा स्थानीय अर्जुन बस्नेतले उपलब्ध गराउनुभएको कार्यक्रममा बताइएको थियो ।