दक्षिणकाली नगरपालिकाले संविधान दिवस मनायो

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ अश्विन ३, शुक्रबार


काठमाडौं । दक्षिणकाली नगरपालिकाले संविधान दिवसलाई भव्यरुपमा मनाएको छ । नेपालीको ठूलो उपलब्धी संविधान भएको महशुस गर्दै नगरपालिकाले विविध  कार्यक्रम गरी संविधान दिवस मनाएको हो । 

नगरपालिकाले बिहिवार र शुक्रवार घर घरमा दिपावली गरेको र  शनिवार पनि घरघरमा दीपावली  गर्ने तयारी गरेको छ । नगरपालिका क्षेत्रका सबै घर घरमा राष्ट्रिय झण्डा फहराइएको, सरसफाई र स्थानीय झाँकी सहित प्रभातफेरी कार्यक्रम गरिएको नगरपालिकाका प्रमुख मोहन बस्नेतले बताउनुभयो । कार्यक्रममा सांसद राजेन्द्रकुमार केसीले नेपाली  जनताको ठूलो त्याग र तपस्याबाट संविधान जारी भएकाले तीनै तहका सरकारले संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संघीयता संविधानको सबै भन्दा महत्वपूर्ण उपलब्धी भएको स्मरण गर्दै अब यसलाई सफल कार्यान्वयन गर्नुको विकल्प नभएको स्पष्ट गर्नुभयो । 

नगर प्रमुख बस्नेतले संविधान कार्यान्वयन गर्ने जिम्मेवारी सबैको भएकाले यसलाई सफल कार्यान्वयन गरी जनताका आशा र अपेक्षा पूरा गर्दै जानुपर्नेमा जोड दिनुभयो । 

संविधन दिवसको अभियानमा जनप्रतिनिधि र कर्मचारीले संयुक्तरुपमा  बजार, चोक, वडा कार्यालय, मन्दिर गुम्बा, पर्यटकीय स्थलमा सरसफाइ कार्यक्रम गरिएको  नगरपालिका प्रमुख प्रशासकीय अधिकृत घनश्याम न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार संविधान दिवसका बारेमा माइकिङ गरी जनचेतना जागरित गरिएको र कार्यक्रममा हजारौं सर्वसाधारण स्वतस्फुर्त रुपमा सहभागि भएका थिए । यस्तै नगरपालिकाले शनिवार नगरपालिका क्षेत्रमा बृक्षारोपण गर्ने तयारी गरेको छ ।