दशौं बार्षिकोत्सवमा ऋृद्धिसिद्धिले संस्थाको कारोबार २२ प्रतिशतले बृद्धि गर्ने लक्ष्य तोक्यो

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ अश्विन ४, शनिबार


भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर १ स्थित श्री ऋृद्धि सिद्धि बचत तथा ऋृण सहकारी  संस्थाले आगामी आर्थिक बर्षको कूल कारोबार २२ प्रतिशतले बृद्धि गर्दै १५ करोड ५० लाख पुर्याउने लक्ष्य लिएको छ । 

संस्थाको सम्पन्न १० औं बार्षिक साधारण सभामा आर्थिक बर्ष २०७५/०७६ मा १ हजार १ सय ७३ कूल शेयर सदस्य रहेकामा आगामी आर्थिक बर्षमा १५.७९ प्रतिशतले बृद्धि गर्दै २ हजार ७५ पुर्याउने प्रक्ष्येपण समेत गरेको छ । 

दशौं बार्षिक साधारणा सभामा संस्थाका अध्यक्ष ध्रुवराज बिष्टले मुलुक एकात्मक शासनप्रणालीबाट संघीय शासन प्रणालीमा रुपान्तरित भएको अवस्थामा ३ वटा निकायबाट जारी भएको ऐन नियमहरुलाई संयोजन गरी व्यवस्थित र कानुनको वास्तविक मर्मलाई लागू गर्न प्रारम्भिक अवस्थामा रहेका सहकारीलाई सहज नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कानुन आफैमा जटिल हुन्छ, यसलाई कसरी सरलतातिर लैजाने यसको प्रयोगमा भर पर्ने हुन्छ । ३ वटै निकायबाट जारी भएको ऐन, नियमको व्याख्या, विश्लेषण आ–आफ्नै तरिकाले गर्न थालियो भने अझ जटिलता सिर्जना हुन्छ र हामी जस्ता प्रारम्भिक संस्थाहरुलाई काम गर्न कठिन हुन्छ ।’

बिष्टले सहकारी ऐन २०७४ लागू भएपछि धेरै सरलता र केही अन्यौलताले घर गरेको समेत बताउनुभयो । १ व्यक्ति १ संस्था भन्ने अवधारणाले व्यवसायीहरुलाई जटिलता थपिएको बताउँदै बिष्टले यस्तो अवस्थाले कतै बाणिज्य बैंक वा अन्य वित्तिय संस्थालाई पोसेर सहकारीलाई निरुत्साहित त गर्न खोजिएको हैन भन्ने शंका उब्जिएको बताउनुभयो । 

सोही कार्यक्रममा संस्थाका सचिव बद्रीराजा राजथलाले संस्थाले बृत्तिय विकासका कार्यक्रमहरु मात्र नभइ विभिन्न सामाजिक सरोकारका बिषयमा समेत रचनात्मक कार्यक्रमहरु आयोजना गर्दै आएको बताउनुभयो । उहाँले संस्थाले आर्थिक बर्ष २०७५/०७६ मा कूल शेयर सदस्य १ हजार १ सय ५० पुर्याउने लक्ष्य राखिएको भन्दा १५ प्रतिशतले बृद्धि गरी १ हजार १ सय ७३ जना पुर्याउन सफल हुनु संस्थाको उल्लेखनीय पक्ष भएको बताउनुभयो ।

यस्तै संस्थाका कोषाध्यक्ष नातिकाजी बस्नेतले आगामी आर्थिक बर्षमा संस्थाको कूल शेयर पूँजी १ करोड २२ लाख ७५ हजार ७ सयबाट १ करोड ३५ लाख पुर्याउने लक्ष्य रहेको बताउनुभयो । 

संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक शशिजंग थापाले संस्थाले नबौं बार्षिक साधारण सभाबाट पारित गरेको १३ वटा नीति तथा कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सफल भएको बताउँदै नियमित बचत अभियान, कर्मचारीको क्षमता अभिबृद्धि तथा उत्प्रेरणा जगाउन समयानुकूल तालिम तथा प्रशिक्षणको व्यवस्था गर्न सक्नु आफैमा सकारात्मक पक्ष भएको बताउनुभयो । 

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालको प्रमुख आतित्थ्यता सम्पन्न संस्थाको १० औं साधारण सभामा सूर्यविनायक नगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष सानुकाजी कायस्थ, सहकारी विज्ञ एवं पूर्व बैैंकर तथा प्रशिक्षक उद्धवप्रसाद चौलागाई, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले सहकारीको महत्व र यसले स्थानीय तहका नागरिकको वित्तिय विकासमा पारिरहेका सकारात्मक प्रभावका बारेमा धारणा राख्नुभएको थियो । 

संस्थाले आफ्नो दशौैं बार्षिकोत्सवका अवसर पारेर श्री ऋृद्धि सिद्धि दशक स्मारिका–२०७६ समेत प्रकाशन गरेको छ ।