शनिवार चिनियाँ राष्ट्रपति नेपाल आउने, सीको स्वागतमा राखिएको ब्यानर च्यात्ने दुईजना पक्राउ

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ अश्विन २३, विहिबार


काठमाण्डौ । चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने भ्रमणका लागि शनिवार  नेपाल आउने तय भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै सीको भ्रमणको मिति सार्वजनिक गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउन लाग्नुभएका सीको भ्रमणमा क्रममा केही दुई पक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपालमा रहँदा सीले राष्ट्रपति भण्डारीसँग दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ भने राष्ट्रपति भण्डारीले सी र चिनियाँ टोलीको सम्मानमा रात्रीभोज आयोजना गर्नुहुनेछ । 
सी र प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक भेटवार्ताका क्रममा केही दुई पक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुनेछन् । परराष्ट्रले ती सम्झौता र समझदारीबारे भने खुलाएको छैन । 

नेपालमा रहँदा सीले अन्य राजनीतिक दलका नेताहरूसँग पनि भेट्ने कार्यक्रम रहेको छ । उहाँ उनी असोज २६ गते आइतबार स्वदेश फर्कनुहुनेछ । 

सन् २०१३ मा चीनका राष्ट्रपति बन्नुभएका सी राष्ट्रपतिको पहिलो पटक नेपाल भ्रमण हुन लागेको हो । उहाँको भ्रमणको तयारीस्वरूप एक महिनाअघि विदेश मन्त्री वाङ यी काठमाडौं आउनुभएको थियो ।  नेपालले उत्तरी छिमेकीका राष्ट्रप्रमुखलाई स्वागत गर्न काठमाडौंमा सरसफाइ र सिंगारपटार गरिरहेको छ ।

यसैबीच चिनियाँ राष्ट्रपतिको स्वागतमा राखिएका ब्यानर च्यातेको आरोपमा दुई जना पक्राउ परेका छन् । 

बिजुली बजार पुल, तिनकुने पुल क्षेत्रमा राखिएको ब्यानर च्यातिएको छ । त्यसमा संलग्न रहेको आरोपमा प्रहरीले गोपाल सार्की र राजकुमार ठाकुरलाई पक्राउ गरेको हो । उनीहरु दुबैलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।