चिनियाँ राष्ट्रपति सि आज नेपाल आउँदै, सवारी हुँदा सडक किनारामा उभिन नपाइने 

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ अश्विन २५, शनिबार


काठमाण्डौ ।  चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुईदिने राजकीय भ्रमणका लागि आज नेपाल आउँदै हुनुहुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा सी शनिबार नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । 

भारत भ्रमणमा रहेका सी त्यतैबाट शनिबार अपराह्न ०४ः३०–०५ः३० बजेसम्ममा विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्रिभुवन विमास्थलमा सीलाई उच्च सम्मानका साथ स्वागत गर्ने तयारी सरकारले गरेको छ ।

शनिबार काठमाडौंमा विशेष विमानबाट अवतरण गरेपछि सीले केहीबेर विश्राम लिने र त्यसपछि भेटघाटका कार्यक्रमलाई तीव्रता दिने कार्यतालिका रहेको छ । सीले साँझ ६ः३० बजे नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ भने त्यसपछि सीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुहुनेछ । 
देउवासँगको भेटवार्तापछि राष्ट्रपति भण्डारीले आयोजना गरेको राजकीय भोजमा सी सहभागी हुने कार्यतालिका रहेको छ । 

आइतबार बिहानैदेखि चिनियाँ विशिष्ट अतिथि सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुनेछ । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समुपस्थितिमा दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङको सवारीका क्रममा सडक किनारा पनि खाली गराइने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई नेपाली समकक्षी विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम रहेको छ । 

राष्ट्रपति सि विमानस्थलबाट होटल सोल्टी जाने कार्यक्रम छ । 

काठमाडौं प्रहरीका अनुसार, सीको सवारीका क्रममा सडक पूर्ण रुपमा खाली गरिनेछ भने सडकको दुई किनारमा हिँडडुल गर्न तथा उभिएर हेर्नसमेत रोक लगाइनेछ ।