चिनियाँ राष्ट्रपति सि को भ्रमणले नेपाल चीनबीचको सम्बन्ध उचाइमा पुग्नेछ : सांसद बस्नेत

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ अश्विन २५, शनिबार


भक्तपुर । प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणबाट नेपाल र चीनबीचको सदियौंदेखिको सम्बन्धलाई अझ उचाइमा पुग्ने बताउनुभएको छ । 

सूर्यविनायक नगरपालिका वडा नम्बर ७ स्थित गुण्डूमा निर्माण भएको सामुदायिक भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रमा सांसद बस्नेतले चीनको समृद्धिसँग नेपालको विकास र समृद्धिलाई कसरी जोड्ने भन्नेमा राष्ट्रपति सि को भ्रमणले नयाँ आयाम थप्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘चीनले संसारलाई चमात्कार देखाउने गरी विकास गरिरहेको छ,, त्यसबाट हामीले धेरै सिक्न सक्दछौं ।’

पछिल्लोपटक भक्तपुर जिल्लालाई मुलुककै समृद्ध जिल्ला निर्माण गर्ने अभियान अगाडि बढिरहेको बताउँदै विकास निर्माणमा साझेदारी अवधारणा समेत अगाडि बढिरहेको बस्नेतले बताउनुभयो । 

हाल भक्तपुरको जगातिमा रहेको यातायात कार्यालयलाई व्यवस्थापन गर्नको निम्ति गुण्डूको सार्वजनिक स्थलको पहिचान भइ यसको निम्ति पुनर्निर्माण प्राधिकरणबाट २ करोड माग गरिएको समेत उहाँले बताउनुभयो । सूर्यविनायक नगरपालिका वडा नम्बर ७ मा विकासका दृष्टिकोणले ठूलो परिवर्तन भएको बताउँदै बस्नेतले भन्नुभयो, ‘आजभन्दा ३ बर्ष अगाडि गुण्डूमा आएका व्यक्ति अहिले यहाँको विकास देखेर चकित पर्ने गरेका छन् ।’

पछिल्ला दिनहरुमा गुण्डूमा चोरीका घटनाहरु बढ्दै गएकाले यसको नियन्त्रण गर्न पनि प्रहरी चौकी आवश्यक भएकाले हाल निर्माण भएको सामुदायिक भवनले अस्थायी प्रहरी चौकी स्थापना गर्न सघाउ पुगेका सांसद बस्नेतले बताउनुभयो । 
अबका दिनमा चौविसै घण्टा ५ जनाको प्रहरी रहने गरी अस्थायी प्रहरी प्रभाग स्थापना भएबाट यस क्षेत्रमा हुने कुनैपनि अपराधिक घटना नियन्त्रण गर्न सघाउन पुग्ने उहाँले बताउनुभयो । 

बढ्दो शहरीकरण र बस्ती विकासका कारण पनि प्रभावकारी सुरक्षा संयन्त्र आवश्यक पर्ने भएकाले यसको निम्ति हाललाई अस्थायी रुपमै भएपनि प्रहरी चौकी स्थापना हुनु सकारात्मक भएको बस्नेतले बताउनुभयो । 

सोही कार्यक्रममा महानगरी प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधान विगतमा यस क्षेत्रमा कुनै पनि घटना घटिसकेपश्चात मात्र प्रहरी परिचालन हुँदै आएकामा अबका दिनमा कुनैपनि बेला प्रहरी जननासँग रहने भएकाले पूर्ण रुपमा सुरक्षाको प्रत्याभूति गर्न सकिने बताउनुभयो । 

उहाँले प्रहरी सदैव समुदाय र नागरिकसँग सकारात्मक अन्तरक्रियाको माध्यमबाट कुनैपनि अपराधिक घटनालाई नियन्त्रण गर्न तत्पर हुने भएकाले प्रहरीको उपस्थितिले समाजमा सकारात्मक सन्देश प्रभाव गर्ने बताउनुभयो । प्रधानले भन्नुभयो, ‘प्रहरी भनेको हामी सबैको सुख दुःखको साथी हो र समुदायमा यसले आफ्नो प्रभावकारी भूमिका निर्वाह गर्न सक्दछ भन्ने देखाउनेछ । भावनाको विकास गर्छ । सबैसँग पारिवारिक सम्बन्ध स्थापित हुन्छ ।’

यसैगरी सूर्यविनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेतले नगरवासीको समृद्धिको निम्ति नगरपालिका सदैव तत्परताका साथ क्रियाशील रहेको बताउनुभयो । उहाँले विकासलाई अग्रगति दिने क्रममा कतिपय ठाउँमा नागरिकहरुलाई असुविधा भएकोमा दुःख लागेको बताउनुभयो । बस्नेतले भन्नुभयो, कतिपय ठाउँमा विकासका कार्यक्रम भइरहेका कारण नागरिकमा अहिले केही समस्या आएको छ । त्यसमा हामीलाई दुःख लागेको छ । यो समस्या अबको अबको ६ महिनाभित्र पूर्ण रुपमा समाधान हुनेछ । 

कार्यक्रममा जिल्ला समन्वय समितिका उप्रमुख सरिता कुँवर, सूर्यविनायक नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रविन्द्र सापकोटा, गुण्डू खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष मनकराम थापा लगायतले सामुदायिक भवन निर्माण हुँदा यसले यस क्षेत्रका नागरिकहरुमा सेवा प्रवाह गर्न सघाउ पुग्ने धारणा राख्नुभयो । 

उक्त सामुदायिक भवन सूर्यविनायक नगरपालिकाको १५ लाख र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत (संघीय सांसद) कोषबाट १० लाख गरी २५ लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।