चिनियाँ राष्ट्रपतिको भ्रमणको श्रव्यदृश्य कभरेजमा नेपाल टेलिभिजनको एकाधिकार 

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ अश्विन २६, आईतबार


काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ समकक्षी सी चीनफिङको नेपालको दुई दिने राजकीय भ्रमणको श्रव्यदृश्यको कभरेजमा नेपाल टेलिभिजनको एकाधिकार देखिएको छ ।

वि.सं. २०७५ साल माघ १७ गते एच.डी. प्रविधिमा रुपान्तरित नेपाल टेलिभिजनको यो भ्रमणको कभरेज पनि ‘एच.डी’ स्तर कै रह्यो । नेपाल टेलिभिजनले राष्ट्रपति सी नेपाल आउँदा विमान अववतरण र विमानबाट ओर्लिदैँ गरेको विमानस्थलको सबै दृश्यहरु सिलसिलेवार रुपमा प्रत्यक्ष प्रसारण गरेको थियो ।

यस्तै राष्ट्रपति भवन शितल निवास पुग्दाको दृश्यकासाथै होटल  सोल्टीमा भएको रात्रीभोजमा दुवै राष्ट्रपतिले गर्नुभएको सम्बोधनको पनि प्रत्यक्ष प्रसारण गरेको थियो । भ्रमणको दोश्रो दिन प्रधानमन्त्री के. पी. शर्मा ओलीसँग भएको दुई पक्षीय वार्ता र सम्झौता आदानप्रदान दृश्य पनि प्रत्यक्ष प्रसारण गरिएका थिए भने प्रस्थान हुँदा विमानस्थलसम्मकै दृश्य प्रत्यक्ष प्रसारण गरिएका थिए । तर कतिपय निजी टेलिभिजनहरुले एक प्रसारण संस्थालाईमात्र यस प्रकारको पहुँच दिएकोमा समाचार संकलनमा विभेद भएको भन्ने समाचार प्रसारण गरेका थिए ।

त्यसो त नेपाल टेलिभिजनले भ्रमणको पूर्वसन्ध्यादेखि नै चीन–नेपाल सम्बन्धका बारेमा वृत्तचित्र, समाचार, विश्लेषणात्मक अन्तरवार्ता, म्यागेजिन कार्यक्रम र समसामयिक कार्यक्रमहरु भ्रमण अवधिभरिनै प्रसारण गरेको थियो । 

प्रत्यक्ष प्रसारणका क्लिन र लोगोसहितका सिग्नल अन्य नेपाली र विदेशी टेलिभिजन च्यानलहरुले पनि प्रयोग गरेका थिए भने अधिकांशले नेपाल टेलिभिजनको सौजन्य भनी प्रसारण गरेतापनि केहीले बिना सौजन्य प्रसारण गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ समकक्षी सी चीनफिङ नेपालको दुई दिने भ्रमण पूरा गरी स्वदेश फर्किनु भएको छ । नेपालीहरुमा आशा र उत्साहको सञ्चार गराउने गरी २३ बर्षपछि भएको चिनियाँ राष्ट्रपतिको यो भ्रमणबाट नेपाल–चीन सम्बन्ध नयाँ उचाईमा पुगेको जानकारहरुको बुझाई छ ।

यो ऐतिहासिक भ्रमणलाई नेपाली मिडियाहरुले उच्च महत्वकासाथ प्रसारण एवं प्रकाशन गरेका थिए ।