‘राजनीति सामाजिक विकासमा लक्षित हुनुपर्दछ’ सांसद बस्नेत

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ कार्तिक १७, आईतबार


भक्तपुर । राजनीति समाजसँग प्रत्यक्ष रुपमा जोडिएको हुन्छ । राजनीति दलगत स्वार्थ र हितका निम्ति मात्र लक्षित हुनुहुँदैन । राजनीतिले समाजको परिवर्तन र विकासलाई समेत प्रत्यक्ष प्रभाव पार्ने गर्दछ । राजनीतिक यदि सही बाटोमा हिड्न सकेन भने समाज पनि त्यसको प्रत्यक्ष मारमा पर्दछ । अनि सामाजिक विकासको उत्तरदायित्व राजनीतिक नेतृत्वले लिनै पर्दछ । 

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद महेश बस्नेतको दिनचर्या र गतिविधि अहिले राजनीतिको मियोबाट सामाजिक कार्यमा बढी केन्द्रित हुन थालेको छ । विकास निर्माण, साँस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेका सम्पदा र धरोहरको संरक्षण अनि प्रबद्र्धन गर्ने कार्यमा बस्नेतको नियमित दिनचर्या बढी केन्द्रित छ । 

बस्नेतले नेपाल सम्बत् ११४० को अवसरमा मध्यपुर नगरपालिका स्थित नेपाल भाषाका प्रबद्र्धक शंखधर साख्वाको सालिक अनावरण कार्यक्रममा आफूले विधायक बनेर राज्यको तर्फबाट प्राप्त गर्ने सहयोगको उचित विनियोजन गर्ने प्रतिबद्धता गर्नुभयो । उहाँले आफूले राज्यका तर्फबाट प्राप्त सहयोगबाट ५० लाख शंखधर साख्वा प्रतिष्ठानका निम्ति विनियोजन गर्ने समेत बताउनुभयो । 

सोही कार्यक्रममा उहाँले भन्नुभयो, ‘नेपालको मौलिक सम्बत् नेपाल सम्बत्को प्रबद्र्धन गर्नु सबैका दायित्व र जिम्मेवारी पनि हो ।’ बस्नेतले अगाडि भन्नुभयो, ‘नेपाल सम्बत्का प्रबद्र्धक राष्ट्रिय विभूति शंखधर साख्वा न्याय र समानताका अभियन्ता रहेका कारण उहाँको योगदान आजपनि नेपाली समाजमा उत्तिकै सान्दर्भिक रहेको छ । साख्वा कै योगदानका कारण नेपालको मौलिक सम्बत् नेपाल सम्बत् प्रचलनमा आएको हुँदा उहाँ सामाजिक सुधारक र चिन्तक रहेको समेत प्रष्ट हुन्छ ।’ 

त्यसो त, आफू सांसद हुँदा सरकारबाट प्राप्त हुने सेवा सुविधाको १० प्रतिशत रकम कुनैपनि सामाजिक सेवामा खर्चिने समेत घोषणा गर्नुभयो ।

मध्यपुर थिमी नगरापलिका वडा नंं. ८ खाँसी पोखरी परिसर उपभोक्ता समितीद्वारा आयोजित नेपाल सम्वत ११४०, दीपावली तथा छठ पर्वको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै सांसद बस्नेतले सांसदलाई प्राप्त हुने सरकारी सेवा सुबिधाको १० प्रतिशत सामाजिक सेवामा प्रयोग गरी समाजको विकास र समृद्धिमा व्यक्तिगत तर्फबाट समेत आर्थिक सहयोग गर्ने घोषणा गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘ सामाजिक सेवा नै मानिसको सवैभन्दा ठूलो धर्म भएको बताउँदै उहाँले समाजमा हुने र आवश्यक पर्ने सहयोग गर्नु मानिसको परम धर्म हो ।’

निर्वाचन क्षेत्र विकास कोषको तर्फबाट महालक्ष्मी भू–क्षय नियन्त्रणको व्यवस्थित गेट निर्माणको लागि रु ३० लाख र इ–लाईव्रेरीको लागि रु ३० लाख गरी ६० लाख उपलब्ध गराउने घोषणा गर्दै सांसद बस्नेतले आगामी दिनमा भक्तपुर विकास र समृद्धिबाट टाढा हुनै नसक्ने दावी गर्नुभयो । नीलवाराहीलाई इको पार्क वा जातीय संग्राहलय मध्ये कुनै एकको रुपमा विकास गर्ने योजना अनुरुप रु एक करोड ५० लाख रकम विनियोजन भएको जानकारी गराउँदै उहाँले सम्पदा वस्ती संरक्षण कार्यक्रम शुरु भएको जसको लागि १५ करोड रकम व्यवस्था भएको स्पष्ट पार्नुभयो ।

जनताले चासो दिएमा विकास निर्माणको लागि स्रोत तथा साधनको अभाव नहुने बताउँदै सांसद बस्नेतले घलाते, गठ्ठाघर र बोडेको गरी ठूला तीन वटा पुलहरु टेण्डरको प्रकृयामा रहेको जानकारी गराउनुभयो । पेप्सीकोला–सल्लाघारीको वैकल्पिक सडकको रुपमा पेप्सीकोला–बोडे–सरस्वतीखेल–छालिङ हुँदै नगरकोटसम्म जाने सडक निर्माणको क्रममा रहेको जानकारी गराउँदै उहाँले विगत लामो समयदेखि भिमसेन चोकबाट बोडे आउने सडक अलपत्रमा परेको र स्थानीय जनता तथा जनप्रतिनिधिको दबाबका कारण धेरै ठाउँमा सम्पन्न हुने क्रममा रहेको, लोगो गार्मेन्ट हुँदै कृषि तालिम केन्द्र– बोडेसम्म आउने सडक आगामी दुई तीन महिनाभित्रमा निर्माण सम्पन्न हुने, निकोसेरा–नागवेलीहुँदै खस्र्याखुर्सुङ खोलासम्म, बोडेदेखी टिकिनी जाने सडकलगायतका सडकहरु तीब्र गतिका साथ निर्माणको चरणमा रहेको उल्लेख गर्नुभयो ।
भक्तपुर जिल्ला कला र संस्कृतिको अनुपम जिल्लाको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिन सफल भएको बताउँदै पर्यटन क्षेत्रमा पुर्खाहरुले लगाईदिएको व्याज (आर्थिक रुपमा) अहिलेको पुस्ताले सदुपयोग गरिरहेको उल्लेख गर्नुभयो । राम्रो काम गर्दा पाउने गाली आशिर्वादमा परिवर्तन हुन्छ, जसले गाली गर्छ त्यो उसैसँग फर्कने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘कसले के भन्यो भनेर डराउने हैन, मैले के गरे भनेर डराउने हो ।’

भक्तपुरलाई आधुनिक र परिस्कृत बनाउन एक लाख रोपनीमा निर्माण गरिने स्मार्ट सिटीको डिपिआर सम्पन्न भईसकेको जानकारी गराउनुभयो । उहाँले मनोहरा कोरिडोर निर्माणको लागि करिब एक करोड रकम विनियोजित हुने अन्तिम तयारीमा रहेको समेत जानकारी गराउनुभयो ।