युवाहरुको देउसी भैलो कार्यक्रमबाट ६५ हजार संकलन

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ कार्तिक १७, आईतबार


भक्तपुर । तिहारको अवसरमा खेलिने देउसी भैलो कार्यक्रमले सँस्कृति र परम्परालाई जगेर्ना गर्ने मात्र होइन, यस्ता कार्यक्रमबाट सामाजिक सेवामा समेत समर्पित हुने युवाहरुको सक्रियता देखिएको छ । 

सूर्यविनायक नगरपालिका वडा नम्बर ४ स्थित युवा विकास तथा अध्ययन केन्द्रले पनि यसपालीको तिहारका अवसरमा देउसी भैलो खेलेर संकलित रकमलाई सामाजिक विकासको कार्यमा खर्च गर्ने योजना बनाएको छ । 

विशेष गरेर समाजका हरेक क्षेत्रमा सरोकार राख्दै युवा लक्षित कार्यक्रमलाई आयोजना गर्दै आएको युवा विकास तथा अध्ययन केन्द्रले यसपालीको तिहारका अवसरमा देउसी भैलो खेली आर्थिक संकलन गरेको छ । 

लक्ष्मी पूजा र गोबद्र्धन पूजाका दिन खेलिएको देउसी भैलोबाट ६५ हजार संकलन गरिएको युवा विकास तथा अध्ययन केन्द्रकी कोषाध्यक्ष अञ्जली थापाले जानकारी दिनुभयो । स्थानीय युवाहरुको सक्रियतामा आयोजना गरिएको उक्त देउसी भैलो कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम सहित विभिन्न सिर्जनात्मक प्रस्तुती गरिएको थियो । 

देउसी भैलो कार्यक्रमबाट संकलित रकमलाई विभिन्न सामाजिक गतिविधिहरु जस्तै वरिपरि रंग रोगन गर्ने, सडक बत्ती, मूल सडकको मोडमा सडक मिरर राख्ने तथा सार्वजनिक स्थानमा गमलासहित फूल सजावट गर्ने योजना रहेको केन्द्रका अध्यक्ष सुमन न्यौपानेले जानकारी दिनुभयो । उहाँले यस्ता कार्यक्रमले युवाहरुको सामाजिक उत्तरदायित्वप्रति भूमिका र सक्रियता समेत बढाउन सघाउ पुर्याएको बताउनुभयो ।