महरालाई थुनामा राख्न अदालतको आदेश, डिल्लीबजार कारागार चलान

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ कार्तिक १८, सोमबार


काठमाण्डौ । बलात्कारको प्रयासको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

संसद सचिवालयकी कर्मचारीमाथि जबरजस्ती करणी प्रयासको अभियोगमा उनलाई सोमबार पुर्पक्षका लागि जिल्ला अदालतका प्रमुख न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशले थुनामा राख्न आदेश दिइएको हो । 

उनलाई डिल्लीबजारस्थित कारागार चलान गरिएको छ । थुनछेक बहसमा सरकारी वकिल र महराका कानुन व्यवसायीले आ–आफ्नो प्रतिरक्षा गरेका थिए ।

वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, शेरबहकादुर केसी, कविता भण्डारी बराल र कृष्णप्रसाद सापकोटाको बहस सकिएपछि सरकारी वकिलले कानुनी प्रतिवाद गरेका थिए ।

महराविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले बलात्कार उद्योगमा कारबाही गर्न अभियोगपत्र दर्ता गरेको थियो ।

मुलुकी अपराध संहिता २०७४ अनुसार बलात्कार उद्योगको आरोपमा साढे ३ वर्षदेखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । सार्वजनिक ओहोदाको दुरुपयोग गरी अपराध गरेको भन्दै सरकारी वकिल कार्यालयले महरालाई हुने सजायमा डेढ गुणा थप गर्न पनि माग दाबी गरेको थियो ।