मोडर्न स्कूलका विद्यार्थीले मनाए सकिमना पुन्हि

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ कार्तिक २८, विहिबार


भक्तपुर । कार्तिक शुक्ल पूर्णिमाको अवसरमा मंगलबार भक्तपुर सूर्यविनायक ४ स्थित मोडर्न बोडिङ सेकेन्डरी स्कूलमा कक्षा ४ र ५ मा अध्ययनरत विद्यार्थीहरूले आइएसए ब्रिटिस काउन्सिल परियोजना अन्तर्गतको स्थानीय पाठ्यक्रमसँग सम्बन्धित रहीआफ्नो प्रयोगात्मक  क्रियाकलापका रूपमा सकिमनापुन्हि मनाएका छन् ।

सो कार्यक्रममा संस्कृतिविद् ओमप्रकाश धौबडेल, यसका विज्ञ तथा स्थानीय बासिन्दा समक्ष सकिमना पुन्हि सम्बन्धित आवश्यक ज्ञान र परामर्श समेत लिएका थिए । 

दधिकोट हिँचोक स्थित स्थानीय हनुमान मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रममा  विद्यार्थीहरुले विभिन्न समूह मार्फत सांस्कृतिक पहिरनसहिते भुटेकाअन्न मकै भटमास गहुँ तथा उसिनेका कन्दमूल  पिँडालु, सखरखण्ड आदि सामग्रीद्वारा हनुमान, त्रिशूल, नेपालको झण्डा, मण्डला, मन्दिर, कलश, तरवार मुसा, शोस्तिकचिन्ह, हिमाल, पहाड, सूर्य, चन्द्रमाआदिको आकृतिसमेत निर्माण गरेका थिए । 

यस्तै, कार्तिक महिनामा गाइने नेवारी भजन प्रस्तुत गरेका थिए भने कार्तिक शुक्ल पूर्णिमाका दिन प्रसादका रूपमा खाइने पकाइएका पिँडालु, सखरखण्ड आदि कन्दमूल वितरण गरेका थिए ।

विद्यार्थीहरूको उक्त परियोजना कार्यक्रमलाई अभिभावक, शिक्षक तथा स्थानीय बासिन्दाहरूले रुचीपूर्वक अवलोकन गरेका थिए । यस्तो प्रयोगात्मक क्रियाकलापले विद्यार्थीहरूमा एकातिर व्यावहारिक सिकाइ राम्रोसँग हुने र अर्कोतिर संस्कृतिको महत्व बुझी त्यसलाई कसरी जोगाउने भन्ने ज्ञानसमेत प्राप्त हुने धारणा मोडर्न स्कुलका प्रिन्सिपल अनिल कसपालले बताउनुभयो ।