नेकपा भातृ संगठन राष्ट्रिय युवा संघ भक्तपुर संयोजक लुवन्जार चयन

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ कार्तिक २९, शुक्रबार


भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघ भक्तपुर जिल्ला संयोजकमा राजु लुवन्जार श्रेष्ठ चयन हुनुभएको छ । पार्टी एकता भएको झण्डै डेढ बर्षपछि संघले जिल्ला संयोजक र सहसंयोजक चयन गरेको हो । 

विक्रम सम्बत् २०६४ सालमा तत्कालिन एमालेको भातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको जिल्ला कमिटी सदस्यबाट युवा राजनीतिमा प्रवेश गर्नुभएका श्रेष्ठ २०६९ सालमा जिल्ला कमिटीको कोषाध्यक्ष हुँदै २०७२ सालमा सचिवको जिम्मेवारी निर्वाह गर्नुभयो । 

विक्रम सम्बत् २०६७ सालमा तत्कालिन नेकपा एमालेबाट पार्टी सदस्यता लिनुभएका श्रेष्ठ सोही बर्ष तत्कालिन एमाले दधिकोट गाउँ कमिटी सदस्य हुँदै सूर्यविनायक नगरपालिका वडा नम्बर ४ वडा कमिटीको सचिव भएर आफ्नो जिम्मेवारी निर्वाह गर्नुभयो । 

युवाहरुको बीचमा लोकप्रिय श्रेष्ठ युवाहरुलाई सिर्जनशील ढंगले मुलुकको समृद्धिमा लाग्नलाई प्रेरित गर्ने हेतुले विभिन्न सामाजिक गतिविधिहरुमा समेत संलग्न हुँदै आउनुभएको छ । 

सोही कारण २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सूर्यविनायक नगरपालिका वडा नम्बर ४ बाट वडा सदस्यका रुपमा निर्वाचित श्रेष्ठ सूर्यविनायक नगरपालिकामा २०७४ पौष २८ गते गठन भएको न्यायिक समितिको सदस्यका रुपमा जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ ।