राजनीतिक विकृतिको अवसान !

विमल थापा
विमल थापा

२०७६ मंसिर १, आईतबार


आजभन्दा १२ बर्ष अगाडि रौतहट जिल्लाको राजपुर फरहदवामा भएको बम काण्डमा मुख्य आरोपीको नेपाली काँग्रेसका तर्फबाट रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद मोहम्मत आफताब आलमलाई जेल पठाउने आदेश रौतहट जिल्ला अदालतले गरेको छ । १२ दिनसम्म चलेको कानुनी बहसपछि जिल्ला अदालतले आलमलाई जेल पठाउने आदेश सुनाएको थियो । प्रहरीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले आलम विरुद्ध मुद्दा दायर गरेको थियो । त्यसो त आलमकै पक्षमा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शम्भु थापा, प्रेमबहादुर खड्का, शेरबहादुर केसी, पूर्वमहासचिव रमण श्रेष्ठलगायत ३३ अधिवक्ताको वकालतनामा लेखाएता पनि २८ जना वकिलले आलमका पक्षमा बहस गरेका थिए भने १४ जना वकिलले पीडितका पक्षमा बहस गरेका थिए । 

शक्ति र धनका आडमा राज्य संयन्त्रको दुरुपयोग गर्न सकिन्छ भन्ने मानसिकताबाट अगाडि बढिरहेका राजनीतिक नेतृत्वका निम्ति जनताले कानुनी शासनको प्रत्याभूति प्राप्त गर्र्ने एउटा राम्रो सन्देश आलम घटनामा अदालतको आदेशपछि देखा परेको छ । जुनसुकै अपराधमा शक्ति र धनको दूरुपयोग गरी संरक्षित हुन सकिन्छ भन्ने पुरातन सोचमा आलमको घटनामा भएको अदालतको आदेशले अंकुश लगाइदिएको छ । कानुनी राज्यको प्रत्याभूति यसले स्वभाविक रुपमा आम जनमानसमा सञ्चालित गराएको छ । 

आलमलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिए लगत्तै जिल्ला न्यायाधीश दीपक ढकाल र वकालत गर्ने जिल्ला न्यायाधिवक्ता फणिन्द्रराज कटवालले जिल्ला छाड्ने निधो गरेको समाचार सार्वजनिक भएको छ । आफ्नो सुरक्षाको बिषयले चिन्तित बनाउँदा न्यायाधीशले नै आफ्नो सरुवा माग्दै जिल्ला छाड्ने मनस्थिति बनाएको सुन्दा स्वभाविक रुपमा जिल्लामा आलम प्रबृत्तिको दुस्प्रभाव कत्तिको छ भन्ने कुरालाई थप पुष्टी गर्दछ । 

सुन्दै पनि कहालीलाग्दो घटना आजभन्दा १२ बर्ष अगाडि रौतहटमा भएको थियो । घाइतेको उपचार गर्नुको साटो जिउँदै जल्दै गरेको इटा भट्टामा हालिएको विभत्स घटनाले सबैको आँङ सिरिङ्ग गर्दछ । अनि सोही घटनाका मुख्य आरोपी कुनै बेला मन्त्री समेत निलम्बित सांसद आलमका पक्षमा नेपालका चर्चित भनिएका कानुन व्यवसायीहरुले बहस गरेको समाचार सार्वजनिक हुँदा यसको आलोचना हुनु स्वभाविकै थियो । कानुन व्यवसायीले आफ्नो व्यवसायिक धर्म निर्वाह गरेको तर्क गर्न सकिन्छ । तर यीनै कानुन व्यवसायीहरुले गरिब र निमुखा नागरिकहरुले कानुनी रुपमा उपचार खोज्नु प¥यो भने सम्मानित भनिएका चर्चित कानुनी व्यवसायहरुबाट कानुनी सेवा लिन सक्छन् त ? बाहिर जस्तोसुकै तर्क र बहस गरिएतापनि यसको आन्तर्यमा कानुन व्यवसायी पनि शक्ति र सम्पत्तिको पक्षधर नै हुन सक्दछन् भन्ने उदाहरण यस घटनाले पुष्टी गरेको छ ।

शुक्रबार आलमलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिए लगत्तै जिल्ला न्यायाधीश दीपक ढकाल र वकालत गर्ने जिल्ला न्यायाधिवक्ता फणिन्द्रराज कटवालले जिल्ला छाड्ने निधो गरेको समाचार सार्वजनिक भएको छ । आफ्नो सुरक्षाको बिषयले चिन्तित बनाउँदा न्यायाधीशले नै आफ्नो सरुवा माग्दै जिल्ला छाड्ने मनस्थिति बनाएको सुन्दा स्वभाविक रुपमा जिल्लामा आलम प्रबृत्तिको दुस्प्रभाव कत्तिको छ भन्ने कुरालाई थप पुष्टी गर्दछ । 

आफूले रौटहट घटनामा एउटा बारुद सम्म नपड्काएको दाबी गरेका आलमका पक्षमा विभिन्न अपराधिक गिरोहरुले राज्यलाई नै आतंकित पार्ने विभिन्न गतिविधिहरु सञ्चालन गर्नु, आलमको बहस चलिरहँदा स्थानीय मठिया प्रहरी चौकीमा बम प्रहार हुनु, छिमेकी भारतबाट आयातित अपराधिक गिरोहरुको उपस्थितिले वरिपरि मनोवैज्ञानिक दबाब सिर्जना गर्नु, उनको पक्षमा ३३ जना वकिलले वकालतनामा लेखाउनु अनि उनलाई जिल्लामै थुनामा राख्दा असुरक्षा हुने आंकलन गरी ललितपुर नख्खु जेल चलान गरिनुले पनि यस घटनाका मुख्य आरोपी आलमको दादागिरी पुष्टी हुन्छ । 

आलमको गुण्डागर्दीले समाजमा जसरी प्रभाव पारेको थियो, सोको अन्त्य हुनु आवश्यक थियो । यसको निम्ति सम्मानित अदालतको आदेशले केही सकारात्मक सन्देश भने दिएको छ । तर अझैपनि आलम प्रबृत्ति पूर्ण रुपमा अन्त्य भइसकेको छ भन्न सकिँदैन । आलम त एउटा प्रतिनिधि पात्र मात्र हुन् । यो प्रबृत्ति विशेष गरेर नेपालको राजनीतिमा हाबी हुँदै आएको छ । यसमा व्यक्ति र प्रबृत्ति मात्र दोषी छैन । हाम्रो राजनीतिक परिवेश, यसभित्रको विकृति अनि राजनीतिको मियो समाएर जुनसुकै अपराधिक गतिविधि गर्न छुट दिने संस्कारको प्रतिबिम्ब पनि उत्तिकै दोषी छ । सोही कारण पनि निष्ठा र आस्थाको राजनीतिलाई आत्मसाथ गरी अगाडि बढ्न खोज्ने र समाजलाई रुपान्तरित गर्ने पवित्र उद्देश्य लिएर होमिने चरित्र अत्यन्तै कम हुँदै गएको देखिन्छ । जबसम्म यस्ता विकृति र विसंगतपूर्ण प्रबृत्तिलाई सबै राजनीतिक पार्टी र संगठनले निस्तेज पार्न सक्दैन, तबसम्म मुलुकले खोजेको र आवश्यक ठानेको संस्कारको विकास हुनै सक्दैन । 

- थापा अनन्त सन्देश साप्ताहिकका सम्पादक हुन् ।