जनश्रमदानमा बाटो मर्मत

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ मंसिर १, आईतबार



भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ४ स्थित अनन्तलिङ्ग सामुदायिक होमस्टे सञ्चालक समितिले स्थानीय जनश्रमदानबाट १ किलोमिटर बाटो मर्मत गरेको छ । 

झण्डै ३० बर्ष अगाडि मर्मत गरिएको तर्खगालदेखि अनन्तलिङ्गको कच्ची बाटो मर्मत गरिएको हो । 
स्थानीय अनन्तलिङ्ग डाँडामा बसोबास गर्ने बासिन्दालाई दैनिक आवत जावत गर्न सहज होस् भनेर समितिको अगुवाईमा स्थानीयहरुले उक्त बाटो मर्मत गरेका हुन् । 

स्थानीय ८५ बर्षका जेष्ठ नागरिक ठाकुरप्रसाद न्यौपानेको समेतको उत्साहपूर्ण सहभागिता रहेको थियो भने स्थानीय ४५ जना युवाहरुको सक्रियतामा उक्त बाटो मर्मत गरिएको समितिका अध्यक्ष नारायणप्रसाद धिमालले जानकारी दिनुभयो । 
उक्त बाटो मर्मत गर्दा अनन्तलिङ्ग सामुदायिक होमस्टेलाई प्रबद्र्धन गर्न सहज हुने अपेक्षा गरिएको छ भने दैनिक आवत जावत गर्न स्थानीयहरुलाई पनि राहत पुग्ने स्थानीय राजन न्यौपानेले बताउनुभयो । 

अनन्तलिङ्ग सामुदायिक होमस्टेलाई व्यवस्थित रुपमा सञ्चालन गरी उक्त क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा समेत विकास गर्ने लक्ष्य राखिएको छ भने स्थानीय कृषि उत्पादनलाई प्रबद्र्धन गरी आय आर्जनका श्रोत बृद्धि गर्ने लक्ष्य समेत लिइएको छ । 

सन् २०२० लाई नेपाल भ्रमण बर्ष मनाउने तयारी भइरहेका बेला नारायण धिमालको अध्यक्षतामा अनन्तलिङ्ग सामुदायिक होमस्टे सञ्चालक समिति गठन गरिएको छ । उक्त समितिमा उपाध्यक्ष उर्मिला न्यौपाने, सचिव कमलप्रसाद न्यौपाने, कोषाध्यक्ष रबुका न्यौपाने, सदस्यहरु शिवजी राउत, देवकी गौतम, शिवप्रसाद न्यौपाने, नानी परियार तथा सूर्यप्रसाद तिमल्सिना रहेका छन् ।