नेपाल ट्रष्ट जग्गाको संरक्षणमा खटिएका सुरक्षा गार्ड नगरपालिकाको कब्जामा, प्रशासनद्वारा उद्धार 

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ मंसिर ३, मंगलबार


भक्तपुर । नेपाल ट्रष्टको नाममा रहेको भक्तपुरको सल्लाघारीस्थित कित्ता नंं. ५४० को १०८ रोपनी २ आना एक पैसा क्षेत्रफल जमिनको सुरक्षाका लागि राखेको सुरक्षा गार्डलाई भक्तपुर नगरपालिकाले कब्जामा लिएर धम्की दिएको छ । 

नेपाल ट्रष्टले आफ्नो नाममा रहेको जग्गाको संरक्षण गर्ने भन्दै मंसिर १ गतेदेखि लागू हुने गरि अस्थायी पोष्ट स्थापना गरेर सुरक्षा गार्ड राखेपछि नगरपालिकाले सोमबार सुरक्षा गार्डलाई अपहरणको शैलीमा जबरजस्ती नगरपालिका लगेर कब्जामा राखेर धम्की दिएको नेपाल ट्रष्टले जानकारी दिएको छ । 

नेपाल ट्रष्टका संचालक समितिका सदस्य सचिव राजेश्वर ज्ञवालीले नेपाल ट्रष्टको जग्गा संरक्षणका लागि राखेको सुरक्षा गार्र्डलाई सोमबार भक्तपुर नगरपालिकाले खटाएका करिब १६ जनाको संख्यामा आएका व्यक्तिले जबरजस्ती नगरपालिका लगेर २ घण्टा नियन्त्रणमा लिएपछि प्रहरीले उद्धार गरि नियन्त्रण मुक्त गरेकोे जानकारी दिनुभयो । 

उहाँले २४ घण्टा सुरक्षा गार्ड तैनाथ गर्नेगरि ट्रष्टले गोरखकाली सेक्युरिटीका तीन जना सुरक्षाकर्मीलाई परिचालन गरेकोमा सोमबार ड्युटीमा रहेका आशिष बमलाई नगरपालिकाले नियन्त्रणमा लिएर धम्क्याएको बमको भनाई छ । 

सुरक्षाकर्मीलाई नगरपालिकाले कार्यालयमा लगेर नियन्त्रणमा लिएको जानकारी पाएपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र प्रहरी प्रमुख सविन प्रधानलाई जानकारी गराएपछि सुरक्षागार्ड बमलाई प्रहरीले उद्धार गरि नियन्त्रण मुक्त बनाएको उहाँले जानकारी दिनुभयो । 

सुरक्षाकर्मी परिचालन गरेको विषयमा नेपाल ट्रष्टसँग सोध्नु पर्ने नगरपालिकाले सुरक्षाकर्मीलाई नै उठाएर लैजानु गलत भएको बताउदैे पोखरेलले एउटा जिम्मेवार स्थानीय सरकारले कानूनी राज्यको उपहास गरेको को भनाई थियो । 

सरकारको नीति अनुसार देशभर नेपाल ट्रष्टको नाममा रहेको सम्पत्ति संरक्षण गर्ने कार्य भएअनुसार भक्तपुरको उक्त जग्गामा पनि ट्रष्टले तीन तिर बोर्ड राखेर ताल्चा लगाई सुरक्षा गार्ड राखेपछि नगरपालिकाले यस्तो गरेको हो ।

नगरपालिकाबाट आएका व्यक्तिले हाम्रो मेयरलाई नसोधी किन बोर्ड राखेर बसेको, नगरपालिकाको ताल्चा काटेर किन ट्रष्टले ताल्चा लगाएको भन्दै सुरक्षा गार्डलाई अभद्र व्यवहार गरि जबरजस्ती नगरपालिका लगेको ट्रष्टको भनाई छ । 

प्रधानमन्त्री संरक्षक रहेको नेपाल ट्रष्टका सञ्चालक समितिका अध्यक्ष समेत रहनु भएका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई घटनाबारे जानकारी गराईसकेको बताउदै सदस्य सचिव ज्ञवालीले सुरक्षा गार्ड नहटाउने र स्थायी कार्यालय नै स्थापना गर्ने बताउनुभयो । 

नेपाल ट्रष्ट सञ्चालक समितिका सचिव गजेन्द्र ठाकुरले नेपाल ट्रष्टको नाममा लालपूर्जा रहेको जग्गामा भक्तपुर नगरपालिकाले कुनै स्वीकृत नलिई पर्खाल लगाउने र भाडामा लगाउदै जग्गा हडप्ने प्रयास गरेको बताउदै नेपाल ट्रष्टको नाममा १६ जिल्लामा रहेको २७ हजार रोपनी जग्गा संरक्षणको काम भईरहेको बताउनुभयो । 

यसअघि गत असोज १० गते उपप्रधानमन्त्री एवं रक्षामन्त्री तथा नेपाल ट्रष्ट संचालक समितिका अध्यक्ष ईश्वर पोखरेल, भक्तपुरका सांसद महेश बस्नेत सहतिको टोलीले उक्त जग्गाको अनुगमन गरि नगरपालिकाका प्रमुख प्रजापतिलाई सल्लाघारीको नेपाल ट्रष्टको नाममा रहेको जग्गा ट्रष्टले नै संरक्षण गर्ने जानकारी गराएको थियो । 

उक्त दिन नगरपालिकाका प्रमुख प्रजापतिलाई अनुगमन कै क्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले नेपाल ट्रष्टको नाममा रहेको कुनै पनि जग्गा कुनै पनि निकायले कुनै पनि बाहनामा भोगचलन गर्न नपाउने बताउनु भएको थियो । उहाँले नेपाल ट्रष्ट कानून अन्तर्गत चलेको र आफ्नो नामको सम्पत्ति व्यबस्थित गर्न कानून बनेको चर्चा गर्दै उहाँले मन्त्रिपरिषद्को निर्णय बिना केही गर्न नसकिने बताउनुभएको थियोे ।

नेपाल ट्रष्टको नाममा रहेको जग्गा अब ट्रष्ट आफैले संरक्षण गर्ने स्पष्ट पार्दै उहाँले ट्रष्टले काठमाण्डौं उपत्यकाको मात्रै नभई पोखरा, हेटौडा, भरतपुर, सुर्खेत, धनगढी लगायत देशभर रहेका सम्पत्तिको संरक्षण सुरु गरेको बताउनुभएको थियो ।

त्यस कार्यक्रममा प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले नेपाल ट्रष्टको नाममा रहेको जग्गा भक्तपुर नगरपालिकाले पर्खाल लगाएर संरक्षण गरेपनि यसको स्वामित्व लिने प्रयास भने भक्तपुर नगरपालिकाले गर्न नहुने तर यो जग्गाको स्वामित्व लिने प्रयास नगरपालिकाले गरे जनता विरोधमा उत्रनु पर्ने अबस्था हटाउने बताउनु भएको थियो । 

उहाँले स्थानीय सरकार भन्दैमा जे मन लाग्छ, त्यही कानून हो भन्नु गलत भएको चर्चा गर्दै २०७२ सालको महाभूकम्पमा यो चौर धेरैको आश्रयस्थल बनेकाले यसलाई खुल्ला क्षेत्रको प्रयोजनमा लान सकिने बताउनुभएको थियो । 

त्यस कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले नेपाल ट्रष्टको नाममा रहेको उक्त जग्गा नगरपालिकाले पर्खाल लगाएर संरक्षण गरेको प्रतिक्रिया दिनु भएको थियो । 

नगर प्रमुख प्रजापतिलाई नेपाल ट्रष्टले छिट्टै यहाँ सानो घर बनाएर पाले र कर्मचारी राखेर व्यबस्थापन गर्ने तयारी गरेकोले यहाँको साँचो हस्तान्तरण गर्न नगरपालिकालाई आग्रह गरेको थियो ।