सूर्यविनायकलाई शिव सर्किटका रुपमा विकास गर्न सकिन्छ : सांसद बस्नेत

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ मंसिर ७, शनिबार


भक्तपुर । प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले सूर्यविनायक नगरपालिकालाई शिव सर्किटका रुपमा विकास गर्न सकिने बताउनुभएको छ । 

सूर्यविनायक नगरपालिका वडा नम्बर ४ स्थित श्री अनन्तलिङ्गेश्वर संरक्षण तथा विकास समितिको दोश्रो साधारण सभा उद्घाटन गर्दै सांसद बस्नेतले धार्मिक पर्यटनको समेत सम्भावना रहेको सूर्यविनायक नगरपालिकामा रहेका शिव धामलाई केन्द्रित गरेर शिव सर्किट निर्माण गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगरपालिका आफैले पनि यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न योजना बनाइरहेको छ । हामी सबैको साथ र सहयोग भएको खण्डमा यसलाई विस्तार र प्रबद्र्धन गर्न सकिन्छ ।’ 

बस्नेतले नेतृत्वमा थ्रि सि अर्थात् कमाण्ड, कम्युनिकेशन र कन्ट्रोल हुनु जरुरी भएको बताउँदै योग्य नेतृत्वले नै कुनै पनि संस्थालाई अग्रगति दिन सक्ने बताउनुभयो । कुनैपनि संस्था एउटा निश्चित विधि र विधानबाट सञ्चालन हुने बताउँदै सांसद बस्नेतले भन्नुभयो,‘संस्थालाई व्यवस्थित रुपमा सञ्चालन गर्नको निम्ति आर्थिक पारदर्शिता पहिलो सर्त हो । यसको यदि व्यवस्थापन गर्न सकिएन भने नेतृत्वमाथि थुप्रै प्रश्न उठ्न सक्दछ ।’ 

भक्तपुरको समृद्धिका निम्ति अहिले उचित वातावरण सिर्जना भएको बताउँदै सांसद बस्नेतले योजनाबद्ध विकास निर्माण गर्नको निम्ति अहिले भक्तपुरमा कुनै पनि कुराको अभाव नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईसँग स्पष्ट दृष्टिकोण सहितको योजना छ भने त्यसलाई सम्पन्न गर्नको निम्ति

निर्वाचन सम्पन्न भएसँगै आफ्नो सांसद विकास कोषबाट अनन्तलिङ्गेश्वर महादेव मन्दिरको भौतिक विकासमा ३० लाख विनियोजन गरिने बताउँदै उहाँले सरकारका विभिन्न श्रोतबाट आवश्यक समन्वय गरी यस क्षेत्रको विकास गर्न सकिने बताउनुभयो । 

अनन्तलिङ्गेश्वर महादेव मन्दिरमा बर्षको एक पटक विशेष धार्मिक मेला लगाउने व्यवस्था गर्नुपर्ने बताउँदै बस्नेतले भन्नुभयो, ‘शिवरात्री वा जनैपूर्णिमा दिन विशेष मेला लाग्ने गरी समितिले तयारी गर्न सक्दछ । यसको निम्ति सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नु जरुरी छ ।’
सोही कार्यक्रममा जिल्ला समन्वय समितिकी उपाध्यक्ष सरिता कुँवरले धार्मिक संस्थामा सामाजिक भावनाबाट प्रेरित भएर कार्य गर्नु जरुरी भएको बताउनुभयो । 

यस्तै जंगम प्रतिष्ठानका अध्यक्ष भरत जंगमले अनन्तलिङ्गेश्वर महादेव मन्दिरको धार्मिक र ऐतिहासिक महत्वलाई विस्तार गर्न सबैले पहल गर्नुपर्ने बताउनुभयो । 

त्रिनेत्र आध्यात्म चिन्तन केन्द्रकी अध्यक्ष रेखा अर्यालले अनन्तलिङ्गेश्वर महादेव मन्दिर परिसरलाई दिव्यधामका रुपमा परिणत गर्न आफूहरु लगायत धार्मिक अगुवाहरुको समेत सहयोग र सद्भाव रहेको बताउँदै यसको निम्ति समितिले विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो । 

समितिका सल्लाहकार कुमार उप्रेती तथा उपाध्यक्ष मधुसुदन खड्काले मन्दिर परिसरमा निर्माण भएका भौतिक संरचनाहरुको संरक्षण र प्रबद्र्धन गर्न सबैले उत्तिकै चासो र सरोकार राख्नुपर्ने धारणा राख्नुभयो