भक्तपुरमा नेकपालाई झड्का, किन पराजित भयो नेकपा ?

विमल थापा
विमल थापा

२०७६ मंसिर १५, आईतबार


भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क) प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार देवीप्रसाद ढकाललाई २ हजार २ सय ५१ मत अन्तरले पराजित गर्दै विजयी भएका छन् ।

कांग्रेसका उम्मेदवार भँडेलले १३ हजार ४ सय ४८ मत सहित विजयी हुँदा नेकपाका उम्मेदवार ढकालले ११ हजार १ सय ९७ मत प्राप्त गरेका छन् । यस्तै, नेमकिपाका उम्मेद्वार निरज लवजूले ५ हजार ८ सय २९ मत प्राप्त गरेका छन् ।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा  नेकपा एमालेका हरिशरण लामिछानेले  १२ हजार ७ सय ८९ मत ल्याएर विजयी भएका थिए । त्यतिखेर बाम गठबन्धनले डिपी ढकाललाई आधिकारिक उम्मेदवार बनाएको थियो । तर, लामिछानेले वामगठबन्धनको आधिकारिक उम्मेदवारविरुद्ध वागी उम्मेदवारी दिएका थिए । पछि एमाले र माओवादी केन्द्रले केन्द्रीय तहमै सहमति गरेर लामिछानेको उम्मेदवारीलाई गठबन्धनको उम्मेदवारीको मान्यता दिएका थिए।

सो निर्वाचनमा नेपाली कांग्रेसका जीवन खत्रीले नौ हजार नौसय ७४ मत प्राप्त गरेका थिए भने नेपाल मजदूर किसान पार्टीका निरज लवजूले सात हजार १९ मत ल्याएर तेश्रो स्थानमा सीमित भएका थिए । सो बेला  यस प्रदेशमा कूल ३८ हजार नौ सय ७६ मतदाता  रहेकोमा ७५.२५ प्रतिशत अर्थात २९ हजार तीनसय ३१ मत खसेको थियो । 

लामिछानेको २०७५ बैशाख ३१ मा हृदयघातबाट निधन भएपछि उक्त क्षेत्रमा प्रदेश सभा सदस्य पद रिक्त थियो । 

दुई बर्षको अन्तरालमा यस क्षेत्रमा भएको उप निर्वाचनमा मतदाताहरुको संख्या पनि २ हजार भन्दा बढी थपिएको थियो । शनिवार सम्पन्न उप निर्वाचनमा यस क्षेत्रमा ३२ हजार ३७ मत खसेको थियो । 

आफूले जितेको निर्वाचन क्षेत्रमा नेकपाले गुमाउनुमा मुख्य कारण उम्मेदवार छनौटलाई मानिएको छ । नेकपाभित्र यसपटक पनि उम्मेदवार छनौट विवादरहित बन्न सकेन । तत्कालीन माओवादीबाट ढकाललाई उम्मेदवार बनाउँदा तत्कालीन एमाले पक्षधरले पार्टी कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।

स्वर्गीय हरिशरण लामिछानेकी पत्नीसहित पूर्वएमालेका कैयौँ नेताहरू उम्मेदवारको दौडमा रहेका बताइएको थियो। तर उम्मेदवारको निर्णयमा पार्टी अडिग रह्यो।

कतिपयले उम्मेदवार छनौटमामा पार्टीले स्थानीय नेता र कार्यकर्ताहरूको भावना कदर गर्न नसक्दा चुनावमा पछि परेको बताएका छन् । मूल रुपमा पार्टी एकता प्रक्रिया ढिलो भएको कारणले गर्दा तल्लो तहसम्म पूर्वएमाले र पूर्वमाओवादीबीचको एकताको प्रभाव दिन नसक्नुलाई नेकपा पराजयको प्रमुख कारण मानेको छ । यद्यपि, उम्मेदवारका विरुद्ध पनि व्यक्तिगत खालका गुनासोहरू देखा परे । 

ढकाललाई बाह्य क्षेत्रका उम्मेदवार भएको र विगतमा माओवादी पृष्ठभूमिबाट आएकाले पनि मतदातामा भावनात्मक प्रभाव परेको थियो । पार्टी एकताको बिषयलाई कार्यकर्ता तहसम्म लैजान सफल भएपनि मतदातासम्म यस्तो प्रभाव छाड्न नसक्नु नेकपाको  ठूलो कमजोरी देखियो । निर्वाचनको यस्तो परिणामले तत्कालिन एमाले र माओवादी एक भए पनि भावनात्मक रुपमा एक हुन सकिरहेका छैनन् भन्ने सन्देश यसले प्रवाह गरेको ठानिएको छ  । 

भक्तपुरको चुनावी परिणामलाई राष्ट्रिय राजनीतिमा समेत जोडेर हेर्न थालिएको छ  । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास रहेको जिल्ला र नेकपाका प्रभावशाली युवा नेता महेश बस्नेतको गृह जिल्लाका साथै आफूले विगतमा जितेको क्षेत्रमा भएको कारण पनि यस क्षेत्रमा नेकपाले परिणाम आफ्नो पोल्टामा पार्नै पर्ने नैतिक दबाब थियो । त्यसैले पनि पछिल्लो परिणामलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

निर्वाचन परिणामले पूर्व माओवादी पंक्तिमा एक खालको असन्तुष्टी र सन्देश पैदा हुने बुझाइ कतिपयको छ भने अर्काथरि यस्ता खालका अन्तर्घात र असन्तुष्टी सामान्य जस्तै भएकाले यसले खासै महत्व नपाउने विश्लेषण पनि गर्न थालेका छन् ।

- थापा अनन्त सन्देश साप्ताहिकका सम्पादक हुन् ।